Comments Add Comment

सरकारको ध्यान तीब्र विकासमा केन्द्रित : महासचिव पौडेल

१३ जेठ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केहीमा नभएको बताएका छन् । आगामी वर्षलाई तीब्र विकास र प्रगतिको बर्षका रुपमा सदुपयोग गर्न चाहेको उनको दाबी छ ।

बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सरकारको नीति तथा कार्यक्रम जनतामैत्री रहेको उल्लेख गरे ।

विरोधीहरुले धेरै हल्ला चलाए पनि नेपालको विकासको दर,जीडीपी बढेकोमा खुसी ब्यक्त गरे । उनले विकास र समृद्धिका लागि दलभन्दा माथि उठेर सामूहिक भावनामा केन्द्रित हुन पनि सबैलाई आग्रह गरे ।

विकासमा रुपन्देहीले फड्को मारेको भन्दै पौडेलले सोमबार शिलान्यास गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुणस्तरमा कुनै किसिमको सम्झौता नहुने बताए । उनले २७ महिनाभन्दा १ दिन पनि नथप्ने गरी निर्माण गर्न आग्रहसमेत गरे ।

प्रदर्शनी केन्द्रप्रति प्रदेश ५ का वासिन्दाले गौरवको रुपमा मान्नुपर्ने भन्दै पौडेलले क्षमता, आधुनिकताका हिसावले नेपालकै पहिलो केन्द्र भएको दाबी गरे । १ अर्ब ५ करोड रुपैयाँ लागतमा केन्द्रको निर्माण हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

निर्माणका लागि रामनगरमा रहेका ५ सय रुख कटान गर्नका लागि इआइए सम्पन्न भइसकेको शहरी विकास तथा भवन निर्माणका निर्देशक मनिराम गिलालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको थियो ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment