Comments Add Comment

प्रदेश सरकारमा पनि बजेट माग गर्नेको भीड

१३ जेठ, सिन्धुपाल्चोक । प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला आफ्नो क्षेत्रमा बजेट माग गर्ने नेता, कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको भीड प्रदेश ३ को विभिन्न मन्त्रालयमा बढेको छ ।

स्थानीय सरकारका प्रमुख र प्रतिनिधि र प्रदेश ३ भित्रका १३ जिल्लाका राजनीतिक दलका नेता र कार्यकर्ता पनि स्थानीय सरकारको सिफारिस पत्र बोकेर आफ्नो योजनामा बजेट माग गर्दै प्रदेश मन्त्रालयमा पुगेका छन् ।

प्रदेश ३ सरकारले मंगलबार आफ्नो नीति तथा कार्यक्रम प्रदेश ससंदमा पेश गर्दै छ, बजेट बनाउने अन्तिम तयारी भइरहेका बेला मन्त्रलयका मन्त्रीहरु जिल्ला जिल्लाबाट आएका स्थानीय सरकारका प्रमुख र अन्यलाई भेट्न नै व्यस्त छन् । ‘केन्द्र सरकारमा बजेट माग गर्न गयो, प्रदेश सरकारमा जानुस् भन्छन् त्यही भएर आगामी वर्षका लागि आफ्नो नगरपालिकाका विभिन्न योजनाहरुमा बजेट माग गर्न मन्त्रालयहरुमा आएका हौं’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।

शेर्पा नगरपालिकाका केही कर्मचारी र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरु सँगै लिएर प्रदेशको अस्थाई राजधानी हेटौडा पुगेका थिए । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल पनि नगरभित्रका योजनाको लामै लिस्ट बोकेर प्रदेश मन्त्रालयमा पुगेका थिए ।

प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालसँग भेटेर आफ्नो क्षेत्र र योजनामा बजेट माग गर्न लामै लाइन थियो मन्त्री कक्ष बाहिर । भेट्नेहरुको लामै लाइन भएपछि कतिपय जिल्लाका जनप्रतनिधिहरुलाई सामाजिक विकास मन्त्री दुलालले एकै पटक भित्र बोलाएर आफ्ना समस्या राख्न भनेका थिए ।

सिन्धुपाल्चोकका दुई स्थानीय तह बाह्रविसे र मेलम्ची नगरपालिकाका प्रमुखहरु एकै पटक गएर आफ्नो क्षेत्रका विभिन्न योजनाहरुको लिस्ट मन्त्री दुलालाई थमाएका थिए ।योजनाको लिस्ट बोकेर जनप्रतिनिधिहरु दिनहुँ आउने गरेको सामजिक विकास मन्त्री युवराज दुलाालले बताए ।

दैनिक १०/१२ टोली आएर आफ्नो क्षेत्रमा बजेट पारिदन आग्रह गर्दै लिस्ट दिएर जानुहुन्छ मन्त्री दुलालले भने ‘अब सबै योजना त नपर्न पनि सक्छ हामी प्रथामीकीकरण गरेर योजना हाल्न लागेका छौ ।’

मुुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गर्नैहरुको भीड पनि उत्तिकै थियो । मुख्यमन्त्रीले नै भौतिक पूर्वाधार मन्त्रालय सम्हालेकाले पनि उनको कार्यालयमा पनि जनप्रतिनिधिहरु र अन्यको बाक्लो भीड नै थियो

मुख्यमन्त्रीले भने : सिष्टम बसाल्नै सकिएन

प्रदेश ३ भित्रका १३ जिल्लाबाट अर्बौको योजनाहरु आएको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताए । एउटा पद्धतिमा बजेट वितरण गर्न खोजे पनि आफुले सिष्टम नै बसाल्न नसकेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

सिन्धुपाल्चोकबाट पुगेका स्थानीय तहका जनप्रतिनिधिसँग मुख्यमन्त्री पौडेलले भने ‘तपाईंहरुको जिल्लाबाट मात्रै २ खर्ब बढीका योजना आएका छन्, अरु जिल्लाबाट पनि छन्, कसरी सम्बोधन गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment