Comments Add Comment

सूर्य थापालाई खुलापत्र

प्रिय कमरेड सूर्य थापा, हार्दिक एवम् न्यानो अभिवादन !

तत्कालीन जनयुद्धलाई समर्थन गरेवापत मारिएका पत्रकार कृष्ण सेन इच्छुकका नाममा स्थापित पत्रकारिता पुरस्कारवाट केही दिनअघि मात्र सम्मानित हुनुभएकोमा हार्दिक वधाई ज्ञापन गर्दछु ।  खोज, अध्ययन र अनुसन्धानमा आधारित तपाईका आधा दर्जन पुस्तक मैले पनि पढ्ने मौका पाएको छु । पत्रपत्रिकामा प्रकाशित लेख रचना र अन्तर्वार्ता पनि प्रायसः हेर्ने गरेको छु । हिजो मुलुकमा राजतन्त्र विरोधी आन्दोलन चलेको बेला तपाईले लेखेको ‘विश्वमा राजतन्त्र : उत्थान र पतन’ भन्ने पुस्तक आम गणतन्त्रवादीहरुका निम्ति महत्वपूर्ण सन्दर्भ सामाग्री बनेको थियो । यसर्थ, पत्रकारिता पृष्ठभूमिवाट आएको एउटा अध्ययनशील राजनीतिककर्मीका रुपमा तपाईले उठाउने गरेका विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्ने गरेको छु ।

पछिल्लो कालखण्डमा खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेयताका तपाईका केही प्रतिनिधि टिप्पणीउपर सार्वजनिकरुपमा नै छलफल गर्नु आवश्यक ठानेर यो खुलापत्र लेख्दैछु ।

किनभने, यतिबेला तपाईका तीखा टिप्पणीले नेकपा भित्रको राजनीति तरंगित हुन थालेको छ । कुनैबेला तपाई पत्रकार बढी र राजनीतिकर्मी कम हुनुहुन्थ्यो । तर पछिल्लो कालखण्डमा तत्कालीन एमाले हुँदै नेकपाको केन्द्रीय सदस्य भएपछि स्वभावैले पत्रकारभन्दा बढी राजनीतिकर्मी हुनुभएको छ । शायद त्यसैले तपाईका टिप्पणीहरुमा आम पार्टी पंक्तिको ध्यान जाने नै भयो ।

सुरेन्द्र बस्नेत

लेख, रचना, भाषण र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका तपाईका पछिल्ला टिप्पणीहरुसँग सहमत हुन सकिँदैन । पार्टी एकता भैसकेर नेकपा बनिसकेपछि तपाई  तत्कालीन माओवादीद्वारा सञ्चालित जनयुद्धबारे लेख्नुहुन्छ – ‘१७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो । त्यसैले उनीहरूका लागि यो जनयुद्ध  नभएर काल पो बनिदियो ! देशको खर्बौंखर्बका भौतिक संरचना ध्वस्त पारियो र नयाँ निर्माण हुन दिइएन । फलतः देश नै ५० वर्ष पछाडि धकेलिन पुग्यो । यस हिसाबले यो जनयुद्ध नभएर नेपालको सर्वविनाश थियो ।’

नेपालमा तत्कालीन माओवादीद्वारा सञ्चालित जनयुद्धलाई हेर्ने ब्यक्तिहरुका आ-आफ्नै दृष्टिकोण होलान् । तर, म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विषयमा कुरा गर्दैछु । कमरेड सूर्य थापालाई गत आमनिर्वाचनमा वाम गठवन्धनको साझा घोषणापत्रमा उल्लेखित तपशील विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । ‘मुलुकमा यो ऐतिहासिक परिवर्तन ल्याउन शान्तिपूर्ण तथा सशस्त्र संघर्षहरु, झापा विद्रोह तथा माओवादी जनयुद्ध एवम् मधेसी, जनजाति, आदिवासीलगायत उत्पीडित समुदायले चलाएका संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं, घाइतेलाई अभिवादन गर्दर्छौं ।’

कमरेड थापालाई म के प्रष्ट पार्न चाहन्छु भने माओवादी जनयुद्ध र सहिद वेपत्तालाई उच्च सम्मान गरेकै घोषणापत्रलाई नेपाली जनताले झण्डै दुई तिहाइले अनुमोदन गरिसकेका छन् । राजनीतिक प्रतिवेदन लेखन कार्यदलले सर्वसम्मत टुंगो लगाएर केन्द्रीय सचिवालयले पनि सर्वसम्मत अनुमोदन गरिसकेको नेकपाको मूल राजनीतिक दस्तावेजले पनि माओवादी जनयुद्ध र समाजमा त्यसको योगदानलाई स्पष्ट पारेको छ ।

त्यतिमात्र हैन, नेपालको संविधानको प्रस्तावनामा समेत उक्त सशस्त्र संघर्ष र त्यसमा सहादत प्राप्त गर्ने र वेपत्ता हुनेहरुको उच्च सम्मान गरिएको छ । त्यसैले प्रिय कमरेड ब्यक्तिगत रुपमा तपाईलाई माओवादी जनयुद्ध वा हिजोका माओवादी नेता कति मन पर्छन् या पर्दैनन् यो फरक विषय हो । तर, पार्टीको संस्थागत निर्णय बोकेर हिँड्नु र त्यो परिवर्तन नहुँदासम्म मानेर जानु तपाई हामी सबैको साझा दायित्व बनेर आउँछ ।

‘गुरिल्ला आन्दोलनको नेतृत्व गरेको अनुभवको ऐठन होला ! प्रधानमन्त्री हुन मन लाग्यो अनि जंगल !’ कार्ल मार्क्स जयन्तीको दिन प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बोलेको एउटा स्पिरिटलाई लिएर सामाजिक सञ्जालमा तपाईले यस्तो टिप्पणी गर्नुभयो ।

संयोगवस उक्त दिन अध्यक्ष प्रचण्डको र अरु सबै नेताहरूको मन्तव्य यस पंक्तिकारले पूरै सुनेको थियोे । थापा कमरेडले भनेको आशय त्यस मन्तव्यमा विल्कुलै थिएन । एउटा अंश टिपेर समाचार विकाउन वा हल्लाखल्ला मच्चाउनेहरुका लागि एउटा मसला त पक्कै भयो । तर, विषय त्यस्तो विल्कुल थिएन । त्यहाँनेर प्रचण्डभन्दा अघि बोल्ने वक्ताहरुले अबको समाजवादी यात्रामा अघि बढ्दा के नेताहरुले आफूले खाइपाइ आएका सुविधा छाडेर आन्दोलनको रथ हाँक्न सक्छन् त ? भन्ने प्रश्न जोडदार उठाएका थिए । त्यही भावभूमिमा एउटा क्रान्तिकारी स्पिरिट राख्ने क्रममा ‘म त तयार छु है, आवश्यक परे जंगल जान पनि सकिन्छ ।’ भनेर भनेको विषयलाई पार्टीको एउटा जिम्मेवार केन्द्रीय सदस्यले ३ सय साठी डिग्रीमा विषयान्तर गर्नु आवश्यक हुँदैन ।

राजनीति र गणितबीचको सम्वन्ध र भिन्नताबारे तपाई जत्तिको विद्वानलाई भनिरहनु पर्ने विषय होइन । हेक्का रहोस् राजनीतिभित्र गणित पनि होला । तर, सबै गणितहरु राजनीति हुँदैनन्

एकीकृत पार्टीका जिम्मेवार नेता वा कार्यकर्ताले तत्कालीन माओवादी जनयुद्धलाई कसरी हेर्ने भन्ने विषयको चर्चा माथि नै भैसक्यो । जहाँसम्म ‘प्रधानमन्त्री हुने मन लाग्यो’ भन्ने टिप्पणी छ यो कतैबाट पनि युक्तिसंगत देखिँदैन । वास्तवमा बुझ्न के जरुरी छ भने यो एकताको अभियान प्रधानमन्त्री हुन मन लागेर चलेको होइन । बरु प्रधानमन्त्री हुने मन त्यागेर भएको हो भन्ने बुझ्नु जरुरी छ । किनकि प्रचण्डसँग समर्थक फेरिफेरि प्रधानमन्त्री हुने प्रचुर सम्भावना त अरु बाटोबाटै बलियो थियोे ।

प्रचण्ड जीवनमा कहिल्यै प्रधानमन्त्री नभएका व्यक्ति पनि होइनन् । यसरी विषयलाई अनावश्यक ढंगले उछालेर व्याख्या गरिनु हुँदैन । प्रचण्ड आफू दुईपटक प्रधानमन्त्री भएका मात्र हैनन् । माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदाका प्रस्तावक पनि हुन् । त्यसैले न्यूनतम पदीय गरिमा र ओजभन्दा तल ओर्लिएर टिप्पणी गर्न हतार नगरे कसो होला ?

पछिल्लो चरणमा मोटामोटीरुपमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा नेकपाको एकता प्रकृया करिब सकिएको छ । तर, करिव ९८ प्रतिशत एकता सकिएपछि कमरेड सूर्य थापालाई बल्ल भागबण्डाको नयाँ सूत्र फुरेछ । अनि लेख्नुभयो, ‘गत निर्वाचनमा पूर्ववर्ती एमालेको ७१ प्रतिशत र पूर्ववर्ती माओवादीको २९ प्रतिशत मत हो । नेकपामा यही आधारमा हिस्सा निर्धारण गर्नु न्यायसंगत हुन्छ ।’

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको लिखित सहमति बाहिरिने बित्तिकै तपाईको यो आवेशात्मक भनाइ प्रकाशमा आयो । थापाज्यू राजनीति र गणितबीचको सम्वन्ध र भिन्नताबारे तपाई जत्तिको विद्वानलाई भनिरहनु पर्ने विषय होइन । हेक्का रहोस् राजनीतिभित्र गणित पनि होला । तर, सबै गणितहरु राजनीति हुँदैनन् । तत्कालीन नेकपा (माले) को तर्फबाट मार्क्सवादीसँग एकता गर्दा मदन भण्डारीले प्रतिशतको गणित हैन वाम राजनीतिको भविष्यको लेखाजोखा गरेका थिए ।

सहमति गर्दा नखसेको आकाश, त्यो सार्वजनिक हुँदा पनि खस्दैन । सहमति गर्दा नभासिएको धर्ती त्यो बाहिर आउँदा पनि भासिहाल्दैन ।

सहमतिका हस्ताक्षरकर्ताहरुले अहिलेसम्म त्यसको आधिकारिकतामा प्रश्न पनि उठाएका छैनन् । दुई अध्यक्षले गरेका सहमति हामीलाई थाहा छैन भन्ने हो भने त हामी धेरै पछाडि फर्कनुपर्ने  हुन्छ । दुई अध्यक्षले गर्दैमा पार्टी एकता हुन्छ र भनेर उही पूर्वएमाले वा पूर्वमाओवादी भन्ने ठाउँमा हामी पुग्छौं । मेरो आदरणीय नेता ज्यूलाई त्यो यात्रामा नलाग्न आहृवान गर्न चाहन्छु ।

जहाँसम्म पार्टी एकताको सवाल छ, यो कसैले कसैमाथि जबर्जस्त थोपरेको विषय होइन । कुनै एउटा पक्षको मात्र चाहनाले भएको पनि होइन । ०४६ सालयताका तीन दशकमा  साविक एमालेले कहिल्यै एकपटक पनि बहुमत ल्याउन सकेको थिएन । साविक माओवादीले पनि चुनाव वा विद्रोहबाट पूर्ण सत्ता जित्न सकेन । एकतापछि  आज चुनावबाट एकीकृत  नेकपाले करिब दुई तिहाइ सिट प्राप्त गरेको छ । एकताको साझा मनोविज्ञानबाट दुवै दलभन्दा बाहिरका लाखौंलाख नयाँ मतदाता पनि थपिएका छन् ।

एकता दुवैको आवश्यकता हो । मुलतः जनता र राष्ट्रको आवश्यकता हो । यसलाई कमजोर पार्ने र अवमूल्यन गर्ने काम काँही कसैले नगरौं । यतिबेला नेकपामा एकता तोड्ने हैन, जोड्ने कर्मीहरुको खाँचो छ । थापा कमरेड हिजोआज तपाई पत्रकार हैन पार्टीको नेता हो, त्यो पनि पूर्व एमालेको हैन, नेकपाको हो । समस्त नेकपा मन र जनहरुको साझा नेता बन्ने प्रयास गर्नुस् भन्ने शुभेच्छासहित पत्र बिट मार्छु । लालसलाम !!

(बस्नेत नेकपानिकट विद्यार्थी संगठनका नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment