Comments Add Comment

फेरि हार्‍यो अफगानिस्तान, श्रीलंका विजयी

२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको हो ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।


अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका नुवान प्रदीपले ३१ रन खर्चेर चार विकेट लिए । लासिथ मालिंगाले तीन विकेट लिए । आफ्नो वन डे करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर मात्रै बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । ७ जना ब्याट्सम्यानले त दोहोरो अंकको स्कोर नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको छ । यसअघि भएको खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । यता, अफगानिस्तानले भने लगातार दोस्रो खेलमा पनि हार ब्यहोरेको छ । यसअघि अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment