Comments Add Comment

बिजुलीको तार टाँग्न सीडीओले सकेनन्, मन्त्री नै आउनुपर्ने भो !

सांसद अमनलाल मोदी भन्छन्- जनताले मान्दैनन् त म के गरौं ?

२६ जेठ, बिराटनगर । ‘क्यान्सर लाग्छ’ भन्दै सार्वजनिक बाटोमा बिजुलीको हाइटेन्सन तार टाँग्न जनताले दिएनन् । स्थानीय सांसदले समेत ‘क्षतिपूर्ति नदिएसम्म जनता मान्दैनन्’ भन्दै लाचारी प्रकट गरे । अन्ततः ३ किलोमिटर तारको बाधाअड्काउ, फुकाउन ऊर्जामन्त्री वर्षमान पुनले नै हवाइजहाज चढेर विवाद स्थलमा जानुपर्ने अवस्था आएको छ ।

सार्वजनिक बाटोमा बिजुलीको तार टाँग्न नदिइएको घटना हो मोरङको कटहरी सब स्टेसन चार्जको ।

अघिल्लो साता संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारढ सांसद नेकपाका सांसद अमनलाल मोदीसँग भनाभन भयो । भनाभनको विषय थियो- मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सब स्टेशन चार्ज गर्न नदिएको विषय ।

अहिले कुलमान र अमनलालको भनाभनको विषय सेलाएको छ । तर, विवादको विषय बनेको सब स्टेसन सञ्चालन गर्नेे कार्य अहिलेसम्म हुन सकेको छैन । विद्युत प्राधिकरणले मोरङको कटहरीमा सब स्टेसन निर्माण गरेको दुई महिना बढी भयो । तर, स्थानीयले सार्वजनिक बाटोमा समेत बिजुलीको तार टाँग्न अवरोध पुर्‍याउँदै आएका छन् ।

दुहवी सब स्टेसनका लागि ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम नेकपा सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

मोेदीको निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न स्थानीयले नदिएपछि काम अलपत्र अवस्थामा छ । उक्त प्रसारण लाइनमध्ये दुहबी क्षेत्रको हाइवेमा भने डेढ किलोमिटर अन्डरग्राउण्ड गरिएको छ ।

स्थानीयले भने ३३ केभी हाइटेन्सनको लाइन विस्तार गर्दा क्यान्सर लाग्ने, छालाको समस्या देखिने, गर्भपतन हुने र हाइटेन्सन लाइन विस्तार गरिएको जग्गाको मूल्याङ्कन भन्दै कुनै पनि हालतमा आफ्नो गाउँबाट विद्युत विस्तार गर्न नदिने बताउँदै आएका छन् ।

स्थानीयवासी र सांसद मोदी विजुलीको लाइन अरुतिरैबाट घुमाएर लैजानुपर्ने बताउँछन् ।

तर, नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख बोधराज ढकाल सब स्टेशनको विद्युत बिस्तारको काम अन्तिम समयमा आएर लाइनको रुट परिवर्तन हुनै नसक्ने बताए । उनले स्थानीयले भनेजस्तो वस्तीबाट प्रसारण लाइन विस्तार गरेको नभइ सकडको किनाराबाट ल्याइएको बताए ।

‘कतिपय शहरीक्षेत्रमा पनि हाइटेन्सन लाइन विस्तारको काम भएका छन्’, प्रमुख ढकालले भने ‘शहरी क्षेत्रमा कुनै दुर्घटना भएको अहिलेसम्म जानकारी छैन, केही मानिसले कुत्सित वदनियत राखेर विस्तारको कामलाई रोक्ने बाहेक अरु केही देखिँदैन ।’

ढकालका अनुसार कटहरी औद्योगिक क्षेत्रको रुपमा बिस्तार हुदै गएको छ । अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकीसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन । त्यसैले कटहरी सब स्टेसन तत्काल चार्ज गर्न नसकेको खण्डमा विराटनगरबासीले फोर्स लोडसेडिङको समस्या व्योहोर्नुपर्ने अवस्था आउन सक्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आयोजना सञ्चालनको काम स्थानीयको अवरोधका कारण अगाडि बढ्न नसकेको जानकारी दिए । उनले भने, ‘आयोजना सञ्चालनका लागि छलफल र वार्ताको माध्यमबाट सावधान गर्ने प्रयास जारी छ तर, स्थानीय व्यक्ति अनुसारको फरक-फरक मागका कारण समस्याको सम्वोधन हुन सकेको छैन ।’

प्रजिअ केसीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी, प्राधिकरणका प्रतिनिधि, व्यापारी, उद्योगी, गाउँपालिकाका अध्यक्ष र स्थानीयवासीसहितको सर्वपक्षीय भेला गरिए पनि स्थानीयले असहमति जनाएका छन् । स्थानीयको समस्या सम्बोधनका लागि हरसम्भव प्रयास गर्ने अवस्थामा स्थानीय प्रशासन रहेको तर अबको १०/१५ दिनसम्म पनि अवरोध नहटाए सरकारले काम अघि बढाउने तयारी गरेको छ ।

विद्युत प्राधिकरणका अधिकारीहरका अनुसार ०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले अमनलाल मोदीलाई असहयोग गरेका थिए । त्यसकै रीस पोख्न सांसद मोदीले पनि स्थानीयलाई देखाएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणका अधिकारीहरुको आरोप छ ।

दुहबीका उद्योगीहरुको आरोप के छ भने सांसद अमनलाल मोदी माओवादी जनयुद्धबाट आएका हुनाले उनी उद्योगपतिहरुलाई वर्गदुश्मन ठान्ने गर्छन् । त्यसैले उनी उद्योगपतिहरुले विजुली पाउने कुरामा खुशी देखिँदैनन् ।

के भन्छन् स्थानीय ?

स्थानीय शीतलराम विश्वासले स्थानीयको माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा आफनो क्षेत्रबाट विद्युत प्रशारण लाइन विस्तारका कामअघि बढ्न नदिने बताए ।

अर्का स्थानीय भरतलाल खाँ चौधरीले दुहबीको सब स्टेशनबाट दक्षिण हुँदै खुर्केटोली, पोठिया, लखन्तरी बाइपासको रोडबाट प्रशारणलाईन लान जमिनदारहरुले रोकेपछि प्राधिकरणले ग्रामथाम गाउँपालिकाको गिदनियाबाट प्रशारण लाईन विस्तार गरेको आरोप लगाए ।

उनले पुरानो रुटबाट तय भएको विद्युत विस्तारको काम जमीनदारहरुले आफनो जमीन परेकाले रोकेकाले विकल्पका रुपमा जानकारीनै नदिइ आफनो क्षेत्रबाट विद्युत विस्तारको काम अघि बढाएकाले कुनै पनि हालतमा विद्युत विस्तारको काम अघि बढ्न नदिने बताए ।

सांसद मोदीले भने विद्युत लाइन विस्तारमा आफूले कुनै अवरोध नगरेको अनलाइनखबरलाई बताए । तर, आफू जनप्रतिनिधिभएकाले स्थानीयवासीको विरुद्धमा जान नसक्ने उनले बताए । यस विषयमा आफूले मन्त्री वर्षमान पुनसँग पनि कुराकानी गरेको र मन्त्रीले समेत कटहरीमा स्थलगत अवलोकनमा जाने आफूलाई बताएको मोदीले जानकारी दिए ।

स्थानीयवासीको मागअनुसार उनीहरुलाई क्षतिपूर्ति दिएर वा रुट परिवर्तन गरेर समस्या समाधान गर्न सकिने सांसद मोदीले विकल्प सुझाए ।तर, सार्वजनिक बाटोमा समेत बिजुलीको पोल टाँग्न नदिनु त विकासविरोधी तरिका भएन र भन्ने प्रश्नमा सांसद मोदी भन्छन्- यो चानचुने लाइन हो र ? ३३ केभी हाइटेन्सनको लाइन हो ! तैपनि सुरुमा यसको विपक्षमा थिइनँ । अहिले पनि म केही भन्दिनँ तर, जनताले नै मान्दैनन् । सिडियो कार्यालयमा छलफल हुँदा मैले क्षतिपूर्ति दिएर मिलाउनोस् भनेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment