Comments Add Comment

खै त बच्चाको घर ? घरलाई बनाऔं बालमैत्री 

एकपटक ससर्ती आफ्नो घरको याद गर्नुहोस् त ।

भान्साको ग्याँस चुहिने पो हो कि ? सलाई, लाइटर व्यवस्थित छैन कि ? धारिलो चक्कु, हतियार लथालिंग छ कि ? टिभी, फ्रिज वा विद्युतिय उपकरणको तार ठिकठाक छैन कि ? घरको वार्दली वा भर्‍याङ असहज पो छ कि ? छत असुरक्षित छ कि ?

बेलाबखत यिनै कुराले घरलाई धराप बनाउँन सक्छ । घर वास्तवमा घर नभएर धराप बन्नसक्छ । यस्तो धरापमा खासगरी तपाईंका बालबच्चा पर्न सक्छन्, जो ढंग पुर्‍याएर हिँड्न जान्दैनन् । खेल्न जान्दैनन् ।

चक्कु भेट्यो भने चलाउँछ, लाइटर देख्यो भने बाल्छ । यत्रतत्र छरिएका विद्युतिय तार खेलाउँछ । छत वा भर्‍याङमा पुगेर उफ्रिन्छ ।

स्वभाविक हो, बालबच्चालाई कसरी सुरक्षित रहने भन्ने ज्ञान हुँदैन । उनीहरु जे देख्यो त्यही चलाउन चाहन्छन्, जे मन लाग्यो त्यही गर्न चाहन्छन् । वास्तवमा उनीहरुलाई यी सबै कुरा गर्न छुट दिनुपर्छ पनि । किनभने बच्चाले आफ्नै अनुभवबाट नै धेरै कुरा सिक्ने हो । जीवनोपयोगी ज्ञान आर्जन गर्ने हो ।

त्यसैले बच्चा लड्छ भनेर भर्‍याङमा चढ्नै नदिने होइन । बच्चाले जथाभावी चलाउँछ भनेर उनीहरुलाई खेल्न, उफ्रिन नदिने होइन । बच्चालाई खुला रुपमा खेल्न, उफ्रिन, दौडन दिनुपर्छ । तर, यस्तो अवस्थामा बच्चा असुरक्षित हुनुहुँदैन । यो भनेको तपाईंको घर धराप हुनुहुँदैन ।

छैन बच्चाको घर

अक्सर घर निर्माण गर्दा हामी वास्तु विज्ञानलाई आधार मान्छौ । वास्तु विज्ञान अनुसार नै घरलाई कुन दिशामा फर्काउने, ढोका कहाँ राख्ने, कोठाहरु कसरी व्यवस्थित गर्ने भन्ने तय गर्छौ ।

त्यससँगै घर निर्माण गर्दा हामी आफ्नो रुची र इच्छाहरु समावेश गर्छौ । हामी आफ्नो सुविधालाई ध्यानमा राखेर कोठा, शौचालय, भर्‍याङ आदि राख्ने गर्छौ । यस्तो घर, जहाँ हामीलाई सहज हुन्छ । तर, घर निर्माण गरिरहँदा हामी सोच्दैनौ कि यस घरमा बालबच्चा पनि हुर्कनेछन् । यो साना बालबच्चाको आश्रयस्थल पनि हो ।

बालबच्चाको इच्छा र आवश्यक्तालाई हामी पटक्कै सम्बोधन गर्दैनौ, घर निर्माण गर्दा । घरको कोठा कस्तो बनाउने ? कसरी सजाउने ? कुन चिजबिज कसरी व्यवस्थित गर्ने ? रंग रोगन कस्तो गर्ने ? यी कुरामा पनि हामी आफ्नो रुचीलाई सर्वोपरी मान्छौ । बच्चाको इच्छा र आवश्यक्तालाई पटक्कै ध्यानमा राख्दैनौ । अर्थात त्यस्तो आवश्यक्ता ठान्दैनौ ।

बालमैत्री घर

घर निर्माण गरिरहँदा वा घरलाई व्यवस्थित गरिहँदा त्यहाँभित्र बच्चा पनि बस्छन् भन्ने कुरालाई ख्याल किन नगर्ने ?

घरलाई बालमैत्री बनाऔं, जहाँ बच्चाले स्वतन्त्रपूर्वक खेल्न, रमाउँन, दौडन, उफ्रिन पायोस् । घर यस्तो होस् मानौ त्यो बाल-संसार हो । त्यहाँका हरेक कुरा बालमैत्री होस् । उनीहरु धरापमा नपरोस् । असहज वा अप्ठ्यारो स्थितीमा नपरोस् ।

वाथरुम गएर त्यही भित्र थुनिने, पानीभित्र डुब्ने, खाल्डोमा पर्ने, भर्‍याङबाट लड्ने, भान्सामा चोटपटक लाग्ने नहोस् । बच्चाले जहाँ पनि सहज र सुरक्षित अनुभव गरोस् । यस्तो घरमा बच्चालाई जहाँ जान र जे गर्न पनि छुट हुन्छ । तब न बच्चाको शारीरिक विकास राम्ररी हुन्छ ।

पहिले पहिले त बच्चाहरु घरबाहिर खेल्थे । खेल्नका लागि ठूलो आँगन हुन्थ्यो । मैदान हुन्थ्यो । गाउँघर वा टोल नै बच्चाको खेल मैदान जस्तै हुन्थ्यो । तर, अहिले बच्चाको संसार साँघुरिएको छ । उनीहरु घरभित्र थुनिएका छन्. । अझ एउटा कोठाभित्र बन्द भएका छन् । उनीहरु उन्मुक्त खेल्न र रमाउन सकिरहेका छैनन् ।

अर्कोतिर आमाबुवालाई छोराछोरीसँग खेल्ने फुर्सद छैन । न बालबच्चाको खेल्ने साथी छ, न उनीहरुसँग आमाबुवा नै खेल्न तयार छन् । यस्तो अवस्थामा बच्चाहरु एक्लिएका छन् । यसरी घरभित्र खुम्चिएका र एक्लिएका बच्चालाई घर नै धराप भयो भने कस्तो होला ?

घरलाई यस्तो बनाऔं, जहाँ बच्चाले आफ्नो संसार निर्माण गर्न सकोस् । आफ्नो घरमा उनीहरु रमाउन सकोस् । घरको सजावट, सर-सामनले उनीहरुलाई लोभ्याउन सकोस् । यसले गर्दा उनीहरु घरभित्र प्रफुल्ल हुन्छन् । आनन्दित हुन्छन् । सुरक्षित हुन्छन् । ढुक्क हुन्छन् । के हामी घरलाई बालमैत्री बनाउन सक्दैनौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment