Comments Add Comment

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

सुरक्षा अधिकारी मौन, प्रधानमन्त्री र मन्त्री आक्रामक

१४ जेठ, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबारे मुख्य तीन सुरक्षा अंगको दृष्टिकोण एकैखालको छ । तीनै सुरक्षा अंगले यो समस्या राजनीतिक तहबाटै समाधान गरिनुपर्छ भन्ने समान धारणा राख्दै आएका छन् ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सार्वजनिकरुपमै विप्लव समूहप्रति राजनीतिक व्यवहार गरिनुपर्ने बताउँदै वार्ता र सहमति नै उत्तम विकल्प रहेको बताइसकेका छन् । आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न क्षेत्रीले सुझाव दिएका थिए ।

नेपाल प्रहरीका अधिकारी पनि द्वन्द्व र मुठभेडको पक्षमा छैनन् । तथापि, केपी ओली नेतृत्वको सरकारले विप्लव समूहप्रति आक्रामक बन्ने नीति लिएसँगै प्रहरी दबावमा छ ।

यद्यपि, विप्लव समूहका नेता/कार्यकर्तामाथि डण्डा चलाउन छुट्टै ऐन नहुँदा प्रतिवन्ध अघि र पछि प्रहरीले देखाएको भूमिका खासै फरक देखिँदैन । प्रहरीले समात्ने र अदालत छाड्ने खेल चलिरहेकै छ ।

यो पनि पढ्नुहोस विप्लवसँग लुकामारी ! प्रहरी समात्ने, अदालत छाड्ने

योबीचमा नयाँ दृश्यचाहिँ के छ भने हतियारसहित देख्ने वित्तिकै प्रहरीले विप्लव कार्यकर्तालाई खुट्टामुनि गोली हानेर तर्साउन थालेको छ । प्रहरीको यही नीतिकै क्रममा ७ जेठमा एउटा अप्रिय घटना भयो, जसले विप्लव समूहलाई उत्तेजित बनायो ।

भोजपुरको टेम्केमैयुङ–२ मा प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरेउर्फ राजुको मृत्यु भयो । सुरक्षा अधिकारीले तीघ्रामा गोली हानेको दाबी गर्दागर्दै उनको कसरी मृत्यु भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगर स्रोत भन्छ, ‘पोष्टमार्टम रिपोर्ट आएपछि गोली कहाँ र कतिवटा लाग्यो भन्ने निक्र्याैल हुन्छ, त्यसपछि मात्रै केही भन्न सकिएला ।’

विप्लव समूहले उनै घिमिरेसँग भएको मुठभेडविरुद्ध सोमबार आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा ४ जनाको मृत्यु र ६ जना घाइते हुने गरी काठमाडौमा शक्तिशाली विष्फोटनहरु भए ।

नेपाल बन्द सफल बनाउनका लागि विष्फोट गराउन खोजिए पनि प्राविधिक त्रुटीका कारण विप्लवका आफ्नै कमाण्डर ‘एम्बुस’मा परे । यद्यपि, आइतबार दिनभर भएको गतिविधिले विप्लव समूहको बढ्दो पकड र सुरक्षा निकायको असंवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ ।

सुरक्षाकर्मी नरम, गृहमन्त्री गरम !

विप्लव समूहको शक्ति र सांगठानिक अवस्थाबारे सुरक्षा अधिकारी हत्तपत्त बोल्दैनन् । बोलिहाले पनि नरम रुपमा पेश हुन्छन् । सर्वसाधारणमा आतंक सिर्जना हुने भएकाले नबोल्ने उनीहरु बताउँछन् ।

तर, सोमबार गृहमन्त्री रामबहादुर थापाले ‘बादल’ एक कदम अघि बढेर संसदमै भने, ‘उनीहरुले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेका छन् र अहिले निशानामा उपत्यका छ ।’

गृहमन्त्री बादलको यो टिप्पणी सुनेर सुरक्षा अधिकारी अहिले आश्चर्यमा छन् ।

किनकि, सुरक्षा संयन्त्रसँग बादलले भनेजस्तो ‘उपत्यका निशाना’मा रहेको सूचना छैन । नेपाल प्रहरीको इन्टलिजेन्स हेर्ने निकायमा कार्यरत् एक अधिकारी भन्छन्, ‘अहिल्यै उनीहरु प्रहरीसँग भिड्न आउने गरी तयार छैनन् ।’

ती अधिकारीका अनुसार विप्लव समूहले ३ कम्पनी फौज बनाइसकेको अवस्था भएको भए आइतबार आफ्नै कार्यकर्ता मारिएको ‘कच्चा’ दृश्य देख्नुपर्ने थिएन । प्रहरी अनुसन्धानले विष्फोटक पदार्थ सही तरिकाले बोक्न नसक्नु नै घटनाको कारण भएको देखाएको छ ।

तर, सिंहदरबारको नजिक विष्फोटक पदार्थ लान सक्नु नै विप्लव समूहको सफलता देखिन्छ । यद्यपि, आफ्नै कार्यकर्ता मारिनुले उनलाई केही ‘ब्याक फायर’ भने हुने नै छ ।

प्रधानमन्त्रीलाई दबावमा पार्ने दाउ ?

गृहमन्त्री थापाले संसदमा किन चर्को अभिव्यक्ति दिए ? नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र गुप्तचरका अधिकारी अहिले अलमलमा छन् ।

एकथरि अधिकारीको विश्लेषण चाहिँ के छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ताका लागि दवाब दिने उद्देश्यबाट गृहमन्त्री बादलको अभिव्यक्ति बाहिर आएको हुनसक्छ । प्रधानमन्त्री ओली अझै विप्लव समूहलाई पेलेरै जाने लाइनमा छन् ।

उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा भनेका छन्, ‘म त्यही आतंककारी समूहलाई सोधिरहेको छु, तिमीहरुको माग के हो ।’ ओलीले विप्लव समूहलाई लक्षित गर्दै उनीहरुको पैसा उठाउने र तर्साउने बाहेक केही उद्देश्य नदेखिएको पनि बताएका थिए ।

यसअघि पनि प्रधानमन्त्री ओलीले विप्लव समूहलाई ‘लुटेरा’ भनेर सम्बोधन गरेका थिए ।

तर, गृहमन्त्री बादलको भित्री मनस्थिति विप्लव समूहलाई मूलधारको राजनीतिमै ल्याउनु रहेको बताइन्छ । त्यसका लागि वार्ताको वातावरण तय गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिने उद्देश्यले गृहमन्त्री बादलको कडा अभिव्यक्ति आएको हुन सक्ने दाबी गरिएको छ ।

यही तर्कलाई बल पुर्‍याउने गरी नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अभिव्यक्ति दिएका छन् । सोमबार बिराटनगर पुगेका प्रचण्डले पत्रकारहरुसँग भने, ‘यो बन्द इत्यादि जे गर्नुभएको छ, सायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

प्रहरीको फितलो चेकजाँच

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘प्रहरी बलियो भएकैले घर बाहिर बम पड्काउन नसकेको’ टिप्पणी गरेका छन् । तर, कोठाभित्रै भए पनि सिंहदरबारको छेवैबाट त्यहाँसम्म बम पुग्नु संवेदनशील विषय हो ।

थानकोट, नागार्जुन, साँगा र दक्षिणकाली नाकामा प्रहरीले उपयुक्त निगरानी गर्न नसकेको देखिएको छ । यो अवस्थामा विप्लव समूहले कसरी विष्फोटक पदार्थ उपत्यका भित्र्यायो भन्ने विषयको पनि अनुसन्धान हुनु जरुरी देखिएको छ ।

मुलुकको गुप्तचरी संयन्त्र सूचना संकलनमा कति पछाडि छ भन्ने कुरा ‘ओपन सेक्रेट’ नै छ । तर, उपत्यका छिर्ने नाकाबाट विगतभन्दा शक्तिशाली विष्फोटक पदार्थ भित्रिइरहँदा नेपाल प्रहरीका अधिकारी के हेरेर बसेका थिए भन्ने प्रश्न पनि गम्भीररुपमा उठेको छ ।

त्यसो त प्रहरीको दुःख पनि कस्तो छ भने सूचना आएको बाहेक ‘म्यानुअल’ चेकजाँचबाट विरलै मात्र गैरकानुनी गतिविधि थाहा हुन्छ । सवारी साधनको स्क्रिनिङका लागि प्रहरीसँग उपकरण छैन ।

जसरी विप्लव समूहको साथमा नयाँ पुस्ताका युवा पनि देखिन थालेका छन्, यो चाहिँ डरलाग्दो स्थिति हो – प्रहरी अधिकारी

‘हामीले सवारीको होल बडी स्क्रिनिङका लागि डिभाइस माग गरेको थुप्रै भइसक्यो । अहिलेसम्म आएको छैन’, नागढुंगामा कार्यरत् एक प्रहरी अधिकारी भन्छन्, ‘प्रत्येक गाडीभित्र छिरेर जाँच्न थाल्दा त दिनै बित्छ !’

अरु दिनको त कुरै छाडौं, ठाउँठाउँमा विष्फोट भएकै दिन राति सडकमा प्रहरीको उपस्थिति न्यून थियो । सांसदलाई बन्दुक तेर्स्याएको ‘फेक’ घटनामा ‘स्वीप’ अपरेशन चलाएर बटुवालाई समेतलाई नछाड्ने प्रहरीले विष्फोटका दिन कतै संकित व्यक्तिलाई समातेको देखिएन ।

बरु कोटेश्वरको नरेफाँटमा साँझ सवा ७ बजे राँके जुलुसको तयारी गर्दैगर्दा विप्लवका ७ कार्यकर्तालाई ४ वटा कुकरसहित नियन्त्रणमा लिँदा सुरक्षा अधिकारीबीच जस लिने होडवाजी नै चल्यो ।

सशस्त्र प्रहरी बल, हल्चोकले आफूले गरेको काम भन्दै विज्ञप्ति नै जारी गर्‍यो भने नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पनि प्रहरी टोलीले गरेको काम भनेर सूचना जारी गर्‍यो । यति मात्र होइन, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) देखि महानगरीय प्रहरी वृत्त, बानेश्वरसम्म जस लिने होडमा दौडिए ।

अनुमान विपरीत विप्लवको शक्ति

मुलुकको गुप्तचरी निकायको विश्लेषण के थियो भने विप्लवसँग माओवादी द्वन्द्वका बर्हिगमित लडाकु र द्वन्द्व पीडितको मात्र जत्था छ । तर, त्यो विश्लेषणले त्यतिबेला गलत सावित भयो, जब नख्खु बमकाण्डमा नयाँ पुस्ताका युवा जमात संलग्न देखिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकारी पनि भन्छन्, ‘जसरी विप्लव समूहको साथमा नयाँ पुस्ताका व्यक्ति पनि देखिन थालेको छ, यो चाहिँ डरलाग्दो स्थिति हो ।’

बेरोजगारी समस्याले आक्रान्त रहेका बेला युवा पुस्तालाई १०/१५ हजार तलबै दिएर समेत विप्लवले प्रयोग गरेको देखिएको विशेष ब्युरोमा कार्यरत् एक अधिकारी बताउँछन् । प्रहरी प्रधान कार्यालयसँग भएको रेकर्ड हेर्दा २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लागेपछि मात्रै ४१८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली सुदर्शनदेखि जनवर्गीय संगठनमा आबद्ध रसुवाली कविसम्म छन् । मुलुकभरका प्रहरी हिरासतमा अझै ११४ जना छन् । अदालतको आदेशपछि ५४ जना त पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

यो स्थितिमा पनि उपत्यकामा श्रृंखलाबद्ध बम विष्फोट गर्न सक्ने क्षमता देखाउनुले विप्लव समूह केही हदसम्म भए पनि शक्ति प्रदर्शनमा सफल भएको देखिएको छ ।

तर, एक उच्च प्रहरी अधिकारी भने पछिल्लो समय सरकारसँग पटक–पटक भएका अनौपचारिक वार्ताहरु असफल भएपछि विप्लवले आफ्नो सम्पूर्ण शक्ति राजधानीमा खर्च गरेको दाबी गर्छन् ।

‘काठमाडौंमा त्रास सिर्जना गर्न सकियो भने देशैभर प्रभाव पार्न सकिन्छ भन्ने समूहको नीति हो’, ती अधिकारीले दाबी गरे, ‘तर, धरापमा आफ्नै कार्यकर्ता परेपछि उनीहरुको यो प्रयोग फेल खाएको छ ।’

यो पनि पढ्नुहोस नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

सूचना विश्लेषणमा कमजोरी

आइतबार भएको विष्फोटले मुलुकको गुप्तचरी निकाय कमजोरीबारे बहस पुनः सतहमा ल्याएको छ । सूचना प्राप्ति मात्र होइन, प्राप्त सूचनाको सही विश्लेषणको पनि अभाव खड्किएको छ ।

किनकि, गुप्तचर विभागले केही अघि विप्लव समूहले काठमाडौं केन्द्रित गतिविधि सञ्चालन गरिरहेको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा बुझाएको थियो । तर, सही विश्लेषण र परिचालन हुन नसक्दा प्राप्त सूचना काम लागेन ।

यसका पछाडि गुप्तचरी संयन्त्रप्रति विश्वासको अभावले पनि काम गरेको देखिन्छ । अहिले आम जनमानसमा राष्ट्रिय अनुसन्धान विभागले पत्रिका सारेर रिपोर्ट पेश गर्ने गर्छ भन्ने छ । त्यसैले ‘राअवि’ सँग भएका सूचनालाई पनि राम्रोसँग विश्लेषण गरिँदैन ।

पछिल्लो पटक ‘राअवि’ले मुख्य सचिव लोकदर्शन रेग्मीलाई खामबन्दी गरेर दिएको रिपोर्टमा भनिएको छ, ‘काठमाडौंको अनामनगर, सुकेधारा लगायतको क्षेत्रमा विप्लव समूहको बैठक बसिरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले ‘राअवि’ले यो सूचना रेग्मीलाई दिएको स्रोतको दाबी छ । तर, रेग्मीबाट सूचना प्रवाहमा हेलचेक्र्याइँ भएको गुप्तचरका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment