Comments Add Comment

सवनम हत्यामा नयाँ ट्वीस्ट, गाउँ भेलाले गर्‍यो यस्तो निर्णय

२३ जेठ, बुटवल । गैडहवा गाउँपालिका–१ भुझौलीकी १८ वर्षीया सवनम निशा नाउको हत्या प्रकरणले नयाँ मोड लिएको छ ।

सवनमका बुबा र स्थानीयबासीले ‘तल्लो’ जात र गरीब भएकै कारण असिरुद्धिन मुसलमानको परिवार मिलेर हत्या गरिएको दावीसहित जिल्ला प्रहरी र अदालतमा जाने निर्णय गरेका छन् ।

२३ वर्षीय असिरुद्धिन मृतक सवनमकी प्रेमी हुन् । हत्याको आरोपमा उनीसँगै कपिलवस्तु बाणगंगा १० का २१ वर्षीय अस्लाम मुसलमानलाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस बिहे गर्न दबाव दिएपछि प्रेमिकाको हत्या ! २ जना पक्राउ

तर, स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको गाउँ भेलाले सवनमको हत्यामा असिरुद्धिनको परिवारको संलग्न रहेको दाबी गरेको छ । भेलाले असिरुद्धिनका बुबा सफिउल्ला, आमा रकिबुन, भाइ अजिजुद्धिन, भाउजु सबर खातुन र नसरीनमाथि पनि पक्राउ गरी छानविन गर्नुपर्ने भेलाको माग छ ।

प्रहरी हिसासतमा रहेका अस्लाम र अभियुक्त भनिएका तर पक्राउ नपरेका अजिजुर रहमान निर्दोष भएको सवनमका बुबा मोहम्मद इशाद नाउले बताए । ‘हामीलाई तल्लो जात र गरीब भनेर छोरीसँग विवाह गर्न नपरोस् भनेर परिवारै मिलेर हत्या गरेका हुन्’ उनले भने, ‘घटनापछि वडा सदस्य निसार अहमद आएर अजिजुर र अस्लाम पनि हत्यामा संलग्न छन्, उनीहरुको नाम प्रहरीलाई बताउनु भनेका थिए, जबकि हामीलाई उनीहरुमाथि शंका छैन ।

स्थानीय फैसल खानले पनि अजिरुद्धिनको परिवारलाई जोगाउन आर्थिक चलखेल भएको आशंका लागेको बताए । वडा अध्यक्ष प्रदीपकुमार चौधरीले वडा सदस्य निसार अहमदले शुरुमा अजिरुद्धिनकै परिवार मिलेर सवनमको हत्या भएको भनेको तर, आर्थिक चलखेल गरेर अरुलाई अभियुक्त बनाउन भूमिका खेलेको बताए ।

वैशाख ३० गते बिहान ३ बजे सवनम घरमा नभएको थाहा भएपछि आमाले सोधखोज गरेकी थिइने । सवनमका प्रेमीकी आमाले बाँसको झाडीतिर होला भनेर भनेकाले पनि आशंका बढाएको स्थानीय रामनरेश सिंह कुर्मीले बताए ।

गाउंले र मृतकका परिवारले सवनमको हत्या अजिरुद्धिनकै घरमा भएको र र एक दिनसम्म घरमै शव लुकाएर अर्को दिन कोठी नदी किनारमा लगेर फालिएको दावी गरेका छन् ।

सवनमको हत्या घर नजिकै बांसको झाडीमा गरिएको भनेर मुचुल्का बनाउंदा अजिरुद्धिनको परिवारका सदस्यहरुको संलग्नता नदेखिने भएकाले केटाले त्यही बयान दिउको इशाद नाउले बताए । ‘प्रहरीकै निर्देशन अनुसार केटाले बयान फेरेको छ’ स्थानीय चन्द्रप्रकाश घर्तीले भने, ‘आर्थिक चलखेलका आधारमा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाएर कञ्चनपुरको निर्मला पन्त काण्ड जस्तै बनाइन्छ भन्ने लागेको छ ।’

स्थानीय अगुवा मोहम्मद इस्लाम खानले यो घटना जातीय भेदभाव र धनी गरिबबीच वर्गीय विभेदको कारण भएकाले प्रहरीले निष्पक्ष छानविन गनुृपर्ने बताएका छन् ।

सवनम र असिरुद्धिनको घर सगैँ जोडिएको छ । असिरुद्धिनको पक्की घर छ भने निशाको खरले छाएको झुपडी छ । दुई वर्षदेखि प्रेम सम्बन्ध रहेकी सवनमले विवाह गर्न दबाव दिएकी थिइन् तर असिरुद्धिनले टार्दै आएका थिए ।

असिरुद्धिनले सवनमको हत्या आफूले गरेकोस्वीकार गरेका छन् । सवनमको शव हत्याको २ दिनपछि रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्रमा पर्ने कोठी नदी किनारको खेतमा फेला परेको थियो । घटनापछि आक्रोशित स्थानीयबासीले अजिरुद्धिनको घरका कोठाहरु तोडफेड गर्नुका साथै आगो लगाएका थिए ।

घटनापछि असिरुद्धिनका बुबा, आमा र भाइ फरार छन् । प्रहरीले घटनाको २२ दिनपछि पत्रकार सम्मेलन गरी २ जना अभियुक्त सार्वजनिक गरेको थियो । रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले घटनाको अनुसन्धान जारी रहेको र गाउँलेको निवेदन आएपछि अध्ययन गर्ने प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् गाउँ भेलाको निर्णय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment