Comments Add Comment

वीरगञ्जका तीन कन्सल्टेन्सीमा शिलबन्दी

२३ जेठ, वीरगञ्ज । शिक्षा मन्त्रालयबाट अनुमति नलिई सञ्चालनमा रहेका वीरगञ्जका तीन वटा कन्सल्टेन्सीमा प्रशासन कार्यालयले शिलबन्दी गरेको छ । अनुमति लिएको कागजात लिएर आउन पत्राचार गरे पनि अटेरी गरेपछि कारबाही शुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रगति एजुकेशन, लिंक रोड स्थित निम्स इन्स्टिच्यूट र पानीट्याङ्की चोकको गुडविल लोक सेवा इन्स्टिच्युटमा शिलबन्दी गरेको छ ।

शिक्षा मन्त्रालयबाट अनुमति नलिई शैक्षिक संस्थाहरु सञ्चालन भई विद्यार्थीहरुलाई ठगी गरेको सूचना आएपछि कारबाही शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । ‘कम्पनी रजिष्टारको कार्यालमा दर्ता गरेर पान नं त लिएका रहेछन् । तर शैक्षिक संस्था सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ’ उनले भने ।

वीरगञ्जमा सञ्चालित अधिकांश कन्सल्टेन्सी र कोचिङ सेन्टरले त्यसो नगरेको पाइएको प्रजिअ भट्टराईले बताए । वीरगञ्जमा झण्डै दुई दर्जनभन्दा बढी कन्सल्टेन्सी तथा कोचिङ सेन्टरहरू सञ्चालन छन् । शिक्षा मन्त्रालयले दिएको तथ्याङ्क अनुसार वीरगञ्जमा तीनवटाले मात्र अनुमति लिएका छन् ।

शिलबन्दी गर्न जाने क्रममा आर्य एजुकेशन कन्सल्टेन्सीले अवरोध पु¥याएकोले थप कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतले जानकारी दिए । शिलबन्दी गर्न गएको प्रशासनको टोलीलाई आर्यमा अवरोध पुर्‍याएपछि प्रशासनको टोली त्यसै फर्केको थियो ।

‘हामीले पहिले नै पत्राचार गरेर आवश्यक कागजपत्र ल्याउन भनेका थियौं, उनीहरुले नै अटेरी गरेपछि हामीले कारबाही शुरु गरेका हौं’ उनले भने ‘ शिलबन्दी गर्न जाने क्रममा आर्य एजुकेशनले विद्यार्थीलाई उचालेर अवरोध पु¥याएको छ । संस्था बन्द त गर्छौ गर्छौ, थप कारबाही गर्छौ ।’

अनुमति बिना सञ्चालनमा रहेका कन्सल्टेन्सी, कोचिङ सेन्टरहरूमा स्थानीय प्रशासनले शिलबन्दी गर्न शुरू गरेपछि त्यस्ता संस्थाका सञ्चालक भागेका छन् । शिलबन्दी गर्न जाँदा केहि कन्सल्टेन्सीका सञ्चालक नभेटिएको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

प्रशासन कार्यालयका अनुसार दुई साताअघि शिक्षा मन्त्रालय आएको एक टोलीले वीरगञ्जमा अनुगमनका क्रममा दुई दर्जनभन्दा बढी कन्सल्टेन्सी तथा कोचिङ सेन्टर अनुमति विना सञ्चालनमा रहेको तथ्य फेला पारेको थियो । त्यसपछि टोलीले नामै तोकेर अनुमति नलिएका शैक्षिक संस्थालाई कारबाही गर्न प्रशासनलाई लिष्ट उपलब्ध गराएको थियो ।

वीरगञ्जमा इजी क्यारियर कन्सल्टेन्सी, ड्रिम हब, प्रकाश इन्टरनेशनल, यदुका फाउण्डेशन, नेक्स्ट भिजन, लक्ष्य एजुकेशन, कसमस एजुकेशन लगायतका इन्स्टिच्युट र कोचिङ सेन्टर सञ्चालनमा छन् ।

आकर्षक प्रलोभनमा पारेर महंगो शुल्क लिएर लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रहरी, सेना, वैदेशिक अध्ययनमा पठाउने भन्दै कतिपय कन्सल्टेन्सी र कोचिङ सेन्टरहरुले ठगी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment