Comments Add Comment

प्रदेश २ मा सरकारकै विरोधमा उत्रियो राजपा

२४ जेठ, जनकपुरधाम । प्रदेश २ का सत्तारुढ सांसदले आफ्नै सरकारको नीति तथा कार्यक्रमको विरोध गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सत्तारुढ राष्ट्रिय जनता पार्टीक सांसदले मन्त्रीहरुले आफ्नो लागि मात्रै काम गरेको आरोप लगाए ।

शुक्रबारको प्रदेशसभा बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’ ले भने, ‘जनतालाई कति दिनसम्म ठगिरहने ?’ राम्रो र उत्कृष्ट प्रदेश बनाउने लिएको सपनामाथि तुषारापात भएको बताउँदै उत्कृष्ट भन्दा यो प्रदेश सातौं नम्बरमा पनि पर्न नसक्ने अवस्थामा आएको बताए ।

‘प्रदेशलाई मन्त्रीहरुले आफ्नो प्रदेश बनाएका छन्’ उनले अर्काे प्रश्न गरे, ‘संसारलाई कर्मचारीको कमी देखाउने मन्त्रीहरुले आफ्नो क्षेत्रमा कसरी करोडौंको बजेट लगे । के त्यसका लागि कर्मचारी कहाँबाट आए त ?’

मन्त्रीहरुको व्यक्तिवादी र परिवारवादी सोंचका कारण यो प्रदेश सरकार फेल हुने संघारमा आएको सांसद यादवले बताए । ‘आफूले केन्द्रले अधिकार खोसेको छ भन्ने, अनि आफूले जनतालाई कस्तो अधिकार दिएको हो ?’ उनले प्रश्न गरे ।

सांसद यादवले नीति तथा कार्यक्रम आफैं असफल हुने किसिमको रहेको भन्दै सुनकोशी, कमला डाइभर्सनको काम जस्ता योजनाहरु प्रदेश सरकारले कुनै पनि हालतमा निर्माण गर्न नसक्ने दावी गरे ।

राजपाकै अर्का सांसद मनिष सुमनले पनि बजेट मन्त्रीमुखी बनेको टिप्पणी गरे । ‘जहाँ–जहाँ र जुन–जुन क्षेत्रका मुख्यमन्त्री र मन्त्री छन्, ती क्षेत्रका लागि मात्रै योजनाहरु समावेश गरिएको छ’ उनले भने, ‘यो सरकार कुनै निर्वाचन क्षेत्रको सरकार होइन्, समग्र प्रदेशकै सरकार हो । यसर्थ प्रदेशको सबै ठाउँका लागि योजना बन्नु जरुरी छ ।’

राजपाकै सांसद नेत्रबिक्रम साहले चालू आर्थिक वर्षको बजेट किन खर्च हुन नसकेको भन्दै सरकारसँग प्रश्न गरे । उनले बजेट फ्रिज भए यसको सम्पूर्ण जिम्मेबारी मुख्यमन्त्री र मन्त्रीहरुले जिम्मेबारी लिनुपर्ने बताए ।

राजपाकै सांसद डा. रिना यादवले सरकारले सबैलाई समेटन नसकेको बताइन् । उनले सत्ता पक्षमा रहेर पनि संशोधन हाल्नु बाध्यता भएको बताउँदै आफूहरु जनताको पक्षमा जहिल्यै पनि रहने बताइन् ।

प्रमुख प्रतिपक्षी नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेशलाई थुप्रै खर्चमा पार्ने किसिमको नीति तथा कार्यक्रम भएको बताए । उनले नाराहरुले भरिपूर्ण भए पनि कार्यान्वयनमा आशंका व्यक्त गरे । नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘खेत–खेतमा पानी, हात–हातमा काम’ योजनाप्रति व्यंग्य गर्दै विश्वकर्माले यो नारा ‘खेत खेतमै घाम, युवाहरुको विदेशमा काम’ मात्रै हुने बताए ।

नेपाली कांग्रेसका सांसद शिबचन्द्र चौधरीले आफ्नो क्षेत्रमा करोडौंको बजेट लैजान कर्मचारी कहाँबाट आयो भन्दै प्रश्न गरे । उनले मन्त्रीहरुले बजेटको भद्रगोल गरेको बताउँदै आफ्ना सन्तान र कार्यकर्तालाई बजेट बाँडेर गलत परिपाटीको विकास गरेको उल्लेख गरे । ‘यो परिपाटी रहेसम्म प्रदेशको विकास कुनै पनि हालतमा हुन सक्दैन्’ उनले भने ।

हिन्दी भाषाको बिरोध र समर्थन

शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदैं सांसदहरुले हिन्दी भाषाबारे व्यापक बहस गरेका छन् । प्रदेश सरकारले हिन्दी भाषालाई प्रदेशको सम्पर्क भाषा बनाउने बताएपछि प्रतिपक्षी दलहरुले यसको कड रुपमा विरोध गरेका छन् ।

सत्ता पक्षका केही सांसदहरुले भने हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन लागेकोप्रति प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।
नेकपाका सांसद किशोरी साहले प्रदेशभित्र बोलिने मैथिली र भोजपुरी भाषालाई लोप गराउन हिन्दीलाई सम्पर्क भाषा बनाउन खोजेकोप्रति सरकारको आलोचना गरे । उनले प्रदेशको भाषा संरक्षणका लागि ध्यान दिनुपर्नेमा लोप गराउने काममा प्रदेश सरकार लागेको बताए ।

नेकपाकै सांसद सुन्दरबहादुर विकले हिन्दीलाई थुपारेर मैथिली र भोजपुरी भाषालाई कमजोर बनाउन लागेको बताए । नेकपाकै अर्काे सांसद मन्जुकुमारी यादवले हिन्दीलाई सम्पर्क भाषा बनाउनु गैर संवैधानिक काम भएको बताइन् ।

राजपाका सांसद मनिष सुमनले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन लागेकोप्रति प्रदेश सरकारलाई धन्यवाद दिए । राजपाकै सांसद डा. रिना यादवले हिन्दी भाषा नेपालकै सम्पर्क भाषा रहेकाले यसप्रति आपत्रि जनाउनु ठीक नभएको बताइन् । उनले विदेशमा काम गर्न जाने मेचीदेखि महाकालीसम्मका नेपालीहरु हिन्दी नै बोल्ने गरेको बताउँदै हिन्दीलाई ठाउँ दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment