Comments Add Comment

रविनाको सफल शल्यक्रिया

२६ जेठ, काठमाडौं । मलद्वार विना जन्मिएकी रविना योगीको सफल शल्यक्रिया भएको छ । ग्रीनसिटी अस्पतालले आठ वर्षीया रविनाको निःशुल्क अपरेशन गरी बन्द मलद्वार खोलिदिएको हो ।

बन्द मलद्वार खोलेर ठूलो आन्द्रासँग जोडेको वरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालले बताए । उनले भने, ‘यसअघि दुई पटक गरेको शल्यक्रिया सफल भएको रहेनछ । हामीले पाँच घण्टा लगाएर अप्रेशन गरेका हौं ।’

अबको ६ महिनापछि रविनाले मलद्वारबाटै दिसा गर्न पाउनेछिन् । यसअघि उनले पेट छेउमा बनाइएको प्वालबाट दिसा गर्दै आएकी थिइन् ।

दाङ तुल्सीपुरकी रविनाको जन्मिएको सातौं दिन अप्रेशन गरी पेटमा प्वाल पारिएको थियो । ‘पेटमा बनाइएको प्वालमा प्याड जोडिदिन्छौं । दिनभर त्यही प्याडमा दिसा जम्मा हुन्छ । बेलुकी प्याड झिकेर फ्याकिदिन्छौं’, रविनाकी आमा लक्ष्मीले भनिन् ।

‘स्कुल जाँदा पनि पेटबाट दिसा गर्ने भन्दै साथीहरुले जिस्क्याउँथे । त्यसैले स्कुल नै जान मन लाग्दैनथ्यो’, अप्रेशनपछि रविनाले भनिन्, ‘अब त साथीहरुले पनि जिस्क्याउँदैनन् होला नि !’

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा करिव २५ सय बच्चामध्ये एक मलद्वार विना जन्मन्छन् । डा. दाहालका अनुसार यसरी जन्मिएको बच्चाको २४ घण्टामा अप्रेशन गरिहाल्नुपर्छ ।

रविनाकी बाबा शिवहरिका अनुसार यसअघि विभिन्न अस्पतालमा उपचार गर्दा चार लाख रुपैयाँ ऋण लागेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र जटिल समस्या भएकाले निःशुल्क अप्रेशन गरिदिएको ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताए । उनले भने, ‘गरिब, असाहाय र दलित परिवारको मानिसलाई असपतालले मासिक दुई वटा निःशुल्क अप्रेशन गर्दै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment