Comments Add Comment

चितवन महोत्सवको आम्दानी ३ करोड, ६८ लाख बचत

१० जेठ, चितवन । उद्योग बाणिज्य संघ चितवनले गत वर्ष गरेको चितवन महोत्सव ०७५ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

कार्यालयमा पत्रकार सम्मेलन गरी संघले गतवर्ष पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवबाट ३ करोड ४४ लाख ५४ हजार ११७ रुपैयाँ आम्दानी भएको जानकारी दिएको हो ।

महोत्वसमा २ करोड ७६ लाख ५४ हजार ३२४ खर्च भएको छ भने ६७ लाख ९९ हजार ७९१ रुपैयाँ बचत भएको संघले जानकारी दिएको छ ।

संघले महोत्सवको प्रतिस्टलको भाडादर १० प्रतिशतका दरले ८ लाख ९५ हजार रुपैयाँ घरबहाल कर महानगरपालिकामा तिरेको जनाएको छ । तर, आयकर तिर्न बाँकी रहेको संघका अध्यक्ष सहनलाल प्रधानले बताए ।

यस्तै, प्रवेश टिकट बिक्रीबाट आएको रकमको १३ प्रतिशतका दरले ७ लाख ६९ हजार १७० रुपैयाँ आन्तरिक राजश्व कार्यालयमा कर बुझाएको जनाएको छ ।

२५ प्रतिशत आयकरको हुन आउने १६ लाख ९९ हजार ९ सय ४७ रुपैयाँ तिर्न बाँकी छ । १० दिनसम्म चलेको महोत्सवमा करीव ५ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेको संघको दावी छ ।

विभिन्न १२ वटा जिल्लाका दर्शक तथा उद्योगीहरु सहभागी रहेको महोत्सवमा २५ करोडको कारोवार भएको संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए । महोत्सवमा ५७१ स्टल रहेका थिए ।

हरेक दुई-दुई बर्षमा नारायणी नदी किनारमा हुने महोत्सवलाई गत वर्ष संघले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी कार्यक्रम तय गरेको थियो ।

संघको पहलमा चितवनका सातबटैं स्थानीय तहमा रहेका प्रमुख ५० वटा पर्यटकीय गन्तब्य र तिनको पहिचानसहितको ब्याख्या समेटिएको ‘चितवन टुरिज्म डारेक्ट्री’ पुस्तक प्रकाशन भएको छ । पुस्तक नेपाली र अंग्रेजी दुबैं भाषामा तयार गरिएको छ ।

यसले जिल्लाको पर्यटन व्यवसायलाई माथि उठाउन सहयोग गर्ने विश्वास संघले लिएको अध्यक्ष प्रधानले विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment