Comments Add Comment

बुटवलमा बन्दैछ ४० किलोमिटर लामो चक्रपथ

२२ जेठ, बुटवल । बुटवलमा ४० किलोमिटर लम्बाइको चक्रपथ निर्माणले तीव्रता पाएको छ । बुटवल उपमहानगरपालिकाले ऐतिहासिक सम्पदा जितगढी किल्ला, पुरातात्विक शहरका रुपमा विकास गर्न लागिएको पुरानो बुटवल हुँदै तिनाउ र दानव नदी वारीपारीका सबै क्षेत्रहरुलाई सडक सञ्जालमा जोड्ने लक्ष्यसहित चक्रपथ निर्माण गर्न लागेको हो ।

बुद्धबल्लीको जितगढी हुँदै लुम्बिनी तथा भैरहवा विमानस्थलसम्मका सीधा सडकहरु र आन्तरिक बाइपासहरुलाई पनि जोड्ने गरी चक्रपथ निर्माण भइरहेको बुटवल नगर प्रमुख शिवराज सुवेदीले बताए ।

‘आउदो दशैंसम्ममा नगर बस सञ्चालन गर्नेगरी चक्रपथ निर्माणको काम चलिरहेको छ,’ सुवेदीले भने, ‘चक्रपथमा हरियालीसहितको पदमार्गसमेत बनाउने योजना छ ।

चक्रपथको पहिलो चरणको कामका लागि ५० करोड लागत अनुमान गरिएको छ । नगर यातायात गुरुयोजना भने कम्तिमा डेढ अर्ब बराबरको छ । चक्रपथको हालसम्म ३० प्रतिशत काम पूरा भइसकेको र ट्रयाक खोल्दै पिच र ग्राभेलका काम चलिरहेका छन् ।

करिब १२ वटा कल्भर्टमध्ये अहिलेसम्म छ वटाको निर्माण पूरा भइसकेको छ । दुई ठूला नदीमा पुल निर्माण भइसकेका छन् भने सेमलारमा पुल निर्माणको काम चलिरहेको छ ।

कम्तीमा दुई वर्षभित्र चक्रपथ निर्माण पूरा गर्ने गरी काम भइरहेको उपमहानगरका योजना प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले बताए ।

प्रदेश सरकारले भने एउटै योजनामा दुई वटा सरकारको थोरै–थोरै बजेट लगाउनुभन्दा एउटै सरकारले सम्पन्न गर्ने गरी काम गर्ने इच्छा देखाएको श्रेष्ठको भनाइ छ ।

कहाँ–कहाँ जोडिन्छ चक्रपथ ?

गोलपार्कबाट सुरु हुने चक्रपथ पुरातात्विक सहरका रुपमा संरक्षण भइरहेको पारी बुटवल हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्र, जितगढी हुँदै चुरेको फेँदीबाट जबई मैदानसम्म पुग्ने छ ।

गोलपार्क पुलचोकमा नयाँ पक्की पुल निर्माण कार्य पूरा भइसकेको छ भने त्यसबीचमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माण भइसकेका छन् । जबई मैदानलाई बुटवलले प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइरहेको छ ।

जबई खेल मैदानमा पुगेको चक्रपथलाई मिलनपार्क हुँदै बुटवल ग्लोबल पीसपार्कसम्म पुर्‍याइने छ । यी दुवै यहाँका शान्ति र मनोरञ्जनका महत्वपूर्ण क्षेत्रका रुपमा विकास भएका पार्कहरु हुन् । मिलन पार्कलाई उपमहानगरकै नमूना पार्क बनाउने गरी काम भइरहेको वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदी बताउँछन् ।

पिसपार्कबाट अगाडि बढेको सडक सोइलहार, सैनामैना नगरपालिकाको सिमाना कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने छ । कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ भने सोही ठाउँमा बुटवल उपमहानगर र सैनामैनालाई जोडेर केन्द्रीय स्तरको कृषि उपज केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनिरहेको छ ।
नरैनापुरलाई बुद्धबलीको (बुद्ध खेल्ने, डुल्ने र हिँड्ने ठाउँ) महत्वपूर्ण ठाउँ र पशुपतिनाथ भन्दा पनि पुरानो धामका रुपमा लिइन्छ । यहाँ धाममा अध्ययन केन्द्रसहितको भ्यूटावर बनाउने र त्यसलाई सिमसार क्षेत्र कपरकट्टी ताल (प्रस्तावित बैठौलियाको नरेश्वर ताल)सम्म जोडेर गुरुयोजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।

चक्रपथ नरेनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केदली डाँडा, हिरा चोक हुँदै फर्साटिकर रोडमा जोडिने छ । फर्साटिकर रोड बुटवल–बेलबास–बेथरी सडकमा जोडिएको विमानस्थल र लुम्बिनी जाने वाइपास सडक हो । यही सडक वडा नं. १३ को नुवाकोट गढी प्रवेशद्वार हुँदै अगाडि बढेको १३ का अध्यक्ष नारायणप्रसाद पुनले जानकारी दिए ।

बस्तीमा सार्वजनिक यातायात पुर्‍याउने र त्यसका माध्यमबाट कृषि उपजको बजार विस्तार, बुटवलको भिडभाडलाई कम गर्ने विश्राम स्थलका रुपमा विकास गर्नका लागि चक्रपथ निर्माण गरिएको छ ।

फर्साटिकर रोडमा जोडिएको चक्रपथलाई बाझापुर, विनायकपुर, भाटा, मनोहरापुर, सातकुला हुँदै मोतिपुर चोकमा लगिएको छ । मोतिपुर पुरानो बस्ती र खेतीयोग्य क्षेत्र भएको ठाउँ हो । मोतिपुरदेखि झण्डापुर, हरिहरपुर, रानीगञ्ज हुँदै योगिकुटीको तिलोत्तमा घाट (मगरघाट) मा जोडिने छ । तिलोत्तमा घाटमा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यहाँबाट योगीकुटी चोक हुँदै रामनगर पुगेको चक्रपथलाई आम्दा अस्पताल, शिवनगर वन क्षेत्रबाट हिलपार्क गेटसम्म पुर्‍याइएको छ । हिलपार्कलाई बुटवलले बुद्धपार्कका रुपमा विकास गरिरहेको छ । यहाँ विशाल बुद्धमूर्ति सहितको ध्यानकेन्द्र बनाउने तयारीस्वरुप डीपीआर बनाउने काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले अनलाइनखबरलाई बताए ।

हिलपार्क जोड्दै अगाडि बढेको सडकले चन्द्रनगर, आदर्शनगर र लक्ष्मीनगर पनि जोड्ने छ । लक्ष्मीपार्कलाई गुरुयोजनासहित उच्च स्थानको विशेष पार्कका रुपमा विकास गर्न लागिएको छ ।

२ अर्ब ४३ करोडको नगर यातायात गुरुयोजना

बुटवल उपमहानगरले नगर यातायात गुरुयोजना नै निर्माण गरेर चक्रपथ बनाउन बजेट छुटाएको छ । हालसम्म ग्राभेल र पीचसमेत गरी करिब पाँच करोड बराबरको काम भइसकेको छ । यसमा जनसहभागितासमेत जोडिएको छ ।

चक्रपथ र पैदल मार्गको प्राविधिक अध्ययन तथा परामर्शको काम नेष्ट र इकोकोड नामका कम्पनीका प्राविधिकहरुको सहकार्यमा भएको थियो ।

गुरुयोजनाका लागि २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसमा बसपार्कदेखि विश्राम स्थल र ग्यारेजसम्मको योजना छ । एक वर्ष लगाएर यो नगर गुरुयोजना बनेको थियो ।

उपमहानगरपालिकाले दुई वर्षदेखि चक्रपथ निर्माणका लागि बजेट छुट्याएर सडक निर्माणलाई तीव्रता दिएको छ । अबको कम्तिमा छ महिनामा धेरै स्थानमा नगर माइक्रो बस सञ्चालन गर्न मिल्ने गरी सडक निर्माणको काम अगाडि बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा उपमहानगरले एक करोड बजेट छुट्याएर सडक निर्माण गरेको थियो । चालु वर्ष उपमहानगरले वडा नम्बर १२ र १३ मोतीपुर सेमलार क्षेत्रका लागि दुई करोड रुपैयाँ चक्रपथका लागि छुट्टाएको थियो । यसको काम अहिले भइरहेको छ ।

यसैगरी प्रदेश सरकारले बुटवल वडा नम्बर ११ र १३ का लागि ५० लाख रुपैयाँ बजेट छुटाएको थियो ।

उपमहानगरभित्र एक सय ९३ सडक रहेको र अधिकांश कालोपत्रे भइसकेको योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख शिवनारायण साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment