Comments Add Comment

दूधमा आत्मनिर्भर बन्यो चितवन

२९ जेठ, चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो ।

केन्द्रका प्रमुख डा. विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । जिल्लाको दूध उत्पादन र विश्व खाद्यको मापदण्डअनुसार चितवन दूधमा आत्मनिर्भर देखिएको छ ।

चितवनको जनसंख्या ६ लाख २५ हजार छ । जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ । श्रेष्ठको भनाइमा जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ । श्रेष्ठले धेरै दूध काठमाडौँ जाने जानकारी दिँदै बाँकी कास्की र छिमेकी जिल्लामा जाने गरेको बताए । केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् ।

स्थानीय तहको पशु सेवा शाखामार्फत तथ्याङ्क लिइएको हो । चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील छन् । उहाँले सरकारले सहयोग गरेमा पाँच वर्षभित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने जानकारी दिए । गाई, बाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दूध र गाईसमेत बाहिरबाट नेपालमा ल्याउन नपर्ने गरी यही उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ ।

यसैगरी किसानलाई दिइने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान पर्याप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिइने, भ्याक्सिन समयमा नपाउनेजस्ता समस्या भएको न्यौपानेले जानकारी दिए ।

यस जिल्लालाई आज दूधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिँदैछ । यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो । पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रूपमा घोषणा गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment