Comments Add Comment

ख्याल गर्नुहोस् त तपाईंको शरीरभित्र पनि छ डाक्टर

यसरी थाहा पाउनुहोस्

ज्यानलाई कुनै गडबडी हुनसाथ हामी कहाँ जान्छौ ? डाक्टरकहाँ । हामीलाई विश्वास छ, डाक्टरले नै हाम्रो रोग पत्ता लगाइदिन्छ । उपचार गरिदिन्छ । निको बनाइदिन्छ । सही हो, डाक्टरलाई शरीर विज्ञानको ज्ञान छ । संकेत एवं लक्षणको आधारमा कुन रोग भनी अनुमान गर्न सक्छन् । आवश्यक परीक्षणबाट रोगको अवस्था फेला पार्न सक्छन् । कतिपय जटिल रोगको उपचारपछि जब हामी रोगमुक्त हुन्छौ, डाक्टर हामीलाई भगवान लाग्छ । हाम्रा जीवनदाता लाग्छ ।

डाक्टरप्रति कृतज्ञ हुनु अन्याथा भएन । तर, तपाईंले ख्याल गर्नुभएको छ तपाईंको शरीरभित्र पनि डाक्टर छन् । शरीरभित्रको डाक्टरसँग तपाईं परिचित हुनुहुन्छ ? कृतज्ञ हुनुहुन्छ ? आभारी हुनुहुन्छ ?

के गर्छ शरीर भित्रको डाक्टरले ?

तपाईंले आफ्नो शरीरमाथि थोरै खेलबाड गर्नुभयो भने पनि शरीरभित्रको डाक्टरले सर्तक गराउँछ । तपाईंले सानोतिनो गल्ती गर्नुभयो भने पनि शरीर भित्रको डाक्टरले सचेत गराउँछ । शरीर भित्रको डाक्टरले तपाईंलाई स्वास्थ्य जीवन बाँच्नका लागि सहयोग र समर्थन गर्छ ।

तपाईंले जानेर वा नजानेर केही यस्ता काम गर्नुहुन्छ, जसले तपाईंको शरीरलाई दुःख दिन्छ । त्यस्ता काम नगर्न भनेर शरीर भित्रका डाक्टरले नै चेतावनी दिन्छ । त्यती मात्र होइन, कतिपय रोगहरु भित्र  भित्रै तपाईंले थाहा नपाई निको बनाइदिन्छ ।

शरीर भित्रको डाक्टरलाई चिन्नुभयो, उनको भाषा बुझ्नुभयो भने तपाईं रोगमुक्त जीवन बाँच्न सक्नुहुनेछ । बाहिरका डाक्टर खोज्दै हिँड्नुपर्दैन । अस्पताल धाउनुपर्दैन । औषधी खानुपर्दैन ।

कसरी थाहा पाउने ?

आफ्नो शरीरभित्र डाक्टर छ भन्ने कुरा कसरी थाहा पाउने ? कुनै जटिल छैन । तपाईंले शरीरभित्रका डाक्टर छ भन्ने कुरा महसुष गरे पुग्छ । अनुभूत गरे पुग्छ ।

तपाईं अलि धुलो-धूँवामा हिँड्नुभयो । त्यसका हानिकारक कणहरु तपाईंको शरीरमा प्रवेश गर्‍यो । अब शरीर भित्रका डाक्टरले त्यसलाई बाहिर निकाल्ने प्रयास गर्छ । त्यही प्रयास हो, हाँच्छ्यु आउनु ।

तपाईंले शरीरलाई प्रतिकुल हुने खानेकुरा खानुभयो । विषाक्त र पोषणरहित खानेकुरा तपाईंको शरीरभित्र प्रवेश गर्‍यो । अब भित्रको डाक्टरले त्यसलाई शरीरबाट बाहिर निकाल्ने प्रयास गर्छ । त्यो प्रयास हो, पखला वा वान्ता ।

तपाईं अति जाडो ठाउँमा पुग्नुभयो । वा जाडो मौसम छ । शरीरलाई बाहिरी वातावरणको तापमानसँग सन्तुलित राख्न सक्नुभएन । यतिबेला पनि शरीर भित्रका डाक्टरले काम गर्छ । तपाईंको शरीरमा कम्पन पैदा हुन्छ । यसले शरीरलाई चलायमान बनाउँछ । शरीरको तापमान बढाउँछ ।

तपाईंलाई असाध्यै गर्मी भयो । घामको राप र तातो हावाले तपाईंलाई खपिनसक्नु भयो । यतिबेला शरीरभित्रका डाक्टरले सितलता खोज्छ । त्यही कारण शरीरमा पसिना आउँछ । पसिनाले शरीरलाई सितल बनाउँछ ।

यसरी शरीर भित्रको डाक्टरले तपाईंलाई साथ दिन्छ । साथै शरीरमा कुनै गडबडी भएको जनाउ पनि दिन्छ । तपाईंलाई सूचित पनि गर्छ ।

तपाईंको शरीरमा धुलो-धूँवाको कण प्रवेश गर्‍यो वा धेरै चिसो लाग्यो । रुँघा लाग्छ । तपाईंको शरीरको कुनै अंगमा समस्या भयो, ज्वरो आउँछ । ज्वरो आउनु आफैमा रोग होइन । तर, यसले शरीरभित्र केही गडबडी छ भन्ने संकेत गर्छ ।

तपाईंले ख्याल गर्नुभएको छ, धेरैजसो शारीरिक समस्या औषधी नखाई, शल्यक्रिया नगरी आफै ठिक हुन्छ । किन ? किनभने शरीरभित्रको डाक्टरले आफै उपचार गरिदिन्छ । तपाईंको शरीरमा चोट लाग्यो । औषधी लगाउनुभएन वा लगाउन पाउनुभएन । त्यो चोट त्यतीकै रहन्छ ? रहँदैन । विस्तारै जाती हुन्छ । कसरी ? शरीर भित्रका डाक्टरले त्यसको उपचार गर्छ ।

को छ शरीरभित्र ?

हाम्रो शरीरभित्र वास्तवमै डाक्टर छ । त्यो डाक्टर नै हो शरीरको कार्यप्रणाली संचालन गरिदिने । त्यही डाक्टर हो, जसले शरीरलाई बाह्य रोगबाट सकेसम्म बचाएर राख्छ । त्यही डाक्टर हो, जसले शरीरका कतिपय समस्याबारे जनाउ दिन्छ ।

यो एक प्रणाली हो । हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई निरोगी र तन्दुरुस्त राख्नका लागि हर-संभव प्रयास गर्छ । उक्त प्रणालीले शरीरलाई हानी हुने, दुःख दिने, समस्यामा पार्ने कुनैपनि कुरा सहदैन । नराम्रो कुरालाई शरीरबाट बाहिर निकाल्न खोज्छ । शरीरका अंगहरुलाई सुरक्षित राख्न खोज्छ । शरीरलाई निरोगी बनाउने, रोगसँग लड्ने, अंगहरुको कार्यसंचालनमा सघाउ पुर्‍याउने सबै काम उक्त प्रणालीबाट भइरहेको हुन्छ । चुपचाप, चुपचाप । कुनै हल्ला नगरी शरीरभित्रको प्रणालीले हामीलाई निरोगी एवं तन्दुरुस्त राखिरहेको हुन्छ ।

तर, हामी उक्त प्रणालीलाई महसुष गर्दैनौ । शरीरको भाषा बुझ्दैनौ । शरीरभित्रका डाक्टरसँग अन्र्तक्रिया गर्दैनौ । त्यही कारण शरीर भित्रका डाक्टर कमजोर हुँदै जान्छ । पराजित हुँदै जान्छ । तब शरीरभित्र रोगले प्रवेश पाउँछ । हामी रोगी र जिर्ण हुँदै जान्छौ ।

यदि शरीरभित्रको डाक्टरसँग अन्र्तसंवाद गर्ने, उनको भाषा बुझ्ने, उनको आग्रह पालना गर्ने हो भने हामी निरोगी, तन्दुरुस्त, खुसी जीवन बाँच्न सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment