Comments Add Comment

सेवाइः सुपाच्य, स्वादिलो र पोषिलो परिकार

तिहारको सेलरोटी, माघे संक्रान्तीको तरुल, दशैंको मासुभात भनेजस्तै इदको विशेष परिकार हो, सेवाई । यो पर्व खासगरी मुस्लिम समुदायले मनाउने गर्छन् । अतः अहिले इदको रौनक सुरु भइसकेको छ । इदमा दिनभर उपवास बसिन्छ । उपवासपछि भने सेवाईको परिकार बनाएर खाने गरिन्छ । सेवाईलाई बिहानको नास्ता र रातको खानाको रुपमा पनि सेवन गर्ने चलन छ ।

यतिबेला बजारमा सेवाई सहजै उपलब्ध हुन्छ । यो परिकार इद मनाउन मात्र होइन, अन्य बेला पनि खान सकिन्छ । मुस्लिम समुदायले मात्र होइन, अरु सबै जात-जातिले खान सक्छन् । यो हाम्रो रैथाने परिकार भने होइन ।  दक्षिण भारतको स्वाद हो यो ।

खासगरी सेवाई चामलबाट बनेको एक किसिमको नुडल्स हो । त्यसो त चामल मात्र होइन, गहुँ, कोदोबाट पनि सेवाई बनाउन सकिन्छ । हामीकहाँ भने चना र मैदाबाट तयार गरिएको सेवाई बढी प्रचलनमा छ ।

सुपाच्य

हरेक संस्कार, पर्वले निर्धारण गरेको खानपानसँग विज्ञान पनि हुन्छ । सेवाई खासगरी वषर्ायाममा खाने गरिन्छ । वर्षायाम यस्तो अवस्था हो, जतिबेला हामी खानपानकै कारण रोगी हुन्छौ । खानपानकै कारण पाचन तन्त्र गडबड हुन्छ । पेट संक्रमित हुन्छ ।

वर्षायाममा खानेकुराको माध्यामबाट स्वास्थ्य खराब हुने भएकाले यतिबेला सुपाच्य र स्वस्थ्य खानेकुरा सेवन गर्नुपर्छ । सेवाई त्यस्तै परिकार हो । सेवाई घरमै तयार गर्न सकिन्छ । यो सुपाच्य हुन्छ । पाचन यन्त्रका लागि यसले कुनै भार दिदैन ।

स्वादिलो

सेवाई यसैपनि स्वादिलो । हेर्दै खाउँ-खाउँ लाग्ने । यसलाई कागती, इमली, गोलभेडा, दही, नरिवल आदि मिसाएर पनि स्वादिलो बनाउने गरिन्छ ।

यद्यपी सेवाई बनाउने प्रचलित विधी भनेको दुध र घिउमा हो । सेवाईमा चिनी पनि मिश्रण गरिन्छ । यसको स्वाद बढाउनका लागि ड्राई फ्रुट्स पनि राख्न सकिन्छ ।

पोषिलो

खासगरी ईदको ब्रत बस्नुअघि सेवाई खाने गरिन्छ । सेवाई खाएपछि दिनभरका लागि उर्जा प्राप्त हुन्छ । भोक लाग्दैन । त्यसैले अनावश्यक खानेकुरा खानबाट बचिन्छ । साथसाथै शरीरमा पोषणको अभाव हुन पनि दिदैन ।

सदियौं पुरानो खान्की

सेवाई अहिले पहिचान गरिएको परिकार होइन । यो सदियौंअघि नै खान सुरु गरिएको हो । १२ औ र १३ औं सताब्दीमा इस्लामीक शासकले सेवाई खाने चलन बसाएका मानिन्छ । अहिले भने यसले निकै व्यापकता पाएको छ । ईदको अवसरमा मात्र होइन, अरु बेला पनि नास्ताको रुपमा सेवाई खाने गरिन्छ ।

कसरी बनाउने सेवाई

सेवाई बनाउन गाह्रो छैन । समय पनि धेरै लाग्दैन । छिटो र मिठो परिकार हो यो । बजारमा पाइने सेवाई लिएर घरमै यसलाई तयार गर्न सकिन्छ । यहाँ सेवाई बनाउने सामान्य विधी दिइएको छ ।

-२ कप सेवाई (भुटेको)

-आधा कप चिनी

-चार कप दुध

-एक कप ड्राई फ्रुट्स

-१ चम्चा सुकुमेल पाउडर

-१ चम्चा केसर (दुधमा भिजाइएको)

कसरी बनाउने त ?

सबैभन्दा पहिला एक प्यानमा दुध उमाल्ने । बेलाबखत चलाउँदै गर्नुपर्छ । १० मिनेटमा दुध गाढा हुन्छ । अब यसमा भुटेको सेवाई लगाउने र बिस्तारै सेवाई पाक्न दिने । त्यसपछि दुधमा भिजाइएको केसर, सुकुमेलको धुलो र काटेको ड्राई फ्रुट्स राख्ने । त्यसलाई एक मिनेट पाक्न दिने ।

अब सेवाई दुधभन्दा माथि देख्न थालिन्छ, यसको अर्थ सेवाई तयार भयो । त्यसपछि केही समय सेलाउन दिने । हल्का सेलाएपछि चिनी मिश्रण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment