Comments Add Comment

लोकगीतको क्रेजसँगै भिडियोमा लगानी बढ्दो, तर गुणस्तर ?

निर्देशक शिव वीकले ‘सालको पात टपरी’ बोलको गीतको म्यूजिक भिडियोमा काम गराउनका लागि नेपालका चर्चित नायक–नायिकालाई अफर गरे । धेरैले लोकगीत पनि कसैले गर्छ भन्दै नाक खुम्च्याए । धेरैले नाक खुम्च्याउँदै गएपछि नायिका मरिष्का पोखरेलले काम गरिन् । गीत हिट भैदियो, मरिष्का चलचित्रबाट नपाएको सफलता लोकगीतबाट पाउँदैछिन् ।

‘सालको पात टपरी’ले लोकगीतको बजारलाई फेरिदिएको छ । लोकगीतको बजारलाई मात्र होइन, यसको म्यूजिक भिडियो बनाउने सोचलाई पनि फेरिदिएको छ । लोकगीत भन्ने वित्तिकै ८–१० जना कोरस राखेर, सस्तोमा भिडियो बन्छ भन्ने सोच धेरैमा हुन्छ । तर, अहिले समय फेरिएको छ । लोकगीतका लागि लगानी गर्नेले ५ देखि ६ लाख खर्च गर्न थालेका छन् ।

कहाँ बढ्यो खर्च ?
लोकगीतको भिडियोका लागि खर्च कहाँ बढेको छ । निर्देशक शिव वीक भन्छन्–‘बजारमा खर्च बढ्यो भनेर हल्ला भएको छ । अझ, शिव वीकसँग त काम गर्नै सकिदैन भन्ने हल्ला पनि फैलाइएको छ । तर, यो सबै हल्ला हो । मैले लिने पारिश्रमिक १०–१५ हजारबाट बढेको छैन ।’ उसो भए कहाँ बढ्यो त खर्च ?

शिवले प्रष्ट पार्दै भने–‘कसैलाई पनि धेरै खर्च गर्नुपर्छ भनेर म दबाब दिन्नँ । कसैले मन लागे २ लाख खर्च गर्छन्, कसैले ५ लाख पनि ।’ शिवका अनुसार, लोकगीतको भिडियोको गुणस्तर उही नै । तर, खर्च नदेखिने पाटोमा बढी बढेको छ । उनले भने–‘लोकगीतकै भिडियोमा काम गरिरहेका मोडल लिदा ८–१० हजारमा काम गर्छन् । अब, कसैले चलेका नायक–नायिका नै लिन्छु भन्यो भने एक जनाले नै ५० देखि १ लाखसम्म डिमाण्ड गर्छन् । कोरस ४० बाट ६० जना हुने वित्तिकै पारिश्रमिब बढ्छु । खर्च यसरी बढेको हो । अरु कुरामा खर्च बढेको छैन ।’

‘सालको पात टपरी’ बनाउँदा ५ लाख भन्दा बढी खर्च लागेको उनको भनाई छ । उनले हिसाब स्पष्ट पार्दै भने–‘कोरस ६० जना लिने वित्तिकै ६० हजार खर्च हुन्छ । गाडी एउटाले पुग्दैन, २ वटा चाहिन्छ । सबैलाई खान खुवाउनुपर्छ । क्यामेरा रेडले खिच्ने हो भने १२ हजार सम्म तिर्नपर्छ । लोकेशन चोभार छाडेर बाल मन्दिर पुग्दा ३० हजार तिर्नुपर्छ । नायक–नायिका लिदा ५० देखि १ लाख सकिन्छ । खर्च यसरी बढेको छ ।’

म नाग्लो पसले– शिव वीक
‘सालको पात टपरी, लोभी आँखा’ लगायतका म्यूजिक भिडियो गरेका शिवले आफूलाई नाग्लो पसले भनेका छन् । उनले भने–‘म त नाग्लो पसले हुँ । कोर्ट लगाउनेले पनि मेरो पसलबाट किन्न सक्छ, सामान्य पहिरन लगाउनेले पनि किन्न सक्छ । रोजाँई उहाँहरुको हो ।’

भिडियो हिट हुनका लागि गीत हिट हुनैपर्छ । ‘सालको पात टपरी, गलबन्दी, लोभी आँखा’ लगायतका गीत हिट हुनुको पछाडि अडियोको महत्वपूर्ण भूमिका छ । तर, अहिले हेर्ने जमाना भएकाले पनि भिडियोमा पनि महत्व दिनुपर्ने लोकगीतको म्यूजिक भिडियोका सफल निर्देशकहरु बताउँछन् ।

गायक प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीतका लागि पनि राम्रै पैसा खर्च गरेका छन् । ४ दिन लगाएर खिचिएको यो गीतमा गरिएको खर्च अनुसार आम्दानी पनि भएको छ । यस्ता गीतमा लगानी प्राय विदेशमा बस्ने नेपालीले गर्छन् । संझौता नै नगरी काम गरौ भन्नेहरुले ५ देखि ६ लाखसम्म लगानी गरेका छन् । कतिपयले सस्तोमा पनि काम गर्छन् ।

तर, अहिले लोकगीतको म्यूजिक भिडियोको गुणस्तर पनि बढेको छ । गीत चल्छ भन्ने सोच भएका निर्माताले राम्रै पैसा लगानी गर्दा भिडियो बनाउन पनि सोही अनुसार सकिने शिवको भनाई छ । तर, लोकगीतको म्यूजिक भिडियोमा लगानी देखिने भन्दा नदेखिने ठाउँमा बढी देखिएको छ । तर, पनि केही गीतले बजारमा लोभलाग्दो चर्चा पाउँदा लगानी गर्नेहरु संझौता नगरी काम गर्न तयार हुन थालेका छन् । यसले निर्देशकहरुले पनि फराकिलो क्यानभासमा काम गर्न पाएको बताउँछन् ।

डिजिटल जमानामा कुनै पनि राम्रो गीतलाई चर्चा पाउन गाह्रो छैन । तर, समय अनुसार हरेक कुराको गुणस्तरमा पनि वृद्धी गर्दै लैजान आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment