Comments Add Comment

१ महिनामा ३ फिल्म किन चले ?

लगातार नेपाली चलचित्र चल्दै चल्देनन् भनेर टिप्पणी गरिन्छ । झन्, नेपाली चलचित्रका लागि दर्शक नै कम भए पनि भनिन्छ । गएको बर्ष पनि चलचित्र एक बर्षमा जम्मा ४ वटा चलेका थिए । यसैले, नेपाली चलचित्र एक–दुई महिना नचल्दा दर्शक हराएको सूचना नै जारी हुन्छ ।

तर, गएको १ महिनामा ३ वटा नेपाली चलचित्र बक्स अफिसमा चलेका छन् । १ महिनामै ३ वटा चलचित्र चल्दा दर्शकले राम्रै रकम खर्च गरेका छन् । तर, पनि रकम खर्च गर्न दर्शक तयार भएका छन् र हलमा आएका पनि छन् । चलचित्र राम्रो बनेको खण्डमा, चलचित्रले ब्रान्ड बनाएको खण्डमा चल्दो रहेछ र यसका लागि ग्याप पनि आवश्यक पर्ने रहनेछ भनेर यी चलचित्रले पुष्टी गरेका छन् ।

चैत्र २९ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा पैसा राम्रैसँग छाप्यो । यो चलचित्र केही सिंगल थिएटरमा ५१ दिन मनाउन सफल भएको छ । चलचित्रले ९ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको दाबी निर्माता सुनिलकुमार थापाले गरेका छन् । झरना थापा निर्देशित यो चलचित्र बक्स अफिसमा आक्रामक रुपमा चलेको थियो ।

यो चलचित्र चलेको ३ सातापछि रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ले मिश्रित प्रतिक्रिया पायो । चलचित्रको प्रतिक्रिया मिश्रित आएतापनि २ साता यो चलचित्रको व्यापार राम्रो रह्यो । निर्माता किरण केसीका अनुसार, उनी नेपालबाटै लगानी सुरक्षित गर्न सफल छन् । चलचित्रले डिजिटल, ओभरसिज राइट्स, ब्रान्डसँगको सहकार्यले नै रिलिज अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो । तर, चलचित्रको वर्ड अफ माउथ कमजोर भएपनि चलचित्रको टिमका कारण यसले २ साता राम्रै व्यापार गरेको थियो । निर्माणपक्षले अपेक्षा गरेअनुसारको व्यापार चलचित्रले गरेन । तर, चलचित्र हेर्न दर्शकको संख्या २ साता कमजोर थिएन ।

यो चलचित्र रिलिज भएको २ सातापछि रिलिज भएको ‘जात्रै जात्रा’को आक्रामक व्यापारको सिलसिला तेश्रो सातामा पनि रोकिएको छैन । चलचित्रले २ सातामै नेपालबाट लगानी सुरक्षित गरेर निर्माताको हातमा नाफा रकम दिन थालिसकेको छ । यसैले नेपालबाटै यो चलचित्रका निर्माताले राम्रो रकम कमाउनेछन् । दर्शकले ‘जात्रै जात्रा’को टिकट काट्नका लागि कुनै कञ्जुस्याँई गरेका छैनन् । यो चलचित्रले अधिकांश मल्टिप्लेक्समा यही रफ्तार कायम गर्यो भने सुखद ५१ दिनको व्यापार गर्नेमा दुइमत छैन ।

यसरी हेर्दा १ महिनाको अन्तरमा ३ वटा नेपाली चलचित्रले निर्माताको लगानी सुरक्षित मात्र गरेका छैनन्, नाफा पनि दिएका छन् । यो बर्षको सुरुवात सुखद भएको छ । अपेक्षा, बाँकी दिनमा पनि नेपाली चलचित्रले यस्तै व्यापार गरुन् भन्ने छ ।
तर, यसका लागि झुर चलचित्र बनाएर दर्शक भड्काउने काम गर्न भने हुँदैन । राम्रो चलचित्रमा दर्शक आएका छन् । यसका लागि दर्शकलाई केही समयको अन्तर नचाहिने पुष्टी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment