Comments Add Comment

प्रधानमन्त्री कप : प्रदेश ३ लाई पराजित गर्दै आर्मी फाइनलमा

२२ जेठ, काठमाडौं । विभागीय टिम आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा आर्मीले पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई ११७ रनले पराजित गरेको हो । ३१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो ।

प्रदेश ३ का लागि इशान पाण्डेले ७९ रन बनाएपनि जित दिलाउन सकेनन् । उनले ११७ बलमा चार छक्का र तीन चौका प्रहार गरेका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्लले २६ रन बनाउँदा कप्तान पारस खड्काले १९ र नन्दन यादवले अविजित १८ रन बनाए ।

यता बलिङतर्फ शाहब आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएपछि प्रदेश तीनले ठूलो लक्ष्य पाएको थियो । आर्मीको पारी उकास्ने क्रममा कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७५ रन बनाए । ४२ बलको सामना गरेका उनले पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए ।

त्यस्तै, ओपनर राजु रिजालले ५१ रन बनाए । यता रोहित कुमार पौडेलले भने ४३ रन बनाउँदा हरि चौहानले ३८, राजेश पुलामी मगरले २९ र कुशल मल्लले अविजित २६ रनको योगदान दिए । बलिङतर्फ जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २-२ विकेट लिए ।

आर्मीले अब उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment