Comments Add Comment

तपाईको बच्चा सुपरम्यान होइनन्

तपाईंको बच्चा पढाईमा तेज छन् । सिकाएको कुरा सहजै ग्रहण गर्छन् । सोधेको बेला फटाफट भन्छन् । परीक्षामा राम्रै नतिजा ल्याएका छन् ।

तर, आफ्नो बच्चा अलि बढी चकचके भएको कुरा तपाईंलाई राम्रो लाग्दैन । पढाईमा राम्रो भएपनि चकचक गरेर सबैलाई सताउँछ । आज लगाइदिएको लुगा साँझ र्फकदा हेरिनसक्नु बनाएको हुन्छ । महिनादिन अघि किनिदिएको जुत्ता फटाइसकेको हुन्छ । विद्यालयमा केही न केही हराएकै हुन्छ । घरबाट पठाइदिएको नास्ता कहिले पोखाउँछ, कहिले साथीलाई दिन्छ । मौका परे साथीको नास्ता खोजेर खान्छ ।

*****

तपाईंको बच्चाले अतिरिक्त गतिबिधीबाट केही न केही उपलब्धी हासिल गरिरहेको छ । कहिले मेडल पहिरिएर आउँछ, कहिले ट्रफी उचाल्दै आउँछ । खेलकुदमा औधी रुची राख्छ । रुची र लगाव अनुसार प्रगति पनि गर्दै आएका छन् । बच्चाले खेलकुदमा गरेको उपलब्धीबाट तपाईं मख्ख हुनुहुन्छ ।

तर, आफ्नो बच्चा पढाईमा कमजोर भएको कुराले तपाईं चिन्तित हुनुहुन्छ । खेलकुदमा त राम्रै गरेको छ । त्यस अनुसार पढाईमा पनि अब्बल भइदिएको भए ? तपाईंको खुसीको सीमा रहँदैनथ्यो । जबकी बच्चाको पढाईमा खास चित्त बुझाउने ठाउँ छैन । परीक्षामा मुश्किलले पास मात्र हुन्छ । पढ्ने, लेख्ने काममा त्यती जाँगर पनि देखाउँदैन ।

*****

तपाईंको बच्चा पढाईमा राम्रो छ । नियमित विद्यालय जान्छ । खुरुखुरु होमवर्क गर्छ । साथीहरुसँग मिलेर बस्छ । घरमा पनि झैझगडा गर्दैन । पढाईसँगै उनी वतृत्वकला, कविता, निबन्ध लेखनमा अग्रसर छन् । यस्ता प्रतिगोतिामा भाग लिइरहेका हुन्छन् । उनमा नेतृत्व क्षमता पनि छ । आफ्नो कक्षाको मनिटर हुन् । अनुशासित छन् ।

तर, आफ्नो बच्चा कला-मनोरञ्जनमा उति चासो नदिने कुराले तपाईंलाई खिन्न तुल्याउँछ । अहिलेको जमनामा पनि तपाईंको बच्चा नाच्न जान्दैन, गाउन जान्दैन, अभिनय गर्न जान्दैन । अरु साथीहरु खुलेर रमाइलो गर्दा तपाईंको बच्चा दर्शक बनेर मनोरञ्जन लिइरहेका हुन्छन् ।

*****

तपाईंको बच्चा पढाईमा औसत छ । खेलकुदमा पनि बेलाबखत सहभागी हुन्छन् । नाचगान भनेपछि हुरुक्कै हुन्छन् । उनलाई नाच्न र गाउन असाध्य रुची लाग्छ । कतिपय कार्यक्रममा नाचेका छन्, गाएका छन् । नाटक खेलेका छन् । सांस्कृतिक कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन्छन् । नाचेर, गाएर, अभिनय गरेर सबैको तारिफ पनि पाएका छन् ।

तर, आफ्नो बच्चा भलाद्मी र ज्ञानी नभएकोमा तपाईं असन्तुष्ट हुनुहुन्छ । बच्चा अलि जिद्दी गर्ने खालको छ । नाचगान भनेपछि लेख्न पढ्न पनि छाड्छ । बुवाआमाले भनेको लुगाफाटो लगाउँदैन । अलि नक्कल गर्ने खालको छ । चलचित्रका हिरो-हिरोइनले जस्तै पहिरनमा ठाँटिन रुचाउँछन् ।

के बच्चा गलत छन् ?

कुनै बच्चा पढाईमा राम्रो छ, तर नाचगानमा कमजोर । कुनै बच्चा खेलकुदमा अगाडि छन्, टाठोबाठो छैन । कुनै बच्चा टिपटप एवं सुकिलोमुकिलो छन्, तर भलाद्मी छैन । कुनै बच्चा ज्ञानी छन्, तर पढाई कमसल ।

तर, तपाईंको अपेक्षा फरक छ । तपाईं के चाहनुहुन्छ ?

फलानोको बच्चा जस्तै टिपटप भइदिए कति काइदा हुन्थ्यो । फलानोको बच्चा जस्तै खेलकुदमा पनि अग्रसर भइदिएको भए कति राम्रो हुन्थ्यो । फलानोको बच्चा जस्तै भलाद्मी भइदिएका भए कति जाती हुन्थ्यो ।

हामी चाहन्छौ, बच्चा पढाईमा अब्बल होस् । खेलकुदमा उत्तिकै अग्रसर होस् । रमझममा किन पछि पर्ने ? नाच्न, गाउन पनि जान्ने होस् । रचनात्मक पनि त हुनुपर्‍यो नि, चित्र कोर्न, कविता लेख्ने होस् । अहिलेको जमनामा टाठोबाठो, टिपटप पनि हुनैपर्छ । फेसनवल पनि होस् । त्यतीले मात्र पुग्दैन, यससँगै भलाद्मी, ज्ञानी हुनैपर्छ ।

सुपरम्यान कि बच्चा बन्न दिने ?

सोच्नुहोस् त, तपाईंको परिकल्पना वा अपेक्षा कस्तो छ ? सृष्टिलाई माथ दिने खालको छ ।

किनभने सृष्टिले कुनैपनि कुरामा यतिको पूर्णता दिएको छैन । फूलमा सौन्दर्य छ, सुगन्ध छ, रस छ, तर धुन छैन । इन्द्रेणीमा मनोहर रंग छ तर स्थायित्व छैन । मयुर आफैमा रुपवान छ, नाच्छ पनि तर उड्न सक्दैन ।

हरेकमा केही गुण हुन्छ । उसैगरी हरेकमा केही दोष पनि हुन्छ । सर्वगुणले सम्पन्न हुने भएकाले हामीकहाँ यति धेरै भगवानको रचना पनि हुँदैनथ्यो होला । इन्द्र, शिव, विष्णु, ब्रम्हा, गणेश, कृष्ण, राम यी सबै भगवानको रचना यसकारण नै भएको हो कि, उनीहरुमा फरक-फरक विशेषता छ । एउटाको विशेषता वा गुण अर्कोमा हुँदैन ।

तर, हामी कस्तो परिकल्पना गर्छौ भने आफ्नो बच्चा सर्वगुणले सम्पन्न भइदियोस् । नाच्न पनि जान्ने, गाउन पनि जान्ने, फेसन पनि जान्ने, पढ्न पनि जान्ने, खेल्न पनि जान्ने, कविता लेख्न पनि जान्ने । यो हाम्रो अपेक्षा मात्र होइन, प्रयास पनि हो । हामी प्रयास गरिरहेका हुन्छौ कि, आफ्ना बालबच्चा हरेक कुरामा निपूर्ण होस् । हामी आफ्ना बालबच्चालाई सुपरम्यान बनाउन खोजिरहेका छौ ।

विश्वमा सात अर्ब मान्छे छन् । त्यसमध्ये कोही यस्ता नहोलान्, जो सबै कुरामा पूर्ण । भरिपूर्ण । हरेकको आ-आफ्नै रुची हुन्छ । रुची अनुसार उनले आफ्नो क्षमता विकास गरेको हुन्छ । रुची र क्षमताकै टेकोमा उनले आफ्नो जीवनस्तर उठाउँछ ।

यसकारण बच्चाको रुची जे छ, क्षमता जे छ, त्यसमै प्रेरित गरौं । मार्गदर्शन गरौ । बच्चामाथि आफ्नो आकंक्षा र अपेक्षाको भारी नथोपरौ । उनीहरुलाई आफ्नै रुची र क्षमता अनुरुप छरितो र स्वच्छन्द ढंगले अगाडि बढ्न दिउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment