Comments Add Comment

‘रेड बुल’ को ट्रेडमार्क चोरी गर्ने ‘रेड ब्लु’ माथि कारवाही

२८ जेठ, काठमाडौं । लोकप्रिय पेय पदार्थ रेड बुलको ट्रेडमार्क चोरी गरेको आरोपमा उद्योग विभागले एक कम्पनीलाई कारबाही गरेको छ । रेडबुलको उजुरीपछि ‘रेड ब्लु’ लाई पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनअनुसार उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

रेडबुलले क्षतिपूर्तिसमेत भराइ पाउँ भन्दै उजुरी हालेको थियो । तर विभागले जरिबाना गरे पनि क्षतिपूर्ति भने तिर्न नपर्ने बताएको छ । रेडबुलले उजुरी हालेपछि रेड ब्लु पनि दर्ता प्रक्रियामा गएको थियो । तर १० वर्षअघि नै दर्ता भएको रेडबुलको डिजाइन चोरी गरी हुबहु उत्पादन गरेर बिक्री गरेको विभागले ठहर गरेको छ ।

गोर्खा ब्रुअरीले थाइल्याण्डबाट आयात गरेर उद्योग विभागमा ट्रेडमार्क दर्ता गरी बिक्री वितरण गर्दै आएको छ । ट्रेडमार्क चोरी गरेको भनिएको रेड ब्लु भने नेपालकै एक कम्पनीले भियतनामबाट आयात गरेर बिना दर्ता नै बिक्री वितरण गरिरहेको थियो ।

उद्योग विभागले दिएको जानकारी अनुसार आफूलाई ५ हजार रुपैयाँ जरिवाना हुने भए पछि रेड ब्लुले उच्च अदालत पाटनमा विभागको निर्णय कार्यान्वयन रोकिपाउँ भन्दै रिट दायर गरेको थियो । तर उक्त रिट उच्च अदालत पाटनले गत २४ गते खारेज गरेको छ ।

१० वर्षअघि नेपाल भित्रिएको रेडबुलले राम्रो बजार लिएपछि पछिल्लो समय रेड बुल जस्तै देखिने खोलमा नयाँ उत्पादन गरेर बिक्री गर्ने चलन बढेको छ । रेड ब्लु, रेड स्टार, रेड बेल, रेड स्टार जस्ता नामका उत्पादन बजारमा देखिएका छन् । यस्ता उत्पादनहरु बिक्री गर्नका लागि उद्योग विभागमा दर्ता हुनुपर्ने भए पनि जथाभावी बेचिएका छन् ।

उत्पादन हुने वस्तुको खोल कस्तो हुने, खोलमा केके लेखिएको हुने, चित्र केको हुने लगायतका विषयहरु समेटेर दर्ता हुनुपर्ने प्रावधान छ । यी सबै प्रावधानहरुको पालना गर्दै दर्ता भएर रेडबुलले नियमित नविकरण समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment