Comments Add Comment

गगनको प्रश्न : सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी ?

२१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बाआमाले हजार रुपैयाँ र निर्वाचन क्षेत्रमा २ करोड दिने कार्यक्रमलाई आफ्ना कामका रुपमा स्थापित गर्न खोजेको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै थापाले रुपान्तरणको विउ रोप्छ भन्ने नागरिकको अपेक्षाअनुसार बजेट नआएको बताए । बहुमत प्राप्त कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सक्दैन भन्ने प्रश्न गरे ।

खतिवडालाई कम्युनिस्टसँग भएको विद्वान अर्थमन्त्री भन्दै उनले भने, ‘यसबाट देशले के पायो त ? बा आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रमा २ करोड । यही काममा नाम राखेर सन्तोष मान्नु खोज्नु भएको भए मेरो भन्नु केही छैन ।’

बजेटलाई समर्थन गर्न सरकारी सांसदहरुबीच तछाडमछाड देख्दा सकिए साथीहरु भनेर प्रतिपक्षीलाई खुसी लागेको बताए । ‘तर नागरिक भएर सोच्छु अझै तीन वर्ष यो सरकारले बजेट ल्याउनु छ । खेर जाने भयो तीन वर्ष’ उनले अघि भने ।

सांसद थापाले अर्थमन्त्रीलाई प्रश्न गरे, ‘म सांसद भएर खुसी होउ कि नागरिक भएर दुःखी ?

बालुवाटारको जग हल्लाउने सांसद

थापाले नेकपा महासचिव विष्णु पौडेललाई पनि जवाफ दिए । सांसद पौडेलले बृद्धभत्ताको औपचारिक रुपमा गर्न विरोध प्रमुख विपक्षीलाई चुनौती दिएका थिए ।

बालुवाटारको जग नै हल्लाउने तागत राख्ने सांसद भन्दै उनले भने, बृद्ध भत्ताबारे बोल्ने मेरो हिम्मत छ ।’ शेरबहादुर देउवाको चुनावी सरकारले बृद्धभत्ता ५ हजार पुर्‍याउँछु भन्दा विरोध गरेको मात्र होइन, भत्ता पाउने आधार वर्ष ७० लाई बनाउनुपर्छ भनेर आफूले संशोधन हालेको उनले स्मरण गरे ।

उनले अघि भने, ‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन, गैर नगदको प्रवन्धबाट ३ हजार मात्र होइन, ३० हजार बनाउने बहस गर्नु बान्छनीय छैन ।’

मन्दिरको पर्खाल बनाउन ६ करोड नदेऊ

कांग्रेस सांसद थापाले सांसद कोषमा ६ करोड दिएकोमा समेत विरोध गरेका छन् ।

प्रत्यक्ष निर्वाचित सांसद भएकाले विकासको माग आफूलाई पनि थाहा भएको तर, ६ करोड होइन, ६ अर्बको नीति कार्यक्रम र योजनासँग जोडिन चाहेको उनले बताए । अर्थमन्त्रीले मन्दिरको पर्खाल बनाउन, पाटीपौवा बनाउन ६ करोड दिएर बाँकी योजनाबाट अलग गर्ने खोजेको भन्दै उनले विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment