Comments Add Comment

के तपाईंको बच्चाको भविष्य सुरक्षित छ ?

के तपाईंको बच्चाको भविष्य सुरक्षित छ भनेर सोध्यो भने संभवत निर्धक्कसाथ जवाफ दिनुहुनेछ, ‘एकदम छ ।’ कसरी ?

तपाईंको संभावित जवाफ- 

-मैले आफ्नो बालबच्चालाई पढ्न, लेख्न सिकाएको छु । दुःखजिलो गरेर भएपनि राम्रै विद्यालयमा पढाएको छु ।

-मैले आफ्नो बालबच्चाको बिमा गराइदिएको छु । बैंक ब्यालेन्स गरिदिएको छु । कुनै काम नपाए पनि खान र लाउनका लागि दुःख हुनेछैन ।

-मैले बालबच्चाका लागि सकेजति धन-सम्पति जोडिदिएको छु । उनीहरुले अभावको जिन्दगी विताउनुपर्ने छैन ।

-मैले उनीहरुलाई चाहिने घर, गाडी, जग्गा, बैंक ब्यालेन्स सबै जोडिदिएको छु । त्यससँगै शिक्षा-दिक्षा पनि दिएको छु । मलाई उनीहरुको भविष्यप्रति कुनै चिन्ता छैन ।

आज हामी आफ्नो जीवन खर्चिरहेका छौ किन ? हाम्रा सन्ततीका भोलिका खातिर । आज हामी जागिर खाइरहेका छौ, खेतीपाती गरिहेका छौं, उद्यम-व्यवसाय गरिरहेका छौ । यी सबै गर्नुको पछाडि हाम्रो छोराछोरीको भविष्यको चिन्ता पनि जोडिएको छ । अर्थात हामी जे गरिरहेका छौ, त्यो छोराछोरीको भविष्यका खातिर पनि हो ।

के तपाईं ढुक्क हुनुहुन्छ ?

आज दिनरात खटिएर तपाईंले आफ्ना छोराछोरीका लागि पढाई खर्च जुटाइरहनुभएको छ । धन दौलत जोडिरहनु भएको छ । बैंक ब्यालेन्स गरिरहनुभएको छ । यी सबै गरिसकेपछि आफ्ना छोराछोरीले भोलिका दिनमा दुःख पाउने छैनन्, अभाव झेल्ने छैनन् । यही कुराले तपाईं ढुक्क हुनुहुन्छ ।

भोलि छोराछोरीले जागिर खोज्दै हिँड्नुपर्ने छैन । खानेकुरा खोज्दै हिँड्नुपर्ने छैन । उपचारका लागि भिख माग्नुपर्ने छैन । सबै कुरा तपाईंले बन्दोबस्ती गरिदिनुभएको छ । गरिरहनुभएको छ ।

छोराछोरीको मतिभ्रष्ट पो हुने हो कि ? उनीहरुले आफ्नो बाटो र धरातल पो भुल्ने हो कि ? कुसंगतमा पो पुग्ने हो कि ?

यस्तै शंसय पालेर तपाईंले उनीहरुलाई सही शिक्षा पनि दिनुभएको छ । संस्कार दिनुभएको छ । राम्रो बन्न प्रेरित गर्नुभएको छ । मानौ, तपाईंका छोराछोरीले गति छाड्ने छैनन् । अनुशासित जीवनयापन गर्नेछन् ।

यति भएपछि तपाईं ढुक्क हुनुहुन्छ ?

बच्चाको भविष्य खतरामा

यो कुराले तपाईंलाई झस्काउन सक्छ कि, तपाईंको बालबच्चाको भविष्य सुरक्षित छैन । अझ भनौं, खतरामा छ । संकटमा छ ।

सबै कुराको बन्दोबस्त गरिदिएर पनि तपाईं ढुक्क हुनसक्ने अवस्थामा हुनुहुन्न । किनभने भोलि तपाईंका बालबच्चाले भयानक समस्यासँग जुध्नुपर्नेछ । आज उनीहरु जति उन्मुक्तसाथ रमाइरहेका छन्, भोलि उनीहरु संकटको भूँमरीमा फस्नेछन् ।

झट्ट सुन्दा त तपाईंलाई यी कुरा अपि्रय लाग्छ । तर, यर्थाथ यही हो । आखिर किन तपाईं/हाम्रो बालबच्चाको ‘भोलि’ असुरक्षित छ त ? किन उनीहरु भोलिका दिनमा भयानक संकट झेल्दैछन् त ?

किनभने आज हामीले उनीहरुका लागि धन-दौलतको जर्गेना गरिदिएका छौ तर उनीहरुले पल-पल सास फेर्ने शुद्ध वायु विषालु बनाइदिदैछौ । हामीलाई आज यसमा कुनै परवाह छैन । त्यही कारण पर्यावरणमा नकारात्मक असर पुग्नेगरी विभिन्न गतिविधि गरिरहेका छौ ।

ठूलो कुरा होइन, हामीले गर्ने स-सना गल्ती पनि प्रकृति र पर्यावरणमा असर पुगिरहेको छ । जस्तो कि, हामी कुनै तयारी खानेकुरा सेवन गरेर त्यसको प्लाष्टिक जथाभावी मिल्काउँछौ । जस्तो कि, हामी खानेकुरा जुठो बनाएर यसै नष्ट गर्छौ । जस्तो कि, पाँच मिनेटको बाटोमा पनि हामी गाडी/मोटरसाइकल चढ्छौ । जस्तो कि, घरमा विद्युतिय उपकरणको अत्याधिक प्रयोग गर्छौ । जस्तो कि, हामी आफनो शौचालयको ढल खोलामा मिसाइदिन्छौ ।

यी सबै गतिविधिले पर्यावरणमा नकारात्मक असर पर्छ । यसले विश्व वाष्पिकरण र जलवायु परिवर्तनको समस्या निम्त्याउँछ ।

आज हामी बालबच्चाका लागि शिक्षा-दिक्षा दिइरहेका छौ,  तर बनजंगल मास्दैछौ । आज हामी बालबच्चाका लागि सम्पति जगेर्ना गरिदिदैछौ, तर खेतबारीमा बस्ती बसाउँदैछौ । आज हामी बालबच्चाका लागि बैंक ब्यालेन्स गरिदिदैछौ, तर कल-कारखानालाई बढाव दिइरहेका छौ । आज हा, गाडीको प्रयोगलाई महत्व दिइरहेका छौ, प्लाष्टिकजन्य बस्तु जथाभावी मिल्काइरहेका छौ । अन्नबालीमा विषादी एवं किटनासको प्रयोग गरिरहेका छौ ।

एकातिर हामी उनीहरुको भविष्य सुरक्षित गर्दैछौ भने अर्कोतिर उनीहरुको भविष्यलाई संकटमा पार्ने काम पनि गर्दैछौ ।

के होला भोलि ?

आज हामीले आफ्नो सुविधा र मोजमस्तीका लागि जे-जति गरिरहेका छौ, त्यसले प्रकृतिलाई कुरुप बनाउँदैछ । पर्यावरणलाई दुषित बनाउँदैछ । यसको असर भोलि हाम्रा सन्तानले भोग्नेछन् ।

आज हामीले जुन गल्ती गर्दैछौ, त्यसको सजाय भोलि हाम्रा बालबच्चाले झेल्नेछन् ।

जलवायु परिवर्तन एव विश्व वाष्पिकरणको असरले प्राकृति नै असन्तुलित हुनेछ । हावापानीको चक्र बिग्रनेछ । अन्नबाली फुल्ने र फल्ने क्रम विथोलिनेछ । प्रकृति र प्राणीको तालमेल मिल्नेछैन । यसले गर्दा विभिन्न किसिमको प्रकोप आउनेछ । विभिन्न किसिमको रोगहरु देखापर्नेछ ।

सास फेर्नका लागि शुद्ध वायु हुनेछैन । पिउनका लागि शुद्ध पानी हुने छैन । खानेकुुरा विषाक्त हुनेछन् ।

यी सबै कारणले हाम्रा छोराछोरीको भविष्य संकटमा पर्नेछ । उनीहरु अनेक समस्याबाट घेरिनेछन् ।

अब के गर्ने त ?

आज हामी आफ्ना बालबच्चाका लागि चिन्तित छौ । उनीहरुका खातिर धन सम्पति जोड्दैछौ । तर उनीहरुले भोलि बाँच्ने संसार कुरुप बनाइदिदैछौ । नष्ट गरिदिदैछौ ।

आज हामीले आफ्ना बालबच्चाको अनुहार सम्झेर सचेत र सर्तक हुने हो भने भोलिका संकट केही हदसम्म टर्नेछन् । यसका लागि हामीले अरु केही गर्नैपर्दैन, पर्यावरणमा असर पुग्ने काम गर्न छाडे पुग्छ ।

कसरी पर्यावरण जोगाउने ? कसरी प्रकृतिलाई हराभरा बनाउने ? यत्ति कुरामा ध्यान दिए पुग्छ । आज तपाईंले आफ्नो बच्चाका लागि दुई/चार लाख रुपैयाँ वचत गरिदिनु जति लाभदायक छ, त्यो भन्दा बढी दुई/चार दर्जन रुख रोपिदिनुमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment