Comments Add Comment

पोखरादेखि कास्कीकोटसम्म नयाँ हाइकिङ रुट

२३ जेठ, पोखरा । कास्कीकोट कुहिरोले डम्मै छ । बिहान १० बजिसक्यो, ८–१० मिटरभन्दा पर देखिन्न । मौसम खुलेको भए पोखरा सहर र हिमालय श्रृङ्खला आखै अगाडि आइपुग्थे ।

भर्खर पानी परेर बिसाएको मौसम भने शितल छ । ठीक यही बेला असिन–पसिन मान्छेहरुको ठुलै हुल कास्कीकोटको टुप्पोमा रहेको दरबारमा आइपुगे । यी मानिसहरु पोखराबाट हाइकिङमा कास्कीकोट उक्लेका हुन् ।

कास्कीकोटका राजा कुलमण्डन शाहका सन्तान लमजुङ, गोरखा हुँदै काठमाडौंसम्म राज गर्न पुगेको इतिहास छ । यहाँबाट डाँडैडाँडा करिब नौ किलोमिटर हिँडेपछि सराङकोट बजार पुगिन्छ ।

यो बाटो लागेपछि बीचमा एउटा सानो चौर र मन्दिर आउँछ । यहाँबाट दक्षिणमा पोखरा, फेवाताल र उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायत हिमालको मनमोहक दृष्य देखिन्छ ।

यहाँबाट देउराली जोड्ने पदमार्ग पनि बनाइएको छ, तर कमै मानिस पदयात्रामा आएको देखिन्छ । पर्यटन परिषद, पोखराका अध्यक्ष चिरञ्जीवी पोखरेल पश्चिमा संस्कृतिमा झुम्न पल्केका मानिसहरुको आँखामा यो पदमार्ग पर्नै नसकेको बताउँछन् ।

पोखराले यस्तो नजिकको प्रडक्टलाई देख्दै नदेखेको पर्यटन व्यवसायी रामु गौतमको भनाइ छ । ‘हामीले पोखरामा पर्यटकको बसाइँ छोटियो भनिरहेका छौं तर यस्तो ठाउँलाई प्रमोट गर्नै सकिरहेका छैनौं’ उनले भने ।

त्यस्तै, ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) का निवर्तमान अध्यक्ष नारायण सुवेदी सराङकोट, कास्कीकोट, ढिकुपोखरी, पञ्चासे हुँदै पुम्दीभुम्दीबाट फेवातातलाई फन्को मारेर पोखरा झर्न नसक्नेहरुका लागि कास्कीकोट–सराङकोट हाइकिङ सारै उत्तम हुने बताए ।

यो यात्रामा पर्यटन क्षेत्रका ५५ जना सहभागी छन् । पोखरामा विदेशी पर्यटकको बसाई लम्ब्याउन पनि यो हाइकिङ रुटको उपयोग निकै फलदायी हुने उनीहरुको निष्कर्ष छ ।

यो हाइकिङ रुटलाई अझ व्यवस्थित गर्ने काम भइरहेको ट्रेलका अध्यक्ष विष्णुप्रसाद दाहालले बताए । छोटो दुरीलाई अपांगमैत्री र साइकलका लागि पनि बनाउन लागिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment