Comments Add Comment

अब के हुन्छ लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट पाल्पामा बाँदर लखेटिँदै

२८ जेठ, काठमाडौं । स्थानीय तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्न लोकसेवाले थालेको प्रक्रिया रद्द गर्न संसदीय समितिले दिएको निर्देशन र त्यसपछि बढेको अन्योलताको विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित छन् । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता, दलभित्रको किचलो, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषयमाथि पनि पत्रपत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् ।

कान्तिपुर दैनिकले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि थालेको प्रक्रिया खारेज गर्न संसदीय समितिले दिएको निर्देशनपछि अन्योलता बढेको लेखेको छ ।

लोकसेवाले ५१५ स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन त्रुटिपूर्ण भएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, विज्ञापन प्रक्रिया के हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन ।

कान्तिपुर दैनिकका अनुसार समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार साँझसम्म कुनै निर्णय गरेका छैनन् । मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले समितिको चिठी अबेर मात्रै प्राप्त भएको र त्यो छलफलकै क्रममा रहेको कान्तिपुरसँग बताएका छन् । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले समितिको निर्णयको औपचारिक जानकारी आइनसकेको जनाए । उनले समितिको पत्र प्राप्त भएपछि आयोग बैठकबाट निर्णय हुने जानकारी दिए ।

ओएन्डम गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक, समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएकाले प्रक्रियाले लामो समय लिने निश्चित छ ।

स्रोत नखुलेको रकम पटकपटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पीत्त शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु गरिएको अर्को खबर पनि कान्तिपुरमा छ ।

फूलको आँखामा फूलै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनुसन्धान थालेका हुन् ।

विभागले उनको सम्पत्तिमाथि छानबिन थाले पनि प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाव दिइरहेको स्रोतको हवाला दिँदै कान्तिपुरले समाचार लेखेको छ ।

नयाँ पत्रिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामाथि निरन्तर प्रश्न उठाउँदै आएको छ । आज पनि उसले यसबारे मुख्य समाचार लेखेको छ ।

नयाँ पत्रिकाका अनुसार २ अर्ब ३७ करोडको प्रधानमन्त्री रोजगार कार्यक्रममा निर्माण सामग्री खरिदमा मात्रै ७१ करोड खर्च भएको छ । कतिपय हास्यास्पद कार्यक्रममा रकम खर्च गरिएको छ । पाल्पामा रोजगार कार्यक्रमको बजेटबाट बाँदर लखेट्ने तयारी गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले रोजगार कार्यक्रमको बजेटमार्फत बाँदर लखेट्ने योजना बनाएको हो । उक्त गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले व्यक्तिगत बाँदरले जनतालाई हैरानी दिएकाले रोजगार कार्यक्रमको बजेट यसमा खर्च गर्न लागेको नयाँ पत्रिकासँग बताएका छन् ।

लोकसेवाको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई मुख्य समाचार बनाएको नागरिकले कपिलवस्तुमा मात्रै साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण भएको लेखेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमित गरिएको हो ।

गुठी विधेयकको विरोधमा सोमबार राजधानीमा भएको प्रदर्शनको तस्वीर छापेको अन्नपूर्णले ठूला दलभित्रको सांगठनिक किचलोबारे एक सामग्री छापेको छ । राजधानीले सेनाका ट्याक सुट खरिदनमा अनियमितता भएको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले नेपालमा श्रमको भविष्य उज्ज्वल भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment