Comments Add Comment

तीन जिल्ला फैलियो डेंगुको संक्रमण, सुनसरीमा मात्र ५०० विरामी

दैनिक रिपोटिङ गर्न सीडीओलाई प्रदेश सरकारको निर्देशन

२९ जेठ, विराटनगर । धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ र सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् ।

मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १-१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।

प्रदेश सरकारको एकहप्ते कार्यक्रम

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षीय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘आजसम्म हामी उपचारमा बढी केन्द्रित भएका थियौं’ बैठकमा सहभागि घिमिरेले भने, ‘अब एक हप्ता तीनवटै जिल्लामा नियन्त्रणको काम तिब्र बनाउँछौं ।’

एक हप्ताभित्र एक हदसम्म डेंगु नियन्त्रणमा आउने उनको दाबी छ ।

बुधवार बसेको बैठकले मेची अस्पताल झापा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारका लागि व्यवस्था गरिने निर्णय गरेको छ ।

बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कामबारे दैनिक रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

बीपीमा मात्र ४७४ संक्रमित

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ३० जना हाराहारी विरामी उपचार गर्न अस्पतालमा बस्ने गरेका छन् ।

अस्पतालका सहायक निर्देशक डाक्टर विकास साहका अनुसार बुधबारसम्म डेंगुको शंका लागेर १५७४ विरामी अस्पतालमा आएका थिए ।

उनीहरु मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको छ । डेंगुको शंका लागेर उपचारका लागि आउने विरामीको संख्या दैनिक रुपमा बढिरहेको उनको भनाइ छ ।

संक्रमण घोषणा गर्दा त्रास फैलने डर

सुनसरीको धरानमा डेंगुको संक्रमण देखिएको एक महिना पुरा भएको छ । यो अवधीमा स्थानीय सरकार र प्रदेश सरकरले नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेका छन् । तर संक्रमण घट्नुको साटो बढिरहेको अवस्था छ ।

डेंगु संक्रमणले प्रकोपको रुप लिएपनि प्रकोप घोषणा गरिएको छैन । ‘प्रकोप घोषणा गरे त्रास फैलन सक्छ’ सामाजिक विकास मन्त्री घिमिरे भन्छन्, ‘त्रास फैल्याउने काम गर्न भएन् ।’

उनी डेंगु नियन्त्रणको अभियान सञ्चालन गर्दा व्यक्तिका घरमा पानी फाल्न पनि असहयोग भएको बताउँछन् ।

धरानमा खानेपानीको समस्या छ । समस्याका कारण डेंगु नियन्त्रण टोली पुग्दा ट्याङ्कीको पानी फाल्न नदिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment