Comments Add Comment

बिहीबारदेखि हिमालयन ट्राभल मार्ट

२० जेठ, काठमाडौं । तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारबाट राजधानीमा शुरु हुने भएको छ । तीन दिनसम्म चल्ने मार्टलाई नेपालले सन् २०१७ देखि निरन्तर आयोजना गरिरहेको छ ।

नेपाललाई हिमालयन क्षेत्रको प्रवेशद्धारको रुपमा परिचित गराउने उद्देश्यले आयोजना हुने ट्राभल मार्टको तयार पुरा भएको सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ-संस्थाको समन्वयमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले यो मार्ट सञ्चालन गर्दै आएको छ ।  यसअघि सम्पन्न दुई संस्करणको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार-प्रसार तथा प्रवर्द्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ ।

देशको ब्राण्डिङ गर्दै ट्राभल मेला

हिमालय ट्राभल मार्ट देशको ब्राण्डिङ्गमा महत्वपूर्ण इभेन्ट सावित हुँदै गएको पाटाको भनाई छ । मेलामा ‘बी-टु-बी’ कार्यक्रम आयोजना गरिन्छ । यस प्रकारको कार्यक्रमले पर्यटन प्रर्वद्धन तथा विश्वभरका व्यवसायी बीच सञ्चाल विस्तार गर्न सहयोग पुग्ने गरेको छ ।

हिमालयन राष्ट्रबाट विक्रेता तथा विश्वब्यापी क्रेतालाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान-प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार गर्ने उद्देश्यले मेला आयोजना भएको बताइएको छ ।

यसपटक बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्पापी क्रेता कम्पनी र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले भाग लिने आयोजकको भनाई छ ।

मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधीले समेत सहभागिता जनाउने छन् । आयोजकका अनुसार मार्टमा नेपालसहित ४३ देशका करिब ७ सय जनाले माग लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment