Comments Add Comment

भीम रावलको प्रश्न : धर्म प्रचारक विश्वविद्यालयलाई किन प्राथमिकता दिएको ?

२० जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै आलोचना गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय उल्लेख भए पनि सरकारले व्यवहारमा कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरे ।

‘बजेटमा यो कुरा आइरहँदा एउटा धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता किन पाउँछ, विगतमा नेपालको संस्कृतिमाथि प्रहार गरेको आरोपमा जो सँगको सम्झौता रद्द भएको थियो । बजेटमा यस्तो कार्यक्रम आइरहँदा बाहिर त्यस्तो सम्झौता किन हुन्छ’ उनले प्रश्न गरे ।

केही दिनअघि त्रिविले कोरियाको काङनाङ विश्वविद्यालयसँग पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदान प्रदान गर्ने सम्झौता गरेको थियो । उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।

रावलले बजेटमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा जोड दिने विषय उल्लेख गर्ने तर व्यवहारमा पोखरामा संयुक्त सैन्य अभ्यास गर्ने कार्यबीच तालमेल नमिलेको बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा हाम्रो देशको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षामा जोड दिने कुरा (बजेटमा) राखिएको छ, यो एकदम राम्रो कुरा हो । तर यहाँ बजेट प्रस्तुत भइरहँदा पोखरामा अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास किन हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले अमेरिकी राजदूतले कुटनीतिक मर्यादाविपरीत राजदूतसँग गफगाफ कार्यक्रम गरिरहेको भन्दै सरकारले किन रोक्न नसकेको भनी प्रश्न गरे । ‘कुनै देशको राजदूतले भियना अभिसन्धीको विरुद्धमा खुलेआम किन काम गर्छ किन नियन्त्रण हुँदैन ?’ रावलले सोधे ।

नेता रावलले बजेटमा उल्लेख गरेका विषय व्यवहारमा पनि कार्यान्वयन गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment