Comments Add Comment

के बच्चालाई लाज लाग्दैन ?

एक बच्चाले होमवर्क छुटाउँछ । वा पाठ कण्ठ गर्न सक्दैन । उनलाई शिक्षकले बेञ्चमाथि उभ्याउँछ । एउटा कक्षा अवधीभर उनले त्यसैगरी उभिएर बस्नुपर्ने हुन्छ ।

हामी के सोच्छौ ? बच्चाले अब गल्ती दोहोर्‍याउने छैनन् । गल्ती गरेमा सजाय भोग्नुपर्छ भन्ने भय पाल्छन् । यही भयले गर्दा उनीहरुले होमवर्क गर्छन्, पाठ पढ्छन् । प्रश्न सोधेको समयमा फटाफट जवाफ दिन्छन् ।

सही हो, सजायले बच्चा डराउँछन् । संभवत उनले के पनि थाहा पाउँछन् भने गल्ती गरियो भने सजाय भोग्न तयार हुनुपर्छ । सायद सजाय छल्नकै लागि उनले गल्ती दोहोर्‍याउँदैनन् । तर, यो एकपाटो विश्लेषण भयो ।

अब अर्को पाटोबाट सोचौं । शिक्षकले उनलाई आफ्ना सहपाठीका अगाडि गाली गरे । बेञ्चमा उभ्याए । त्यसबेला उनका सहपाठीहरु उनलाई हेर्दै गिज्याउँदै थिए । हाँस्दै थिए । उनलाई यसरी सजाय भोग्नुपर्दा लाज लाग्यो । सहपाठीको सामुन्ने आफु कमजोर बन्नुपर्दा ग्लानी भयो ।

भालिपल्ट विद्यालय आउँदै गर्दा अघिल्लो दिनकै कुराले उनको मन अमिलो भयो । उनी सहपाठीको अघिल्तिर खुलेर बस्न र हाँस्न सकेनन् ।

हामी बच्चाको मनोविज्ञानलाई पुरै उपेक्षा गर्छौ । बच्चामाथि गरिने कुनैपनि व्यवहारले उनलाई कस्तो असर गर्छ ? उनको मनमा कस्तो ठेस पुग्छ ? हामी कहिल्यै सोच्दैनौ । यसकारण सोच्दैनौ कि, बच्चा भनेका बच्चा हुन् । उनलाई लाज लाग्दैन । तर, बच्चाभित्र पनि त्यही भाव-आवेग हुन्छ, जो हामी ठूला मान्छेमा हुन्छ ।

सहपाठीको अघिल्तिर कसैले होच्याएमा हामीलाई लाज लाग्छ । हामी रातोपिरो हुन्छौ । ठिक त्यसैगरी बच्चालाई पनि लाज लाग्छ ।

हामी अभिभावक पनि कहिले काहीँ बच्चाको गुनासो लिएर विद्यालयमा पुग्छौ । उनले घरमा होमवर्क गर्न नमानेको, चकचक गरेको, पढ्न मन नगरेको कुरा उनीहरुकै अघिल्तिर गरिदिन्छौ । त्यती मात्र होइन, राम्ररी खाना नखाएको, बिहान अबेरसम्म सुतेको, नुहाई-धुवाई गर्न नमानेको कुरा पनि हामी उनकै सहपाठीको सामुन्ने शिक्षकलाई सुनाइदिन्छौ ।

हामी सोच्छौ, आफ्नो बच्चा शिक्षकसँग डराउँछन् । शिक्षकले भनेको टेर्छन् । त्यसैले बच्चाको नराम्रो आनीबानी वा कमजोरी शिक्षकलाई सुनाइदिनुपर्छ । शिक्षकको डरले पनि उनीहरु सुधि्रन्छन् ।

तर, यसले उनमा सुधार आउँछ कि अरु बढी ग्लानी भाव पैदा हुन्छ ? हामी सोच्दैनौ । बच्चाको अघिल्तिर बच्चाकै गल्ती/कमजोरी औल्याइदिदा उनीहरुको लज्जित हुन्छन् । आफुलाई अपमानित अनुभूत गर्छन् । त्यसले उनीहरुमा ग्लानी पैदा हुन्छ ।

बच्चालाई बच्चाको आँखाले हेरौं

बच्चालाई हामी अभिभावक/शिक्षकको आँखाले हेर्छौ । उनलाई हामी बच्चाको आँखाले कहिल्यै हेर्दैनौ । बच्चाको आफ्नै संसार हुन्छ । उनका सहपाठी हुन्छन् । सहपाठी सामु उनको आफ्नै चिनारी हुन्छ । तर, बच्चालाई हामी उनको दुनियामा राखेर कहिल्यै सोच्ने वा व्यवहार गर्ने गर्दैनौ । बच्चा भनेका बच्चा हुन् ।

हामीलाई जायज लागेको वा हामीले सही ठहर्‍याएका कुरा नै उनको जीवनमा पनि लागु हुन्छ । उनलाई जे भनेपनि हुन्छ । जे गरेपनि हुन्छ । जे गराएपनि हुन्छ । हामी बच्चाको मनोविज्ञानमा कहिल्यै प्रवेश गर्दैनौ । हाम्रो आँखाले जे देख्छौ, त्यही रुपमा बुझ्छौ ।

सहपाठी, दौतरीको सामुन्ने बच्चालाई राखेर हामी उनकै कुरा गरिदिन्छौ, उनकै गल्ती औंल्याइदिन्छौ, उनको हर्कत खुलाइदिन्छौ । यस्ता कुराले उनलाई आफ्ना सहपाठी अघि लाज लाग्छ । हामीलाई लाग्दैन कि बच्चाले उनको सहपाठी, दौतरीको अघिल्तिर कुनै नकारात्मक टिप्पणी गरेको रुचाउँदैनन् । यस्ता कुराले उनलाई केही फरक पार्दैन भन्ने बुझ्छौ । अथवा सहपाठीकै अघिल्तिर उनको टिप्पणी गरिदिएपछि त्यो बानी सुधार गर्छ भन्ने सोच्छौ । तर, त्यसको परिणाम फरक हुन्छ । यस्ता कुराले उनको भावनामा ठेस पुग्छ । ग्लानी भाव जाग्छ । आफ्ना सहपाठी एवं दौतरी सामुन्ने आफुलाई कमजोर आँक्न थाल्छन् । हामीले ठानेजस्तै उनीहरुले लाज पचाउँदैनन् ।

यसको मतलब यो होइन कि, बच्चाले जति गल्ती गरेपनि त्यसलाई ढाकछोप गर्नुपर्छ । त्यस्ता कुराले उनीहरुमा ग्लानी भाव पैदा हुन्छ भनेर भन्नै हुँदैन ।

उनीहरुको गल्ती, कमजोरी सुधार्नुपर्छ । तर, अरुको सामुन्ने उनलाई नाङ्गो बनाएर, लाज र डर देखाएर सुधार हुँदैन । यसका लागि रचनात्मक विधी अपनाउनुपर्छ । बच्चाको मनोवृत्ति, अवस्था हेरेर उनलाई उनले गर्ने गल्ती र कमजोरी महसुष गराउनुपर्छ । र, त्यस्ता गल्ती कमजोरी सुधार्ने विधी वा तौर तरिका पनि सिकाइदिनुपर्छ । घृणा, अपहेलनाको शैलीमा गरिने व्यवहारले बच्चाको सुधार हुँदैन, उनमा थप ग्लानी भाव पैदा हुन्छ । किनभने उनीहरुलाई पनि आदर, सम्मानको जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment