Comments Add Comment

प्रदेश २ मा हिन्दीलाई सम्पर्क भाषा नबनाउन नेकपा र कांग्रेसको माग

२३ जेठ, जनकपुरधाम । हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले संशोधन दर्ता गराएका छन् ।

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र कांग्रेस सांसद शिवचन्द्र चौधरीले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउन माग गर्दै संशोधन दर्ता गराएका हुन् ।

नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘प्रदेशमा मुख्य दुई वटा भाषा बढी बोलिन्छ, एउटा मैथिली, अर्काे भोजपुरी । एक भाषामा बोलेको कुरा अर्काे भाषीले राम्रोसँग बुझिरहेको सन्दर्भमा हिन्दी लाध्नुको कुनै मतलव छैन ।’

कांग्रेसले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने भनेर प्रदेश सरकारले नयाँ विवाद सिर्जना गरेको आरोप लगाएको छ । कांग्रेस सांसद शिवचन्द्र चौधरीले भने, ‘अरु देशको भाषालाई मान्यता दिनुको कुनै तुक छैन ।’

उनले प्रदेशमा मैथिली र भोजपुरी नै बोलिने र एकले अर्काको भाषा बुझ्ने भएकाले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन जरुरी नभएको बताए ।

आठ सांसदको संशोधन दर्ता, आधा सत्ता पक्षकै

प्रदेशमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने भन्दै आठ जना सांसदले संशोधन दर्ता गराएका छन् । संशोधन दर्ता गराउनेमध्ये चार जना सत्तारुढ राजपा नेपालका छन् ।

सत्तारुढ राजपा नेपालका सचेतक परमेश्वर साह, सांसद विदेश्वर यादव ‘विक्की’, डा. रिना यादव र बाबुलाल साहले संशोधन दर्ता गराएका छन् । उनीहरुले सरकारले आफू अनुकुलका योजना ल्याएको भन्दै संशोधन दर्ता गराएका छन् ।

राजपाका सांसदहरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्रीमुखी भएको भन्दै विरोध जनाएका छन् । यस किसिमको योजनाबाट प्रदेशको समृद्वि हुन नसक्ने बताउँदै सांसद बिक्की यादवले प्रदेशको समृद्विका लागि संशोधन प्रस्ताव दर्ता गराएको यादवले बताए ।

राजपा सचेतक परमेश्वर झाले मधेशका लागि विगतमा लड्ने गजेन्द्रनारायण सिंह र दुर्गानन्द झाको पनि शालिक बनाउन माग गर्दै संशोधन दर्ता गराएका छन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको शालिक बनाउने उल्लेख गरेको छ ।

नेकपाका सांसद गोविन्द न्यौपाने र मञ्जु यादवले पनि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment