Comments Add Comment

छापामा आज : भारतमा फेरि किन भयो मोदीकै वर्चस्व ?

१० जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले भारतीय जनता पार्टीको फराकिलो जित र कांग्रेसको अनपेक्षित हारलाई विभिन्न शीर्षकमा उतारेका छन् । यो परिणामले नेपालको राजनीतिमा पर्ने असरबारे पनि पत्रपत्रिकाहरुले केलाएका छन् ।

कान्तिपुरले ‘फेरि मोदीकै वर्चस्व’ शीर्षक दिएर भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत हासिल गरेको लेखेको छ । कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा केही सुधार गरे पनि हार अनपेक्षित भएको उसको विश्लेषण छ ।

भाजपा फेरि किन दोहोरियो ? यसका अनेक विश्लेषण भइरहेको छ । यसबारे पनि कान्तिपुरले चर्चा गरेकाे छ ।

राजनीतिक विश्लेषक तथा अध्येता आनन्द प्रदानलाई उद्धृत गर्दै कान्तिपुरले हिन्दुत्व, राष्ट्रवाद, राष्ट्रिय सुरक्षा, पाकिस्तान सरकारका कार्यक्रम र विपक्षीहरु सबैको कमजोरीले भाजपालाई थप सशक्त बनाएको लेखेकाे छ ।

यसका अतिरिक्त चुनावको मुखमा मोदी सरकारले किसानलाई वितरण गरेको अनुदान, विपन्न लक्षित खाना पकाउने ग्यास, घर शौचालय योजनाले पनि यस्तो नतिजा हासिल गर्नमा उत्तिकै भूमिका खेलेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर अगाडि लेख्छ–सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुलाई परिचालन दगर्ने सवालमा पनि भाजपा अन्य पार्टीभन्दा निकै अगाडि रह्यो । पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी देख्नासाथ त्यसविरुद्ध पार्टीपंक्ति खनिन पुग्थ्यो । प्रधानमन्त्री मोदीको सार्वजनिक छवि उँचो बनाउन मूलधारका छापा माध्यमदेखि टीभीमा बलिउडका कलाकारलगायत सेलिब्रेटीलाई अन्तर्वार्ता लिन लगाइएको थियो ।’ त्यस्ता अन्तर्वार्ता मोदी सरकारको पाँचवर्षे शासनभन्दा पनि जीवनशैलीमा केन्द्रित भएकाे र  त्यसको प्रभाव चुनावमा परेको कान्तिपुरको विश्लेषण छ ।

भारतको चुनावी परिणामले नेपालमा पर्ने असरबारे पनि कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार नेपाल र भारत सम्बन्धका जानकारहरुले एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाव कुनै न कुनै रुपमा पर्न सक्ने संकेत गरेका छन् ।

बालुवाटार जग्गा किनबेच प्रसंग पनि कान्तिपुरमा छ । कान्तिपुरका अनुसार त्रिताल प्रतिवेदनले भूमाफिया किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।

अन्नपूर्णले पनि भाजपा जितलाई नै मुख्य समाचारका रुपमा समेटेको छ । अन्नपूर्णका अनुसार १४ राज्य र केन्द्र शासित प्रदेशमा क्लिन स्विप भएको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना केही समयदेखि लफडामा फसेको छ । अन्नपूर्णले यसबारे पनि आज एक सामग्री छापेको छ । समाचार अनुसार आयोजनाको बाँकी कामका लागि ठेक्का लगाउने तयारी भएको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन खोजिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नागरिकले कांग्रेसको जारी जागरण अभियानबारे समाचार लेखेको छ । नागरिकका अनुसार, संगठन सुदृढीकरण र सरकारको भण्डाफोर गर्ने भन्दै सुरु गरिएको अभियान संगठनमा आफ्नो प्रभाव कसरी विस्तार भन्नेमा केन्द्रित भएको छ ।
नागरिक लेख्छ– शीर्ष नेताहरु एक अर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय हुँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ’, नागरिकले जागरण अभियानबारे विश्लेषण गर्दै लेखेको छ ।

लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको खबर राजधानीमा छ । गोरखापत्रले ‘भारतमा मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment