Comments Add Comment

जिल्ला इञ्चार्ज छनोटमा प्रचण्डले सुझाए मध्यमार्गी बाटो

२३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ठोस मापदण्ड नबनाई जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डबारे छलफल भए पनि कुनै निर्णय भएको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने बताएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रदेश इञ्चार्जहरु तोक्दा नै त्यो खण्डित भएको तर्क गरेका छन् ।

बुधबार पनि यसबारे ठोस निर्णय भएको छैन ।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी बाटो अपनाउने बताएका छन् । इञ्चार्ज तथा सहइञ्चार्ज तोक्दै जाँदा दोहोरो जिम्मेवारीका सन्दर्भमा हेर्न सकिने उनले बताए ।

सचिवालयका एक सदस्यले भने, ‘मन्त्री भएकालाई इञ्चार्ज नबनाउने भन्ने पनि निर्णय भएको छैन । बनाउने भन्ने पनि छैन । बीचबीचको बाटोबाट जान्छौं होला ।’

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्र यसबारे निर्णय गर्ने कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, बहुसंख्यक नेताहरु यसको विपक्षमा उभिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने प्रयास हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment