Comments Add Comment

क्रिकेट खेल्न छाड्ने शहजादको चेतावनी

काठमाडौं । मोहम्मद शहजादलाई घर पठाएपछि अफगानिस्तान क्रिकेट विवादमा परेको छ । उनलाई चोटका कारण खेल्न नसक्ने भन्दै घर पठाइएको हो तर, विकेट किपर ब्याट्सम्यान शहजादले आफू फिट रहेको बताएका छन् ।

शहजाद अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान हुन्, जसले एकदिवसीय क्रिकेट खेलमा देशका लागि सबैभन्दा धेरै रन बनाएका छन् । ८४ एकदिवसीय खेलेका उनले ६ शतक र १४ अर्धशतकसहित २ हजार ७२७ रन बनाएका छन् ।

विश्वकप अघि पाकिस्तानसँग भएको अभ्यास खेलमा उनको घुडाँमा चोट लागेको थियो । तर उनले विश्वकपका दुई खेल खेले । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध उनको ब्याट चलेन दोस्रो खेलमा श्रीलंकाविरुद्ध पनि राम्रो गर्न सकेन ।

दुबै खेलमा अफगान हार्‍यो । घुँडामा लोको चोटका कारण उनी खेल्न नसक्ने भन्दै घर पठाइयो । राजधानी काबुलमा पत्रकारहरुसँग शहजादले कुरा गर्दै आफु खेल्न सक्ने हुँदाहुँदै पनि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का पदाधिकारीले राजनीति गरेर आफूलाई टिमबाट हटाइएको दाबी गरेका छन् ।

उनले भने ‘डाक्टरको भनाइअनुसार २-३ दिन विश्राम गरेको भए फिट हुने थिएँ । तर के समस्या हो मलाई थाहा छैन । यदि उनीहरुलाई समस्या छ भने मलाई भने हुन्छ । यदि मैले खेलेको मन पर्दैन भने म खेल छोडिदिन्छु ।’

विश्वकप खेल्ने आफ्नो सपना रहेको भन्दै उनले भनेका छन्, २०१५ मा पनि मलाई खेलाइएन । -फिटनेशको कारण उनलाई छनोट गरिएको थिएन) अहिले पनि त्यस्तै भयो । म परिवार र साथीभाइसँग परामर्श गर्न जादैछु । अब मेरो मन क्रिकेटमा छैन ।’

अफगानिस्तान क्रिकेट बोर्डले भने शहजाखदको दाबीलाई अस्वीकार गरेको छ । क्रिकइन्फोसँग कुरा गर्दै बोर्डका प्रमुख कार्यकारी असदउल्लाह खानले भनेका छन्, ‘उनको आरोप सरार गलत हो । उनी घाइते भएकै कारण निकालेको हो । हामीले उनको मेडिकल रिपोर्ट आईसीसीलाई पठाएका थियौं । छलफलपछि आईसीसीले अनुमति दिएपछि हामीले उनलाई निकाल्दै अर्का खेलाडी ल्याएका हौं ।’

‘उनी मुख्य ब्याट्सम्यान हुन् । उनी नहुँदामा टिममा धेरै फरक पर्छ र महत्वपूर्ण खेलाडीलाई निकाल्न निर्णय गर्न निकै कठिन भएको थियो’, खानले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment