Comments Add Comment

राजनीतिमा युवा नेतृत्व कति सम्भव ?

के साँच्चिकै हजारौं युवाहरुको अर्थपूर्ण हिस्सा अहिलेको राजनीतिमा सुरक्षित छ ? जिम्मेवारी पाएका एकाध युवाहरुले पनि युवाहरुको नेतृत्व विकास र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निभाइरहेका छन् वा नेता, दल, गुट, उपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त छन् ? यो प्रश्न आफैंमा गम्भीर अनि सोचनीय छ ।

नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्र पंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन ।

नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आम धारणा छ र धेरैजसो अभ्यास पनि यस्तै छ । जुन धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता बनाउने विषयमा नेतृत्वमा आनाकानी भइरहन्छ ।

नेपाली समाजमा राजनीतिप्रति युवाहरुको चासो पनि कमजोर देखिएको छ पछिल्लो समयमा । जसले गर्दा राजनीतिमा आसा लाग्दा कैयौं युवाहरुले पनि सम्बन्धविच्छेद गरिरहेका छन् राजनीतिसंग । जसमा नेतृत्वको ध्यान पुगेको देखिँदैन ।

विश्वका विभिन्न देशका अभ्यासहरु हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरणहरु छन् । राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवाहरुलाईर् कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि राज्यले सोच्नु जरुरी छ । सक्षम, पढेलेखेका युवाहरुलाई विदेश पलायन हुनबाट कसरी रोक्ने ? यो विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन जरुरी छ ।

आर्थिक रुपमा आत्मनिर्भरता निम्नमध्यम वर्गीय परिवारबाट भर्खर कलेज पढ्न आएको युवा राजनीतिमा लाग्छ, खट्छ, भिड्छ र पार्टी संगठनको लागि मरिमेटेर लागेको हुन्छ । जब उसले घरको खर्चमा रमाएर औपचारिक शिक्षा पूरा गर्छ तब बल्ल महसुस हुन्छ । आफ्नो आम्दानी र पारिवारिक व्यवस्थापनको विषय । संगठनको काम गर्दा उसलाई न त कसैले सोध्छ, न त ऊ आफैले सोचेको हुन्छ ।

नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, जसबाट युवालाई राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ

तसर्थमा राजनीतिमा युवालाई टिकाइराख्न अब राज्यले उनीहरुलाई सहयोग पुग्ने खालमा वैकल्पिक कामहरुको अवसर दिन जरुरी देखिन्छ । जसले उनीहरुको आर्थिक पाटोलाई समेत मजबुत बनाउन सघाउ पुग्छ ।

आम दृष्टिकोणमा परीवर्तन स् राजनीति अन्य क्षेत्रमा केही गर्न नसक्ने र कमजोर व्यक्तिले गर्छन् भन्ने आम धारणा छ । अलि पढेलेखेका, शिक्षित व्यक्तिहरु अन्यत्रै सेट हुनुपर्दछ भन्ने समाजको मान्यता पनि छ । जुन धारणा गलत छ । देश चलाउने, समाजको नेतृत्व गर्ने, नीति निर्माण गर्ने व्यक्ति पक्कै पनि सक्षम र अब्बल हुनुपर्दछ , हुन जरुरी छ । योग्य र सक्षम व्यक्ति राजनीतिमा लाग्न जरुरी छ ।

असल राजनीतिक संस्कारको विकास स् राजनीतिक संस्कार असल भयो भने नेता पनि असल हुन्छन् । ती नेताले गर्ने काम र उनीहरुको दृष्टिकोण पनि असल हुन्छ । अहिले समाजमा देखिएको विकृत राजनीतिक संस्कारको अन्त्य हुनुपर्दछ ।

नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, जसबाट युवालाई राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ । राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी सञ्चालनका तौर तारिकादेखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन जरुरी छ ।

खर्चिलो र भडि्कलो निर्वाचन प्रणालीको अन्त्य, निर्वाचन अत्यन्तै खर्चिलो हुँदा सामान्य हैसियतको व्यक्तिमा राजनीतिप्रति निराशा बढ्दै गएको देखिन्छ । जसको प्रभाव युवाहरुमा पनि परेको छ । जसले गर्दा सामान्य व्यक्तिको पहुँचभन्दा टाढाको विषय बनिरहेको छ, निर्वाचन र राजनीतिक अवसर । निर्वाचन आचारसंहिताले तोकेको सीमामा रहेर खर्च गर्ने परिपाटीको विकास हुने हो भनेमात्र असल राजनीतिक संस्कारको विकास हुन सक्छ र युवाहरुमा पनि सकारात्मक सोचको विकास हुन सक्दछ । यी र यस्ता धेरै बिषयहरु छन्, जसले राजनीतिमा युवा सहभागिता बढाउनका लागि सहयोग गर्दछन् ।

(तम्घास, गुल्मी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment