Comments Add Comment

उत्तर कोरियामा मृत्युदण्ड दिने ३१८ अखडा !

काठमाडौं । दक्षिण कोरियाको एक एनजीओले उत्तर कोरियामा सार्वजनिक रुपमा मानिसहरुलाई मृत्युदण्ड दिने ३१८ अखडा रहेको दाबी गरेको छ ।

उसले आफ्नो रिपोर्टका लागि ६१० मानिससँग कुरा गरेको थियो, जसले देश छाडिसके । यो रिपोर्टमा दशकौंदेखि दिइएको मृत्युदण्डको विवरण समेत छ । मारिएका मानिसहरुको दोष दक्षिण कोरियाली टीभीमा देखिएकोदेखि गाई चोरीसम्म छ ।

एनजीओका अनुसार नदी, मैदान, बजार, स्कुल र खेलमैदान जस्ता ठाउँमा मृत्युदण्ड सार्वजनिक रुपमा दिइन्छ । यस्तो हत्या हेर्न एक हजार भन्दा बढी मानिस जम्मा हुने गरेका छन् ।

रिपोर्टमा दाबी गरिएको छ कि दोषी ठहर्‍याइएका व्यक्तिको परिवारका बच्चालाई समेत मृत्युदण्ड हेर्न बाध्य बनाइन्छ । मृतकको शव शायदै परिवारले पाउँछ ।

एनजीओको रिपोर्टअनुसार मृत्युदण्ड पाउने सबैभन्दा कम उमेरको व्यक्ति ७ वर्षका थिए ।

केही सार्वजनिक मृत्युदण्ड भने जेल र श्रम शिविरमा दिइन्थ्यो, जहाँ राजनीतिक अपराधको सजाय भोगिरहेका मानिसहरु श्रम गरिरहेका हुन्थे ।

देश छोडिसकेका एक व्यक्तिले भनेका छन् कि सन् २००० को सुरुवातमा श्रम शिविर छाडेर चीन भाग्न खोजेका तीन महिलाको हत्या ८० कैदीलाई हेर्न बाध्य पारिएको थियो । उनले भने, ‘मन्त्रालयका सुरक्षा अधिकारीहरुले ठूलो स्वरमा भनेका थिए, यस्तो तिमीहरुसँग पनि हुनसक्छ ।’

यस्तो मृत्युदण्ड मानिसहरुलाई तर्साउन दिने गरिएको रिपोर्टमा उल्लेख छ । धेरै मृत्युदण्ड गोली हानेर दिइन्छ । अधिकांश समय तीन बन्धुकधारीले दोषी व्यक्तिको शरीरमा तीन पटक गोली हान्छन् ।

यो रिपोर्ट बनाउने क्रममा जो मानिसहरुसँग कुरा भयो, उनीहरु मध्ये केहीका अनुसार हत्याको सजाय दिने व्यक्ति नसामा हुन्छन् । रिपोर्ट लेख्ने मध्येका एक एथन शिनले एएफपीलाई भनेका छन्, ‘यस्तो लाग्छ कि सार्वजनिक रुपमा मृत्युदण्डको संख्या घटेको छ । तर प्योङयाङ अधिक गोप्यताका साथ यो काम जारी राख्न सक्छ ।’

विगतमा थुप्रै अधिकारीहरुलाई समेत फाँसी दिइएको छ । २०१३ मा किम जोङ उनका काकालाई पनि देशद्रोहका लागि निन्दा गरिएको थियो । तर हत्याको खबर पुष्टि गर्न कठिन छ । केही मृत्युदण्डको खबर गलत पनि प्रमाणित भएको छ । २०१३ मा गायिका होन सोङ उललाई मृत्युदण्ड दिएको खबर आएको थियो तर, उनी २०१८ को शीतकालीन ओलम्पिकमा देखिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment