Comments Add Comment

मुख्य प्रशिक्षक बने पटवाल, नेपाललाई टी–२० विश्वकप खेलाउने लक्ष्य

१७ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमको नवनियुक्त मुख्य प्रशिक्षक उमेश पटवालले आफ्नो लक्ष्य नेपाललाई टी–२० विश्वकप खेलाउने भएको बताएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुन १० बाट लागू हुने गरी पटवालले मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उनको कार्यकाल एक वर्ष छ ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक पटवालले क्रिकेट कल्चर विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पहिला एसिया र त्यसपछि विश्वको क्रिकेटिङ नेशन बन्नुपर्ने भन्दै उनले भने, ‘टी–२० होस् कि ५० ओभर होस्, हामीले प्रतिस्पर्धात्मक खेल खेल्नुपर्छ ।’

नेपाललाई अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेलाउने आफ्नो लक्ष्य भएको बताए । यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भइसकेका उनले भने, ‘एक वर्षको सम्झौतामा छु । त्यसैले पछिसम्मको योजना बनाएको छैन ।’

पटवालको सम्झौता जुन १० बाट लागू हुनेछ । उनले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् ।

प्रशिक्षक पटवालले राष्ट्रिय टिमसँगै यू–१५ र १९ लाई पनि सँगसँगै अगाडि ल्याउनुपर्नेमा जोड दिए । यद्यपि आफ्नो कार्यादेशबारे राष्ट्रिय खेदकुद परिषद्ले जानकारी दिन बाँकी रहेको बताए ।

नेपालका कप्तान पारस खड्काले पटवालको नियुक्तिमा खुसी व्यक्त गरे । प्रशिक्षक र खेलाडीको मेहनतले नेपाली क्रिकेट यहाँसम्म आएको र अब अगाडि बढ्न विशेषज्ञ प्रशिक्षकहरु चाहिएको भन्दै उनले भने, ‘यो सुरुवात मात्र हो । प्रशिक्षक आउँदैमा आजको भोलि सबथोक हुँदैन । तर, अहिलेका लागि खुसी छौं ।’

टिममा अझै बलिङ र फिल्डिङ प्रशिक्षक चाहिने भन्दै उनले यसबारे मुख्य प्रशिक्षक पटवालले आईसीसीसँग छलफल गर्ने जानकारी दिए ।

सदस्य सचिव आएनन्

शुक्रबार राखेप र नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालबीच सम्झौता पनि गर्ने कार्यक्रम थियो । तर अन्तिम समयमा राखेप सदस्य सचिव केशवकुमार विष्ट अनुपस्थित भए । विष्ट अनुपस्थित भएपछि लिखित सम्झौता हुन सकेन ।

को हुन् पटवाल ?

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा ब्याटिङ कन्सलट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटमा पनि आईसीसीले ब्याटिङ कन्सलट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा अफगानिस्तान टिमको ब्याटिङ प्रशिक्षक थिए ।

टिमसँग परिचित भइसकेको र खेलाडीहरुमा क्रिकेट खेल्ने भोक भएकाले नेपाल आएको पटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment