Comments Add Comment

‘सेभ द स्कुल’ अभियानको नाममा ठगी गर्ने पक्राउ

२९ जेठ, वीरगञ्ज । ‘सेभ द स्कुल’ अभियानको नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका-२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् ।

‘सेभ द स्कुल’ अभियानको नाममा विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिँडेको आरोप उनलाई प्रहरीले लगाएको छ ।

वीरेन्द्रले बारा जिल्लाको कोल्हवी क्षेत्र अन्र्तगत सञ्चालनमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग ‘सेभ द स्कुल’को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाइ रकम उठाउँदै ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक चन्द्र किशोर साहले बताए ।

‘बालबालिकासँग सम्बन्धित क्षमता अभिभवृद्धि तालिममा पठाउँछु, विभिन्न सामग्री पठाउँछु भन्ने जस्ता प्रलोभनमा पारेर रकम लिने गरेका रहेछन् । एक जनासँग २ हजार, २ हजार ५ सय, ३ हजारसम्म लिएको देखिएको छ,’ उनले भने, ‘झण्डै १ सय वटा विद्यालयमा गरी २ लाख जति उठाइसकेका रहेछन् ।’

सेभ द नेपाल भन्ने संस्थाको दर्ता भएको देखिए पनि आफू संस्थाको कुन पदमा हो भन्ने समेत उनले खुलाउन नसकको प्रहरी निरीक्षक साहले बताए ।

वीरेन्द्रले संकलन गरेको रकम पनि संस्थाको नभइ व्यक्तिगत खातामा जम्मा गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले कुमारलाई बाराकै कोल्हबी नगरपालिका-३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अगाडिबाट २७ गते सोमबार पक्राउ गरेको थियो ।

उनको साथबाट रकम उठाउन प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको १ थान र ‘विद्यालय बचाउ अभियान’ लेखिएको २ थान रसिदको ठेलीसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

ठगी मुद्धामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment