Comments Add Comment

प्रचण्ड–ओली विवाद : कहाँ पुगेर टुंगिएला ?

२० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्वन्ध ‘प्रेमजोडी’ को जस्तै छ । उनीहरु कुनैबेला एकअर्कामा समाहित भएझैं हुन्छन्, कुनैबेला छुट्टिन लागेझैं देखिन्छन् ।

पछिल्लोचोटि जेठ १५ मा प्रकाशित एउटा अन्तर्वार्तापछि ओली–प्रचण्डको प्रेममा दरार आएजस्तै देखिएको छ । उनीहरुले एकअर्काप्रति शंका गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीलाई लागेको छ, बजेट ल्याउन पाएको छैन, म विदेशमा भएका बेला सरकार छाड्ने सहमति उछालेर प्रचण्डले गर्न खोजेको के हो ? मलाई कमजोर बनाउन खोजेको ?

अर्का अध्यक्ष प्रचण्डलाई लागेको छ, सरकारमा एकलौटी गरेर गर्न खोजेको के हो ? पार्टीको सांगठानिक एकता पूरा हुन नपाउँदै जबजको एजेण्डा किन उछालिँदैछ ? केपी ओली पार्टी एकता घोषणा गर्नुअघि भएको सहमतिप्रति प्रतिवद्ध छन् ?

नेकपा स्रोतका अनुसार आइतबार बालुवाटारमा झण्डै तीनघन्टा ‘वान टु वान’ कुराकानी गर्दा दुबै नेताले एकअर्काको आशंका प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले मैले अहिले नै सरकार छाड्नुपर्ने हो र भन्ने प्रश्न गरेका छन् । जवाफमा प्रचण्डले सहमति कार्यान्वयन होस् भन्ने मात्र भनेको हुँ भनेका छन् ।

तर, दुई नेताको मन माझमाझ भइसकेको छैन । त्यसैले सोमबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । सोमबार पनि केपी ओली र प्रचण्ड फेरि ‘वान टु वान’ बसेका छन् ।

प्रचण्ड–ओली प्रेम श्रृंखला

एकअर्काका कटू आलोचक मानिएका केपी शर्मा ओली र प्रचण्डले १७ असोज ०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरेका थिए । यो धेरैका लागि ‘सरप्राइज’ थियो । कतिपयले भने यसलाई दुबैको स्वार्थ मिलेकाले हुन पुगेको मिलनको संज्ञा दिएका थिए ।

आम चुनावमा गठबन्धनले प्रष्ट बहुमत भयो र केपी शर्मा ओली ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । ३ जेठ ०७५ मा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेको घोषणा भयो । एक वर्षपछि जनवर्गीय संगठनसम्म एकता टुंगो लाग्यो ।

यो बीचमा धेरैपटक ओली र प्रचण्ड कहिले निकै नजिक भए त कहिले टाढिए । पछिल्लो पटक १५ जेठमा प्रचण्डको एउटा अन्तर्वार्ताले दुई नेतालाई केही टाढा पुर्‍याएको छ ।

प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहणका लागि दिल्ली पुगेका बेला प्रसारित अन्तर्वार्तामा प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको स्मरण गरेका थिए । जवाफमा ओलीले सहमतिलाई अनावश्यक उछाल्नु नेपालको ‘राजनीतिक स्तर’ भएको टिप्पणी गरे ।

तर, नेकपा नेताहरुका अनुसार यो अन्तर्वार्ता एउटा माध्यम मात्र बनेको हो, पछिल्लो समय दुई नेताबीच भित्रभित्रै दुरी बढेको थियो, अन्तरवार्ताले त्यो दुरीलाई सतहमा ल्यायो ।

भुसको आगोझैं थियो असन्तुष्टि

पार्टी एकताको सुरुवाती दिनमा ओलीलाई दह्रो साथ दिएका प्रचण्ड पछिल्लो समय ओलीको कार्यशैलीसँग सन्तुष्ट थिएनन् ।

सरकारमा एकलौटी गरेको, पार्टी सञ्चालन प्रभावकारी नभएको, आफ्नो भूमिका कमजोर बनाएको लगायतका विषयलाई लिएर प्रचण्ड अर्का अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । त्यसमाथि रक्षामन्त्री ईश्वर पोखरेलमार्फत जबजको बहस सुरु गर्नु र रामबहादुर थापा बादललाई आफूतिर तानेर गुट बनाउन खोजेपछि प्रचण्ड ओलीसँग झस्किएका हुन् ।

यसैवीच प्रधानमन्त्री ओली डाबोसमा रहेका बेला भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य आयो । त्यससँगै सचिवालय कमिटीका ५ नेताहरुले गोप्य बैठक बसेर केपी ओलीको विरोध गरेको खबर पाएपछि प्रधानमन्त्री ओली झस्किए ।

यी परिघटनाहरुलाई हेर्दाखेरि प्रचण्डमात्र नभएर वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का नेता झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको पनि असन्तुष्टि मिसिएको स्पष्ट हुन्छ । चारै नेताहरु सांगठिनक एकता, सरकारको कामकारवाही लगायतमा ओलीसँग असन्तुष्ट रहँदै आएका थिए, जसमा प्रचण्डसमेत ध्रुवीकृत भए ।

एकता प्रक्रियामा गुटगत सौदाबाजी

स्रोतका अनुसार यसवीचमा सांठगनिक एकताबारे पाँच नेताबीच थुप्रै पटक छलफल भएको छ । जिल्ला अध्यक्ष र सचिवहरुको चयन मापदण्ड बनाएर गर्ने कदम त्यही छलफलको परिणाम भएको नेताहरु स्वीकार गर्छन् । यसमा धेरै चासो माधव नेपाल समूहको थियो ।

एक नेताका अनुसार सुरुमा महासचिव विष्णु पौडेलले तयार पारेको ‘रोस्टर’ अनुसार भएको भए दुई जिल्लाको अध्यक्ष (इलाम र सिन्धुपाल्चोक) मात्रै माधव नेपाल समूहले पाउने अवस्था थियो ।

किनकि बादल र महासचिव पौडेलले सांगठानिक एकताबारे गृहकार्य गर्न बनेको कार्यदल योजनावद्ध रुपमा भंग गराएको गुनासो प्रचण्ड पक्षधर नेताहरुको छ । यद्यपि ५ नेताले फरक प्रतिवेदन बनाएर बुझाएका थिए ।

तर, मापदण्ड बनाउनुपर्ने माधव नेपाल समूहको अडानमा प्रचण्डले साथ दिए । यसले नेपाल समूहलाई कम्तीमा १६/१७ जिल्लाको अध्यक्ष र २३/२४ जिल्लाको सचिव दिलायो ।

जनवर्गीय संगठनको संयोजक तथा सहसंयोजक तोक्दा पनि अपवादबाहेक मापदण्ड कायम रह्यो । अहिले अब विभाग प्रमुख तथा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने बेला भएको छ । र, यसमा कुन समूहले आफ्ना मान्छे कति घुसाउने भन्ने रस्साकस्सी चलिरहेको छ ।

यसमा ५ नेताको लगातार सम्वाद भइरहेको छ र त्यसलाई काउन्टर गर्न ओली समूहले ईश्वर पोखरलमार्फत जबजको बहस सुरु गरेको पूर्वमाओवादी समूहको बुझाइ छ ।

अहिले ओली पक्षले जबजको नारा अघि सार्नुका पछाडि प्रचण्डतिर ढल्किएका माधव नेपाललाई प्रचण्डसँग टाढा बनाउने उद्देश्यले काम गरेको सो समूहका नेताहरु बताउँछन् । साथै जबजका नाममा मदन भण्डारी फाउन्डेसनमार्फत देशभर गुट बनाउने प्रयास ओली समूहबाट भइरहेको पनि असन्तुष्ट समूहको आरोप छ ।

यी सबै परिघटनाहरुले प्रचण्डलाई २ जेठमा भएको सहमति (आलोपालो सरकार) पालना हुनेमा शंका लागेको छ । र, यही शंकाले गर्दा उनले आलोपालो सरकारको प्रशंग मिडियामा ल्याएको नेकपाभित्र विश्लेषण हुन थालेको छ ।

विभाग र जिल्ला इञ्चार्जमा गृहकार्य

अब बस्ने सचिवालय बैठकले संगठन विभाग, अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग लगायतका विभागका इञ्चार्जहरुको टुंगो लगाउनुपर्ने कार्यसूची छ । यसका साथै जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरुको पनि टुंगो यही सचिवालय बैठकले लगाउने नेकपाको तयारी छ ।

संगठन विभागमा वामदेव गौतम र बादलको नाम आएको छ भने अन्तरराष्ट्रिय विभागको जिम्मेवारी माधव कुमार नेपाललाई दिन दुबै पक्ष लगभग सहमत देखिएका छन् । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको चर्चा छ ।

आइतबार र सोमबार अध्यक्षद्वय प्रचण्ड र ओलीवीच यीनै विषयमा पूर्वसहमति जुटाउने प्रयास भएको बताइए पनि ‘सरकारको आलोपालो’ वाला लफडाले एकीकरण प्रक्रियामा अवरोध पु¥याएको नेताहरु बताउँछन् ।

कहाँ पुगेर टुंगिएला विवाद ?

नेकपाको एकीकरण घोषणा हुनुपूर्व ओली र प्रचण्डवीच आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सम्झौता भएको प्रचण्डले अन्तरवार्तामार्फत सार्वजनिक अभिव्यक्ति दिएपछि दुई अध्यक्षवीचको सम्बन्धमा चिसोपन देखा परेको हो ।

यद्यपि प्रचण्डले आलोपालोको लिखित सहमतिबारे बताइरहँदा सरकारको परफरमेन्स राम्रो भयो र पार्टीको जिम्मेवारी आफूले पाइयो भने केपी ओलीले पाँचै वर्ष प्रधानमन्त्री चलाउन सक्ने बताइरहेका छन् ।

यो स्थितिमा अब नेकपाभित्र के होला भनेर विभिन्नखाले विश्लेषणहरु हुन थालेका छन् । जस्तो केपी ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिएर आफ्नो ५ वर्षे कार्यकाल सुरक्षित गर्न सक्ने एकथरिको अनुमान छ । एकथरिले चाहिँ ओलीले अध्यक्ष पनि नछाड्ने, प्रधानमन्त्री पनि पाँचै वर्ष नछाड्ने विश्लेषण गरिरहेका छन् ।

एकैछिनलाई मानौं, प्रचण्डले भनेजस्तै केपी ओलीले पार्टी सम्हाल्ने जिम्मा प्रचण्डलाई दिएर पाँच वर्षे कार्यकालमा प्रचण्डसँग पुन सहमति गरे भने के होला ? त्यो स्थितिमा अबको एक वर्षपछि पार्टीको महाधिवेशन हुन सक्छ र त्यसपछि जसले जित्छ, उनही अध्यक्ष बन्ने अवस्था आउँछ । प्रचण्डले महाधिवेशनमा अध्यक्ष जिते त ठीकै छ, जितेनन् भने उनका हातमा न प्रधानमान्त्री आउने छ, न अध्यक्ष ।

पार्टीएकतापूर्व भएको आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्ड आफैं नरम बनिसकेका छन् । उनले अध्यक्षको जिम्मेवारी आफूले पाए ओलीलाई ५ वर्ष दिने भनिसकेका छन् । त्यसैले केपी ओली नै अब पाँच वर्षसम्म प्रधानमन्त्री रहने सम्भावना बढेको उनी निकट कतिपय नेताहरुको विश्लेषण छ ।

रोचक त के छ भने पाँच भाइको सहकार्य हुन थालेको भनिए पनि अर्का नेता माधव कुमार नेपालले आइतबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरिसकेपछि अब पाँचै वर्ष केपी ओली प्रधानमन्त्री हुने प्रतिक्रिया मिडियामा दिन थालिसकेका छन् । आलोपालो प्रधानमन्त्रीको सहमतिबारे आफूलाई थाहा नभएको माधव नेपालको प्रतिक्रिया सोमबारका राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएको छ ।

यो स्थितिमा नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेर टुंगिएला भनेर सहजै विश्लेषण गर्न सकिने अवस्था छैन । प्रधानमन्त्री ओलीले प्रचण्डमाथि रीस फेर्न माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउने आश्वासन दिए भने त्यो अनौठो हुने छैन ।

तर, केपी ओलीलाई पनि पार्टी र सरकारमा हावी भइरहन सजिलो चाहिँ छैन । प्रचण्ड वा माधव नेपालमध्ये एकजनालाई विश्वासमा लिन नसकेको अवस्थामा सचिवालय र स्थायी कमिटीमा पनि ओलीले बहुमत गुमाउने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment