Comments Add Comment

बच्चाको शिक्षकः समर्पित कि जागिरे ?

मानौ स्वास्थ्य-उपचारका लागि तपाईं कुनै चिकित्सककहाँ पुग्नुभयो । तपाईं के चाहनुहुन्छ ? ‘मेरो उपचार फलानो चिकित्सकले नै गर्नुपर्छ । मेरो स्वास्थ्य परीक्षण फलानो चिकित्सकले नै गर्नुपर्छ ।’ किनभने जो-कोहीको भर हुँदैन । सबै चिकित्सक दक्ष र अनुभवी हुन्छ भन्ने छैन । त्यही कारण तपाईं अन्धधुन्द जो-कोही चिकित्सकबाट उपचार गराउनुहुन्न । किनभने तपाईंलाई लाग्छ, ज्यानको सवाल हो ।

अदक्ष चिकित्सकको फेला परियो भने ज्यान जान के बेर ? यस्तै भयले गाँज्न सक्छ ।

त्यसैगरी तपाईं शिकारु वा अनुभवहिन चालकले स्टेयरिङ समाएको गाडीमा चढ्न डराउनुहुन्छ । किनभने यस्ता चालकले तपाईंलाई जुनसुकै बेला दुर्घटनामा पार्न सक्छ । त्यसैले जस्तोसुकै चालकले हाँकेको गाडीमा चढ्न चाहनुहुन्न । किनभने तपाईंलाई लाग्छ, ज्यानको सवाल हो ।

तर, बच्चाको भविष्यको सवालमा हामी यति धेरै सचेत र सर्तक हुँदैनौ । हामीलाई विद्यालय भर्ना गराइदिएपछि छोराछोरीको भविष्य सुरक्षित हुन्छ भन्ने लाग्छ । छोराछोरीलाई भर्ना गर्ने बखत हामी सोध्छौ, कुन विद्यालय राम्रो ? कहाँ पढाउन उचित होला ?

यसको जवाफ विद्यालयको बाहिरी तामझाम हेरेर दिइन्छ । कस्तो विद्यालय उचित होला भनेर खोजिरहँदा त्यहाँका शिक्षक/शिक्षिका कस्ता होलान् भनेर हामी घोत्लिदैनौ । जबकी हाम्रो बालबच्चाको भविष्य तिनै शिक्षक/शिक्षिकाको हातमा हुन्छ ।

कुनैपनि शिक्षकलाई आफ्नो बच्चा पढाउने जिम्मा दिनु भनेको आफ्नो बच्चाको भविष्य उनीहरुलाई सुम्पनु हो । एउटा शिक्षकको हातमा सम्पूर्ण बच्चाको भविष्य हुन्छ । त्यसैले आफ्नो बच्चालाई पढाउने शिक्षक/शिक्षिका कस्ता छन् भन्ने कुरामा तपाईं चनाखो हुनुपर्छ । सजग हुनुपर्छ ।

जसरी सिकारु चालकले तपाईंलाई दुर्घघटनामा पार्न सक्छ, त्यसैगरी कमसल शिक्षकले तपाईंको बालबच्चाको भविष्य उजाड बनाइदिनसक्छ ।

शिक्षकको संवेदनशिलता

हामीकहाँ शिक्षकको आयम र मूल्य खुम्चदै गएको छ । शिक्षक भनेको समग्र मार्गदर्शक हुन् । उनकै मार्गदर्शनमा एउटा सिंगो पुस्ता हुर्कन्छ । यसर्थ सम्पूर्ण समाजको भविष्य पनि शिक्षकको हातमा नै हुन्छ ।

शिक्षक आफैमा एक आदर्श हुन् । विद्यार्थीका निम्ति शिक्षकको छवी यस्तो हुनुपर्छ कि, जसलाई उनले आफ्नो आदर्श बनाउन सकोस् । आफ्नो शिक्षकलाई हेरेर नै उनले भविष्यको लक्ष्य तय गर्न सकोस् । जीवनको मूल्य बुझ्न सकोस् ।

शिक्षण एक संवेदनशिल पेशा हो । उनको हातमा कलिला बच्चाहरु हुन्छन्, जसको कुनै लक्ष्य हुँदैन । धारणा हुँदैन । दृष्टिकोण हुँदैन । ति बच्चाहरुलाई कसरी लक्ष्य पहिल्याउने, कस्तो धारणा बनाउने भन्ने कुरामा शिक्षक जिम्मेवार हुन्छन् । शिक्षकले सही ढंगले मार्गदर्शन गरेमा एउटा बच्चाले आफ्नो जीवनलाई पनि सही तरिकाले डोहोर्‍याउन सक्छ । शिक्षकले गलत बाटो देखाइदिए एउटा बच्चा पथभ्रष्ट हुन्छ ।

शिक्षणको यही संवेदनशिलतालाई बुझेर नै कतिपय उन्नत मुलुकमा यस पेशालाई श्रेष्ठ पेशा मानिन्छ । जो कोही शिक्षक हुन पाउँदैनन्, सक्दैनन् । जो हुन्छन्, उनीहरुले लोभलाग्दो प्रतिष्ठा आर्जन गर्छन् । सर्वोत्कृष्ट शिक्षण प्रणालीमा विश्वलाई अगुवाई गरिरहेको फिनल्यान्डमा शिक्षक बन्नुलाई ठूलो सौभाग्य मान्ने गर्छन् । त्यस्तै अन्य कतिपय मुलुकमा पनि शिक्षण पेशाको विशिष्ठ स्थान छ ।

हाम्रा शिक्षक कस्ता-कस्ता ?

अब हाम्रो समाजतर्फ फर्कौं । हाम्रा बालबच्चालाई पढाउने शिक्षक/शिक्षिका कस्ता छन् ? निश्चय पनि शिक्षक भन्नसाथ सबै कुराको ज्ञाता हुनुपर्छ भन्ने होइन । उनले पनि क्रमस सिक्दै र सिकाउँदै जाने हो । सिक्ने चरण कहिल्यै समाप्त हुँदैन । यसकारण शिक्षक पनि पूर्ण पोख्त, दक्ष हुनुपर्छ भन्ने होइन । यद्यपी एउटा शिक्षक आफ्नो पेशामा समर्पण भावले काम गरिरहेका छन् कि जागिर खाने मनासयले ?

जागिरे मानसिकताका शिक्षकसँग शिक्षकको गुण हुन्छ भन्ने हुँदैन । किनभने शिक्षक भनेको आफैमा समर्पणको पेशा हो । शिक्षक यस्तो हुनुपर्छ कि जसलाई आफ्नो पेशाप्रति अथाह श्रद्धा, लगाव र झुकाव हुनुपर्छ । उनी आफ्नो पेशामा रमाउनुपर्छ ।

बालबच्चा, कक्षाकोठा, पाठ्यपुस्तक सबैसँग उनको घनिष्ठता हुनुपर्छ । आफ्नो पेशाको संवेदनशिलतालाई उनले बुझेको हुनुपर्छ ।

यस्ता शिक्षकहरु बालबच्चासँग झर्को मान्दैनन् । कक्षाकोठाप्रति वितृष्णा हुँदैन । उनीहरु बालबच्चासँग झ्याम्मिन्छन् । उनीहरुको भावना बुझ्छन् । उनीहरुको मनोविज्ञान केलाउँछन् । कुन बच्चाको रुची र क्षमता के हो भन्ने कुरा जान्दछन् । अतः कुन बच्चालाई कस्तो सिकाई आवश्यक छ भन्ने कुरा थाहा पाउँछन् ।

सिकाईका नयाँ र सरल विधीहरु खोज्छन् । कसरी सिकाउँदा प्रभावकारी हुन्छ ? के सिकाउँदा जीवनोपयोगी हुन्छ ? उनीहरु यसमा घोत्लिन्छन् ।

यस किसिमको शिक्षकले बालबच्चालाई सही लक्ष्य निर्धारण गर्न र पहिल्याउन सहयोग गर्छ । शिक्षक अब शिक्षकभन्दा बढी सहजकर्ता हुनुपर्छ ।

कतिपय शिक्षक केही रहर र केही वाध्यताले जागिर खान पुगेका हुन्छन् । विद्यालयमा पढाउनु भनेको उनहीहरुको लागि केवल जागिर खानु मात्र हो भन्ने बुझाई हुन्छ । उनीहरु बच्चालाई पाठ घोकाउँछन्, निर्धारित समयसम्म पढाउँछन् । र, तलब आउने दिनगन्ती गर्दै बस्छन् । उनीहरु जीवनभर शिक्षक बन्ने सोंच पनि बनाउँदैनन् । शिक्षण पेशामा रमाउँदैनन् । यसलाई केवल ड्युटी सम्झेर निर्वाह मात्र गर्छन् । उनीहरुलाई सिकाईका विधीहरु जान्नु छैन । उनीहरुलाई विद्यार्थीको मनोविज्ञान बुझ्नु छैन । उनीहरुलाई नयाँ नयाँ कुरामा अपडेट हुनु छैन । किनभने उनीहरुलाई पाठ सकाउनु मात्र छ । पाठ कण्ठ गराउनु मात्र छ । र, मासिक पारिश्रमिक बुझ्नु मात्र छ ।

यस किसिमका शिक्षकहरु घातक हुन्छन् । जागिरे मानसिकताका शिक्षकले तपाईंको बच्चालाई त्यती नै घोकाउँछ, जति पाठ्यपुस्तकमा छ । उनीहरुको ध्येय भनेको बालबच्चालाई नयाँ कुरा सिकाउनु, बुझाउने होइन, बरु पाठ कण्ठ गराउनु हो । यसरी पढाइएका बच्चाहरु असली शिक्षाबाट बञ्चित हुन्छन् । कक्षाकोठामै पनि उनीहरुले केही सिक्दैनन्, जो सिक्नुपर्ने र बुझ्नुपर्ने थियो ।

अहिले कतिपय निजी विद्यालयले कम पारिश्रमिक लिने शिक्षक खोज्छन् । शिक्षण पेशामा उनीहरुको संलग्नता, रुची, समर्पण, लगाव, अनुभव केहीपनि हेरिदैन । उनीहरुले आर्जन गरेको शैक्षिक प्रमाणपत्र भए हुन्छ ।

यसरी शिक्षक बनेकाहरु आफ्नै पारिश्रमिक, आफ्नै पेशाबाट सन्तुष्ट हुँदैनन् । त्यो असन्तुष्ट उनीहरुले कक्षाकोठामा पनि पोख्न सक्छन्, जसको असर तपाईंको बच्चालाई पर्छ ।

त्यसैले कुनैपनि तपाईं सजग हुनुपर्छ कि, तपाईंका बच्चालाई पढाउने शिक्षक कस्ता छन् ? कस्तो शिक्षकको हातमा तपाईंले आफ्नो बच्चाको भविष्य सुम्पनुभएको छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment