Comments Add Comment

मेयरलाई उत्तेजित पार्नु पत्रकारको गल्ती, द्वारिकलालले भने- कान समाएर उठबस गर्न तयार छु – Copy

२८ जेठ इटहरी । पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ ।

इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ ।

इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ ।

मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’

मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’

विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।

मेयर चौधरी सयचोटि ‘कान समातेर उठबस’ गर्न तयार

अनुगमनका क्रममा मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसँग पनि भेट गरेको थियो । यसक्रममा चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका थिए । मिसनले मेयरको समेत कमजोरी देखाएकाे छ ।

चौधरीसँग भएको छलफल उधृत गर्दै मिसनको प्रतिवेदनको सारांशमा भनिएको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’

हेर्नुहोस्  प्रतिवेदनको सारांश –

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment