Comments Add Comment

पुस्तक चर्चा : दरबार हत्याकाण्डबारे (अ) प्रत्यक्षदर्शीको वर्णन कति पत्यारिलो ?

१८ वर्षअगाडि भएको दरबार हत्याकाण्ड अझैसम्म धेरै नेपालीहरुको मानसपटलमा ताजै छ । तत्कालीन राजपरिवार नै नामेट पारेको नरसंहार कोबाट भएको थियो भन्ने चित्तबुझ्दो निक्र्यौल अझै हुन सकेको छैन ।

सरकारद्वारा गठित छानविन समिति, दरवार निकटस्थ तथा प्रत्यक्षदर्शीले तत्कालिन युवराज दिपेन्द्रले गोली चलाएको दावी गर्दै आए पनि जनता पत्याउनेवाला छैनन् । कुनै न कुनै दिन ‘वास्तविक हत्यारा’को पर्दाफास हुने पर्खाई छ धेरैलाई । त्यसैले पनि दरबार सम्वन्धी कुनै पुस्तक प्रकाशित हुँदा त्यसले एकखालको कौतुहल ल्याइदिन्छ ।

जनताको यही मनोभावनाको फाइदा उठाएर विगतमा ‘रक्तकुण्ड’ जस्तो अप्रमाणिक किताब लेखियो, जुन लाखौं प्रति बिक्री भयो । तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ ल्याए । दरबारमै लामो समय काम गरेका व्यक्तिले लेखेको हुनाले त्यसलाई बढी विश्वसनीय ठानियो । उक्त पुस्तकमा दरबार हत्याकाण्ड युवराज दिपेन्द्रले गराएको उल्लेख थियो । यद्यपि, लेखकले राजतन्त्र मास्न चाहने देशी–विदेशी शक्तिले दिपेन्द्रलाई उपयोग गरेको हुन सक्ने काँचो आशंका व्यक्त गरेका छन् पुस्तकमा ।

यही सिलसिलामा अर्को एउटा नयाँ पुस्तक बजारमा आएको छ । ‘दरबारको दुःखान्त ।’

यो पुस्तक राजा वीरेन्द्रका तत्कालीन एडीसी सुन्दरप्रताप रानाले लेखेका हुन् । तर, यस पुस्तकबाट पनि कुनै सनसनीखेज खुलासाको अपेक्षा नगर्नुस् । यसलाई विवेककुुमारकै पुस्तकको अर्को संस्करणका रुपमा हेर्न सकिन्छ ।

जनतालाई सबैभन्दा बढी चासोको विषय बनेको रहस्यमय दरबार हत्याकाण्ड र दिपेन्द्र–देवयानी प्रेमका विषयमा पुस्तकमा नयाँ कुरा केही पनि छैन । किताबको आवरणमा भने ‘राजपरिवार र संहारः मैले जसरी देखेँ’ लेखिएको छ ।

रानाको परिचयमा ‘दरबार हत्याकाण्डको साक्षी’ भनिएको छ । तर, पुस्तकभित्र लेखकले ‘गोली कसले चलायो भन्ने आफूले नदेखेको’ भनेर इमान्दारिता साथ स्वीकारेका छन् ।

पुस्तकको २६८ पेजमा उनले लेखेका छन्, ‘हत्याकाण्ड हुँदा म त्रिभुवन सदनको अर्को कुनामा थिएँ । गोली चलिरहेको आवाज सुनेको थिएँ । तर, युवराजधिराजले गोली हानेको मैले देखेको होइन । मलाई युवराजले गोली चलाएको पहिलो खबर मौसुफकै एडीसी गजेन्द्र बोहराले दिएका हुन् ।

युवराज दीपेन्द्र बाहिर सर्दै जाँदा उनले एक झलक्क देखेका रहेछन् । त्यसैले त्यस रात बिलियार्ड हलभित्र गोली कसरी चल्यो, त्यसबारे बोहरा र प्रत्यक्षदर्शी शाही नातेदारले भनेका कुरालाई नै मान्नुपर्ने अवस्थामा छु ।’

पुस्तकमा हत्याकाण्डको वयान गर्ने क्रममा रानाले ‘बताइन्छ’, ‘सुनिएअनुसार’, ‘फलानोले मलाई बताए’, ‘फलानोले छानविन समितिलाई बयान दिएअनुसार’ जस्ता भाष्य प्रयोग गरेका छन् । अरु प्रत्यक्षदर्शीको हवाला दिएर उनले दिपेन्द्रले नै गोली चलाएको निस्कर्ष निकालेका छन् ।

‘सबै घटनाक्रम र पृष्ठभूमि बुझेको हुँदा बिलियार्ड हलमा सुरुमा गोली चलाउने व्यक्ति युवराज नै हो भन्ने म ठान्छु,’ पुस्तकमा रानाले लेखेका छन्, ‘तर आम मानिसहरु त्यसलाई पत्याउँदै पत्याउँदैनन् । कतिसम्म भने मेरी आफ्नै दिदीसमेत दीपेन्द्र सरकारबाट त्यो हत्याकाण्ड भयो भन्ने कुरा मान्न अझैसम्म तयार हुनुहुन्न ।’

दिपेन्द्र–देवयानी प्रेमका विषयमा पुस्तकले पहिलेदेखि आइरहेका कुराहरुलाई नै समेटेको छ । लेखकले धेरै कुराहरु अनुमानका आधारमा पनि ठोकेका छन् । दिपेन्द्रको विवाहलाई लिएर राजपरिवारभित्र अन्तरकलह रहेको भनेर उनले पुस्तकमा केही प्रसंगहरु दिएका छन्, तर सबैजसो सुनेको भरमा ।

पहिलेदेखि नै आएकै कुरा हो, दिपेन्द्रसँग दुई सुन्दरी जोडिएका थिए । पहिले सुप्रिया शाहसँग उनी प्रेममा थिए भने पछि देवयानी राणासँग । देवयानीसँग बिहे गर्ने तयारी गर्दा रानी ऐश्वर्याले कडा अवरोध गरेपछि दरवारमा अन्तरकलह बढेको थियो । यसमा राजा वीरेन्द्र निरपेक्ष बसेका थिए ।

दिपेन्द्र र सुप्रियालाई नजिक ल्याउने काम अधिराजकुमारी श्रुतीले गरेको पुस्तकमा उल्लेख छ ।

‘थाहा पाएअनुसार सुप्रिया र दीपेन्द्र सरकारलाई नजिक ल्याउने काम श्रूती सरकारले नै गरिबक्सेको हो ।’ पुस्तकमा भनिएको छ । दीपेन्द्र १४ वर्ष र सुप्रिया १२ वर्षको हुँदा नै उनीहरुबीच प्रेम सुरु भएको दावी गरिएको छ ।

‘युवराजले ०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि सुप्रियासँग बिहे गर्ने चाहना प्रकट गरिबक्स्यो । त्यसबेला सरकारको उमेर १६ वर्ष मात्र पुगेको थियो । त्यति सानो उमेरमा बिहे गर्न सम्भव थिएन । त्यसैले बडामहारानीले सुन्नासाथ अस्वीकृत गरिबक्स्यो,’ रानाले लेखेका छन् ।

एसएलसीपछि उच्च अध्ययनका लागि बेलायतको इटन कलेजमा जाँदा दीपेन्द्र देवयानीसँग नजिक भएका थिए । नेपाल फर्किएपछि उनीहरुको सम्वन्ध थप गहिरियो ।

देवयानीको विषयमा दीपेन्द्रले आफूलाई मदिरा पिलाउँदै भनेको भन्दै रानाले लखेका छन्, ‘बुझ्यौ सुन्दर, देवयानीसँग मेरो हेड मिल्छ । मैले सेक्सपियरको कुनै भर्स आधा भनेपछि आधा उसैले भन्न सक्छे । हाम्रा रुची पनि मिल्छन् । ब्युटीफुल र कल्चर्ड पनि छे । सुप्रियासँग भन्दा देवयानीसँग मेरो जोडी जम्छ ।’

तर, देवयानीलाई बुहारी स्वीकार्न रानी ऐश्वर्या तयार भइनन् । दरबारभित्र चन्द्र शम्शेर र जुद्ध शमशेरका खलकबीच अघोषित प्रतिस्पर्धा थियो । रानी छोराको बिहे जुद्धशम्शेर वंशसँग गराउन चाहन्थिन्, जुन उनको माइती खलक थियो ।

‘आफ्ना छोराको बिहे पनि जुद्धसमशेर खलकमै गर्नुपर्छ भनेर खासगरी बडामहारानी सरकारले अडान नै राखिबक्सेको दरबारमा सुन्ने गरिएको थियो,’ पुस्तकमा लेखिएको छ ।

लेखकले ‘अर्को भनाइ’ भन्दै देवयानीसित बिहे गराउँदा दरबारमा भारतीय प्रभाव बढ्ने चिन्ता रानीलाई रहेको उल्लेख गरेका छन् । देवयानीकी आमा भारतको ग्वालियरको राजघरानाकी हुन् । हजुरआमा ग्वालियरकी राजमाता विजयाराजे सिन्धिया भारतीय जनता पार्टी (भाजपा) कि उपाध्यक्ष थिइन् भने सानीमा बसुन्धराराजे सिन्धिया राजस्थाको मुख्यमन्त्री थिए । भाजपा नेता मुरली मनोहर जोशीले समेत काठमाडौं आएर देवयानीका पक्षमा दरबारलाई मनाउन खोजेको पुस्तकमा उल्लेख छ ।

पुस्तकका अनुसार पछिल्लो समय दीपेन्द्र देवयानीलाई भगाएर बिहे गर्न चाहन्थे । तर, रानी ऐश्वर्याले यदि देवयानीसँग बिहे गरेमा कान्छा छोरा निराजनलाई गद्दीको उत्तराधिकारी घोषणा गर्ने चेतावनी दिएकी थिइन् ।

देवयानीसँगको प्रेम सफल पार्न नसकेकै कारण दिपेन्द्रले नरसंहार मच्चाएको पुस्तकको निस्कर्ष छ । दरबारभित्र भएको शुक्रबारे पार्टीमा २१ जना राजपरिवारका सदस्य थिए । नरसंहारमा १० जनाको निधन भयो भने ४ जना घाइते भए । अन्य सकुशल रहे । जिवित रहेकाहरु सबैले दिपेन्द्रले गोली चलाएको बयान छानविन समितिलाई दिएका छन् ।

हत्याकाण्डपछि दिवंगत पूर्वराजपरिवारका कसैको पनि पोस्टमार्टम गरिएन । यसले गर्दा घटनाको अनुसन्धान अपूर्ण बनेको अहिले पनि मान्ने गरिन्छ । पोस्टमार्टम नहुनुमा रानाले तत्कालीन मुमा बडामहारानी रत्नलाई देखाएका छन् ।

पुस्तकमा उल्लेख भएअनुसार पूर्वराजपरिवारको नरसंहारपछि जेठ २० गते बिहान सात बजे अधिराजकुमार ज्ञानेन्द्रसहित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उपप्रधानमन्त्री रामचन्द्र पौडेल, सभामुख तारानाथ रानाभाट, राजपरिषदका सभापति केशरजंग रायमाझी, प्रधानसेनापति प्रज्वल समशेर राणा लगायत उच्चपदस्थ व्यक्तिहरुको एउटा अनौपचारिक बैठक बसेको थियो छाउनी अस्पतालमा । सो बैठकले पूर्वराजाको शवको पोस्टमार्टम गर्ने निर्णय गरेको थियो ।

पुस्तकमा लेखिएको छ । ‘तर, त्यसलाई रोक्ने काम पूर्वबडामहारानी रत्नबाट भयो । मरिसकेका राजालाई किन चिर्ने ? मौसुफको तर्क यस्तो थियो । राजालाई गोली हानी हत्या गरिएको दृष्य पार्टीमा उपस्थित सबैले देखेका छन् भने त्यो किन गरिरहनुपर्‍यो भन्ने मुमा बडामहारानीको तर्कमा पनि बल थियो । राजपरिवारकी सबैभन्दा ज्येष्ठ सदस्यको कुरालाई कसैले नकार्न सकेन ।’

यो कुरा विवेक कुमारको पुस्तकमा पनि आइसकेको हो ।

रानाले दरबार हत्याकाण्डपछिको माहौलमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ज्यादै परिपक्व भूमिका खेलेको र सरकारी निकायहरुलाई राम्ररी परिचालन गरेको दावी गरेका छन् । तर, त्यतिबेला कस्तो अराजकता थियो र सरकारी निकायहरु कति निकम्मा सावित भएका थिए भन्ने धेरैले सम्झेकै होलान् । देशमा एकखालको सरकारविहीनताकै स्थिति थियो । दरबार हत्याकाण्डको सुक्ष्म अनुसन्धान नहुनुमा तत्कालिन सरकार नै मुख्य जिम्मेवार हो । त्यसैले गिरिजाले ज्यादै परिपक्व भूमिका निभाएको भन्नु हास्यास्पद ठहर्छ ।

०००

जबसम्म राजतन्त्र बहाल थियो, त्यतिबेला राजदरबारभित्रको जीवन आमजनताका लागि पहेलीका रुपमा थिए । सार्वजनिक कार्यक्रममा औपचारिक, भद्र र शालीन रुपमा प्रस्तुति हुने राजपरिवारका सदस्यहरुको वास्तविक चरित्र र स्वाभावबारे जनता अपरिचित थिए । बाहिर जस्ता देखिन्थे, त्यसैको आधारमा धारणा बनाइन्थ्यो ।

यस किताबले दरबारभित्रको जीवनशैली र राजपरिवारका सदस्यहरुको स्वभावलाईं केही हदसम्म चित्रण गरेको छ, तर नकारात्मक पक्षहरुलाई सकभर दबाएर ।

विवेक र सुन्दर दुवैको पुस्तक पढ्दा के महसुस हुन्छ भने दरबारभित्र पारिवारिक आत्मीयता र सामीप्य नै थिएन । उनीहरु खाना खाने बेलामा मात्रै सँगै हुन्थे । दीपेन्द्र र ऐश्वर्याबीच त अत्यन्तै ठूलो कटुता थियो ।

दिपेन्द्रले बाल्यकालदेखि नै मातापिताको सामीप्य पाएनन् । दीपेन्द्र र उनका भाइबहिनीलाई धाइआमा (रनर वा नानी) र एडीसीहरुले हुर्काएका थिए । रानी ऐश्वर्याले उनीहरुलाई आफ्नो दूधसमेत नचुसाएको पुस्तकमा छ । राजा वीरेन्द्रले पनि उनीहरुलाई समय दिँदैनथे ।

पुस्तकका अनुसार बाबुआमाको सामिप्यता नपाएका युवराज दिपेन्द्र सानैदेखि घमण्डी, क्रुर, उद्दण्ड र परपीडक स्वाभावका देखिन्छन् । उनी कुनै पनि कुरामा हार स्वीकार गर्दैनथे । एकपटक आफूले बिलियार्डमा हराएपछि युवराजले आफूसँग कहिल्यै विलियार्ड नखेलेको रानाले पुस्तकमा लेखेका छन् ।

बहिनी श्रुतीसँग पनि दीपेन्द्रको खासै राम्रो थिएन । खासगरी देवयानीको विषयमा आमाको कित्तामा उभिएपछि दीपेन्द्रले बहिनीलाई पनि सत्रु देख्न थालेका थिए । पुस्तकमा एउटा प्रसंग छ, जसले दीपेन्द्र कतिसम्म क्रुर थिए भन्ने अनुमान गर्न सकिन्छ ।

‘दीपेन्द्र सरकारले राजपरिवारका युवा सदस्य र अन्य केही शाही नातेदारलाई त्रिभुवन सदन लगिबक्स्यो । त्यहाँको उही बिलियार्ड हलमा सबैका सामु अचानक एउटा घोषणा गरिबक्सेछ – ०५७ चैतभित्र आफूले देवयानी राणासँग बिहे गर्न लागेको सम्वन्धमा । बाबुआमाको अनुपस्थितिमा गरिएको त्यो घोषणालाई लिएर बहिनीले प्रतिवाद गर्नासाथ त्यहाँ तनावको स्थिति उत्पन्न भएछ । दीपेन्द्र सरकारले श्रुती सरकारको गर्धनमा समातेर घिसार्दै भुईंमा थचारिबक्सेको र लात्तीले समेत हानिबक्सेको रहेछ । त्यतिबेला श्रुती सरकार गर्भवती होइबक्सन्थ्यो ।’

राजा वीरेन्द्र शालीन र सरल व्यक्तिका रुपमा लेखकले चित्रण गरेका छन् । लत्ता–कपडाको सौखिन थिएनन् । विदेश भ्रमणमा जाँदा पनि ८–१० पुराना कोट लगाउँथे । वीरेन्द्रका अरु विशेष गुण भने देखिँदैनन् । राजकाजको मामलामा वीरेन्द्र कमजोर थिए भन्ने त सबैले देखेकै कुरा हो ।

लेखकले प्रष्ट शब्दमा नभनेता पनि रानी ऐश्वर्याको राजपरिवारमा दबदवा थियो भनेर बुझ्न सकिन्छ । उनी निकै संकीर्ण थिइन् भन्ने पुस्तकमा उल्लेख गरिएको एउटै दृष्टान्त काफी छ । राजासँग विदेशी भूमिमा एक नेपाली चेलीले तस्वीर खिचाउँदा ऐश्वर्या क्रोधित बनेकी थिइन् ।

‘०५७ असार १६ गते दुबईमा एक दिनको ट्रान्जिट थियो । हामी इन्टरकन्टिनेन्टल होटलमा बसेका थियौं । मैले राजारानीलाई छेवैको सपिङ मलमा लगेँ । तर, त्यो सपिङ मलमा त नेपाली कामदार छ्याप्छ्याप्ती रहेछन् । मैले चिनेकी १८ वर्ष जतिकी एक बहिनी पनि संयोगले त्यहीँ काम गर्दिरहिछन् । सेन्टमेरिज स्कुलमा पढ्दा उनी श्रुती सरकारको सहपाठी पनि थिइन् । उनले महाराजाधिराज सरकारसँग फोटो खिच्न मिल्छ कि भनेर सोधिन् । मैले सरकारमा जाहेर गर्दा ‘हुन्छ’ हुकुम भयो । अनि खिच्ने व्यवस्था मिलाइदिएँ । आखिर अरु सबै नेपालीले राजासँग तस्बिर खिचिरहेकी थिए, ती युवतीले पनि खिचिन् ।

बडामहारानीलाई भने यो कुरा पटक्कै मन परेको रहेनछ । गाडीमा पस्नेवित्तिकै मलाई झपारिबक्स्यो, ‘तिमीले महाराजलाई केटीसँग एक्लै फोटो खिचाउने ? यस्तो गर्नुहुँदैन भन्ने बुद्धि छैन ? गाडीभरि कराइबक्स्यो । महाराजधिराजले एक शब्द बोलिबक्सेन ।’

त्यसपछि आफूले युवतीसँग सम्पर्क गरेर रिल मगाएको रानाले उल्लेख गरेका छन् ।

आमरुपमा एडीसी भन्नाले प्रमुख अंगरक्षकको रुपमा बुझ्ने गरिन्छ । यद्यपि, एडीसीको भूमिका अंगरक्षकको भन्दा बढी हुने रानाले बताएका छन् ।

‘एडीसी भन्नाले कुनै महत्वपूर्ण व्यक्तित्वसँग हरहमेसा सँगै रहने एक सहयोगी हुन् भनेर बुझ्दा हुन्छ, जसको भूमिका अंगरक्षकमा मात्रै सिमित हुँदैन,’ उनले लेखेका छन् ।

एडीसीलाई नेपालीमा पाश्र्ववती भन्ने गरिन्छ । राना राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती थिए । उनले आफ्नो २४ वर्ष लामो सैनिक जीवनका क्रममा ०४१ देखि ०५८ सम्म दरबारमा काम गरे । दरबार हत्याकाण्डपछि उनीसहित दरबारका ४ एडिसीहरुलाई ‘अन्यायपूर्वक’ सेवाबाट बर्खास्त गरिएको थियो । यद्यपि, पछि ज्ञानेन्द्रले आफूलाई बोलाएर ‘सरी’ भनेको रानाले उल्लेख गरेका छन् । राना हाल बहुराष्ट्रिय सुरक्षा प्रदायक कम्पनी ‘जिफोरएस सेक्युरिटी सर्भिसेज’ मा आवद्ध छन् ।

१८ वर्षसम्म मौन बसेर अहिले किन पुस्तक लेखे भन्ने पनि प्रश्न उठ्छ । पुस्तक लेख्न आफूलाई पत्रकार मित्र सुधीर शर्माले १५–१६ वर्षदेखि घच्घच्याएको उनले उल्लेख गरेका छन् ।

‘राजदरबार र सैनिक सेवाबाट अलग्गिएको दुई दशक हुन लागेपछि मलाई पनि लाग्यो, अब त लेख्ने बेला भयो । निरन्तर प्रेरणाका लागि सुधीरजीप्रति हार्दिक आभार प्रकट गर्छु ।’ रानाले लेखेका छन् । पुस्तकको शर्माकै प्रेस किताब पब्लिसर्सले गरेको हो ।

समग्रमा यस पुस्तकलाई नयाँ बोतलमा पुरानो रक्सीका रुपमा हेर्न सकिन्छ । दरबार हत्याकाण्डको दुई दशक पुग्न लाग्दा दीपेन्द्र नै यसका प्रमुख सूत्रधार हुन् भन्ने लगभग क्लियर भइसकेको छ । किनकि दर्जनौं प्रत्यक्षदर्शीहरु अगाडि भएको घटनामा अरु कोही संलग्न थियो, भने यतिञ्जेलसम्ममा पक्कै कसैले मुख खोलिसक्थ्यो ।

तर, दीपेन्द्रको सार्वजनिक छविका कारण जनतालाई उनी हत्यारा हुन् भन्ने विश्वास दिलाउन सजिलो छैन । साथै केही अनुत्तरित प्रश्नहरु पनि बाँकी नै छन्, जसको जवाफ यो पुस्तकमा पनि भेटिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment