Comments Add Comment

प्रत्यक्षदर्शी भन्छन्– मदरासी फिल्मको जस्तो धमाका देख्यौं

१२ जेठ, काठमाडौं । आइतबार अपरान्ह पौने ४ बजे काठमाडौंको सुकेधारास्थित कोठामा सुतिरहेका वेला सुनेको ‘ठूलो आवाज’ ले सुभद्रा गोले झसंग भइन् । बाहिर निस्किँदा ढोकामै मानिस टाउको देखिन् ।

अत्तालिँदै छिमेकी जीवकुमार ठाकुरको पसलतिर छिरिन् । त्यहाँको विभत्स दृश्य देखेपछि उनले चिच्याउन बाहेक केही गर्न सकिनन् ।

‘साह्रै आत्तिएको थिएँ । त्यसवेला बेस्सरी चिच्याएँ’, उनले अनलाइनखबरसँग सुनाइन्, ‘केहीवेरमा पुलिस बोलाओ भनेर कराएँ ।’

उनकाअनुसार त्यसपछि मात्रै नजिकै रहेका मानिस आएर घाइतेलाई उद्दार गर्न थालेका थिए ।

सैलुनमा छिर्ने वित्तिकै छट्पटाइरहेका एक व्यक्तिको अनुहार उनलाई अझै स्पष्टै छ । ‘भित्र छिर्ने वित्तिकै ढोका छेउ मोटो, सेतो वर्णको मान्छे छट्पटाइरहेको थियो’, उनले थपिन्, ‘बचाउ..बचाउ.. भनेर उ बोलिरहेको थियो ।’

उनका अनुसार ती व्यक्तिको शरीरमा चोटैचोट थियो । घाइते अवस्थामा पनि उनको ढाड पछाडि झोला रहेको उनले सुनाइन् । मानिस जम्मा भएपछि सिलिण्डर विष्फोट भएको भन्न थाले । उनलाई पनि प्रारम्भमा त्यही लागेको थियो ।

तर, केहीवेरमै दुई वटा सिलिण्डर देखिन्, त्यसमा केही भएको थिएन । त्यसपछि उनलाई सिलिण्डर होइन, बम नै पड्किएको भन्ने लाग्यो ।

घटनास्थल नजिकै बस्ने सागर भट्टका अनुसार उनी घटनास्थल पुग्दा ‘सन्नाटा’ छाएको थियो । ‘ठूलो विष्फोट भएपछि मौनता छाएको थियो’, उद्दारमा समेत खटिएका भट्टले भने, ‘शरीरबाट छुट्टिएको अंग पन्छाउँदै एम्बुलेन्समा घाइतेलाई चढाएका थियौं ।’

कतिपय व्यक्तिको खुट्टा र माथिको भागै चुडिइसकेको अवस्थामा हस्पिटल पठाएको उनले बताए ।

फिल्मी शैलीको धमाका

तीन जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको विष्फोटस्थल नजिकै रहेका स्थानीयवासीका अनुसार आइतबार अपरान्ह ठाकुरको सैलुनमा अन्य समयभन्दा वेग्लै चहलपहल थियो । पछाडि झोला भिरेका दुई÷तीन जना व्यक्ति सैलुनभित्र प्रवेश गरेका थिए ।

तिलै झोला भिरेका व्यक्तिले प्रेसर कुकर बम लिएर सैलुनमा छिरेको हुनसक्ने प्रहरीको आशंका छ । बमलाई बाहिर लगेर जडान गर्न खोज्दा गल्तीले विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

‘त्यहाँ कपाल काट्ने एक जना मात्रै भएकाले दुई-तीन जना मात्र बस्थे’, एक स्थानीयवासीले भने, ‘तर, बम पड्किनुअघि त्यहाँ ७ जना थिए ।’

त्यति नै वेला दुई जना किशोर पनि कपाल काट्न सैलुनभित्र गएका थिए । तर, भिड देखेपछि केहीवेरमा आउने भन्दै फर्किए ।

छिमेकी सुदिप श्रेष्ठका अनुसार उनीहरु निस्किएको केहीवेरमै ‘धमाका’ मच्चिएको थियो । ‘मदरासी फिल्ममा जसरी धमका हुन्छ, त्यस्तै दृश्य थियो पसल अगाडि’, उनले अनलाइनखबरसँग सुनाए, ‘बुढालाई बमले बाहिरै उछिट्याइदिएको थियो ।’

उनको दुवै खुट्टा र निधारमा चोट लागेको देखेको उनले बताए । उनी भन्छन्, ‘हामीलाई सुरुमा ग्यास पड्किएको होला भन्ने लागेर हतारहतार गएर निकालेका थियौं ।’

बम भएको भन्ने थाहा भएको भए मानिसहरु त्यसरी घटनास्थलतिर जान डराउन सक्ने उनले आशंका गरे ।

ठाकुरले कोठालाई दुई भागमा पार्टेसन गरेका थिए । अघिल्लतिर कपाल काटिन्थ्यो भने ढोकाभित्र सुत्ने र खाना पकाउने ठाउँ थियो । दिउँसो ढोका लगाएर उनीहरु बसेको देखिएको पनि एक प्रत्यक्षदर्शीले अनलाइनखबरलाई बताए ।

छिमेकी सुभद्राका अनुसार ठाकुर त्यहाँ एक्लै बस्थे । ‘यहाँ उनी बस्न थालेको यो सटर बनाएदेखि नै हो’, उनले भनिन्, ‘एक दिन मैले भित्र के छ भनेर सोधेको थिएँ । तर, अर्काको कोठामा जेसुकै होस् भनेको थियो ।’

स्थानीय मिलेर एक व्यक्तिबाट त्यो जग्गा भाडामा लिएर सटर बनाएका थिए । सुभद्राका अनुसार चार वटा सटरमा बसेका व्यक्तिले प्रति महिना १० हजार उठाएर जग्गाधनीलाई ४० हजार रुपैयाँ बुझाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment