Comments Add Comment

हावाहुरी आयो, तर सरकार आएन !

कैलालीमा मात्रै २१ सय घरमा क्षति, पीडितले राहत पाएनन्

२६ जेठ, धनगढी । सिंहदरबारलाई विदेश भ्रमण हेर्दैमा ठिक्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशैभरि बजेटको खोलो बगाइँदैछ । तर, कैलाली–कञ्चनपुरमा हावाहुरीले हजारौं घरमा क्षति पुगे पनि न सरकारको नजर पुगेको छ, न त प्रधानमन्त्री रोजगार कार्यक्रमवालाहरु नै घर बनाइदिन पुगेका छन् ।

बिहीबार आएको विनाशकारी हावाहुरीले कैलालीमा मात्रै दुई हजार २१६ घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रारम्भिक विवरण सार्वजनिक गर्दै हावाहुरीले क्षति पुर्‍याएको घरहरुको बारेमा जानकारी गराएको हो ।

क्षतिको अन्तिम विवरण भने यो नरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । ‘यो विस्तृत विवरण होइन’, उनले भने ‘हामी अनुगमन गर्दै छौँ, यो प्रारम्भिक विवरण हो ।

हावाहुरीमा परि २ जनाको ज्यान गएको र ७६ जना घाइते भएको उनले बताए । ‘हावाहुरीका कारण क्षतिको विवरण बढे पनि घाइते र ज्यान गुमाउनेको संख्या पुरानै हो’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने ।

हावाहुरीका कारण बिहीबार राति कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर ठोक्किँदा मोटरसाइकल चालक वीरबहादुर चौधरीको ज्यान गएको थियो भने टीकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको थियो ।

चार दिनदेखि राहत नपाउँदा पीडितहरुको बिचल्ली भएको छ । हावाले छत उडाएपछि खुला आकाशमुनि सुत्न उनीहरू बाध्य भएका छन् । तीनै तहको सरकारले राहतका लागि कुनै पहल नगरेको उनीहरूको गुनासो छ ।

‘घर भत्क्यो, खाने कुरा पनि छैन’, एकजना पीडित चेचुराम चौधरीले भने– ‘अहिलेसम्म कोही सोध्न पनि आएको छैन ।’

उनले भएको अन्नबाली समेत हावाहुरीले क्षति पुराएपछि समस्या भएको बताए । ‘धान, गहँु थियो हावापनीले सबै खत्तम बनायो, उनले भने, ‘अब के खाने के खुवाउने भन्ने चिन्ता छ ।’

अर्की पीडित सरिता चौधरीले पनि अहिलेसम्म केही नपाएको बताइन् । ‘हेर्न सबै आउँछन् तर सहयोग कहीँकतैबाट पाइएको छैन’ उनले भनिन्, ‘सरकारले केही गर्छ कि भन्ने आशा थियो, त्यो पनि हराउँदै गएको छ ।’

कैलालीका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा क्षति पुगेको छ । हावाहुरीले विद्युतका पोलहरू ढलेका कारण ४ दिनदेखि धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । ती क्षेत्रमा विद्युत सञ्चालन गर्न अझै केही दिन लाग्ने विद्युत प्राधिकरण धनगढी शाखाले जनाएको छ ।

प्रजिअ जोशीले विस्तृत विवरण आएपछि राहत वितरणको कार्य थाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment