Comments Add Comment

बर्दियाको राजापुर सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्ति सुधारिने

१० जेठ, काठमाडौं । बर्दियाको राजापुर क्षेत्रको  विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन  संचालनमा आएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट  (केभी) राजापुर सबस्टेसन बुधबारबाट सञ्चालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।

कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले  भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए,’ उनले भने, ‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ ।’

राजापुर सबस्टेसनबाट ३ वटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष ०७१/७२मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२को असारबाट कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा गि्रड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजारकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले  एक वर्षमा १९ वटा गि्रड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment