Comments Add Comment

आमिरको कमाल, लिए पाँच विकेट

काठमाडौं । बुधबार पाकिस्तानविरुद्ध आरोन फिन्च र डेभिड वार्नरको ओपनिङ साझेदारी हेर्दा लाग्यो, ३५० त कहिँ जाँदैन । २२ ओभरमा १४६ रन जोडिसकेको अष्ट्रेलियाबाट यो अपेक्षा स्वभाविक थियो ।

तर त्यसो भएन । मुस्किलले ३०० रन कटाएको अष्ट्रेलियाले अन्तिम ओभर खेल्नै पाएन र ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन मात्र बनायो । यसमा मोहम्मद आमिरको ठूलो योगदान छ ।

पहिलो विकेटका रुपमा फिन्चलाई पभेलियनको बाटो देखाएका उनले शन मार्स, उस्मान ख्वाजा, एलेक्स केरीलाई आउट गरे । अन्तिम विकेटका रुपमा मिचेक स्टाकलाई पभेलियनको बाटो देखाएका उनले १० ओभरमा ३० रन खर्चिएर ५ विकेट आफ्नो नाममा लेखाएका छन् ।

उनकै धारिलो बलिङमा अष्ट्रेलियाको मिडिल अर्डर ध्वस्त भयो ।

रोचक त के छ भने पाकिस्तानले सुरु घोषणा गरेको विश्वकप टिममा मोहम्मद आमिर परेनन् ।

तर अभ्यासका खेलपछि आबिद अली, फहिम अशरफ र जुनिद खानलाई आउट गर्दै आसिफ अली, वाहब रिआजसँगै आमिरलाई टिममा स्थान दिइयो । अहिले उनी सर्वाधिक विकेट टेकर बनेका छन् ।

उनले तीन खेलबाट १० विकेट लिएका छन् । न्युजिल्यान्डका लोकी फर्गुसनले तीन खेलबाट आठ विकेट लिएका छन् ।

५ वर्षे प्रतिबन्धले पनि फरक पारेन

मोहम्मद आमिर त्यस्ता खेलाडी हुन्, जसले आफ्नो खेल जीवनमा अनेकौ चुनौतीको सामना गर्नु प¥यो । म्याच फिक्सिङका कारण प्रतिबन्ध लगेपछि सन् २०११ र २०१५ को विश्वकप खेल्न पाएनन् । म्याच फिक्सिङको आरोपमा आईसीसीले उनीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो ।

२७ वर्षीय आमिरले २००९ जुन ३ मा इंग्ल्यान्डविरुद्ध खैल्दै राष्ट्रिय टिमका लागि डेब्यू गरेका थिए ।

तीव्र गतिका बलर अमिरले ५४ एकदिवसीय क्रिकेटमा ७० विकेट लिएका छन् । ३६ टेष्टमा ११९ विकेट लिएका उनले टी–२० क्रिकेटमा आफ्नो देशका लागि ४२ खेल खेलेका छन् र ५५ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment