Comments Add Comment

चीनमा नेपालको व्यापार खस्किएको गुनासो

दक्षिण एसियाली एक्स्पोमा नेपालका १२० स्टल

३० जेठ, कुन्मिङ । चीनको कुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरुको व्यापारिक मेला तथा लगानी सम्मेलन सुरु भएको छ । बुधबार एक भव्य समारोहबीच नेपालसहित १७ देशका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उदघाटन गरे ।

नेपालको प्रतिनिधित्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार माधव शर्माले गरेका थिए । यो प्रदर्शनी ७ दिनसम्म चल्ने छ ।

कुन्मिङमा सन् २०१३ देखि हरेक वर्ष यस्तोखालको प्रदर्शनी हुँदै आएको छ । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले र त्यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले समेत प्रदर्शनीमा भाग लिएका थिए ।

चीन आए पनि उद्योगमन्त्री यादव अनुपस्थित

यस वर्षको प्रदर्शनीको उदघाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि सहभागी हुने भनिए पनि उनी अनुपस्थित रहे ।

यद्यपि आयोजक चिनियाँ कम्युनिष्ट पार्टी, कुन्मिङ र सार्क चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले नेपालबाट मन्त्री यादव सहभागी हुने जानकारी कार्यक्रममा गराएका थिए । डिस्प्ले बोर्डमा पनि नेपालको प्रतिनिधि भनेर यादवकै नाम देखिन्थ्यो ।

कुन्मिङमा आयोजित दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरुको व्यापारिक मेला तथा लगानी सम्मेलनमा सहभागी हुने भनेर मन्त्री यादव चीन आए पनि उनी छेन्दु गएको बुझिएको छ ।

अघिल्लो वर्षको तुलनामा नेपालको स्टल घट्यो

१ लाख ७० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको तियान्छी अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलनमा नेपालका १२० वटा स्टलहरु राखिएका छन् । अघिल्ला वर्षहरुमा २ सयभन्दा बढी स्टलहरु हुन्थे ।

यद्यपि अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाली स्टलहरुमा परम्परागत सामाग्री अवलोकन गर्न र खरीद गर्न पाइन्छ ।

नेपालका स्टलहरुमा पश्मिना, थान्का, कार्पेट, काष्ठकला र ज्वेलरीहरु छन् । प्रदर्शनीमा स्टल राखिएका छन् । अधिकांश नेपाली उत्पादनहरु भक्तपुर, पाटन, ठमेल र बौद्धका छन् ।

नुवाकोट घर भए पनि ठमेलमा ब्यापार गर्दै आएका मनिष पाण्डेले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि रुद्राक्ष, बुद्धचित्त माला, सिंगिङ्ग बाउल लगायतका सामान आफ्नो स्टलमा राखेका छन् । चिनियाँ भाषा पनि बोल्न जानेका उनले भने, ‘कुन्मिङ फेयरमा हरेक वर्ष हामीले प्रायः चिनियाँहरुले नै किन्नेखालका सामान राख्ने गरेका छौं ।’


पाण्डेका अनुसार सुरुको वर्ष सन् २०१३ मा सात दिनका लागि एउटा स्टलका लागि २५ हजार नेपाली रुपैयाँ तिर्नुपर्थ्यो । यस वर्ष भने ९ वर्गमिटरको एउटा स्टलको मूल्य बढेर ७५ हजार रुपैयाँ पुगेको छ ।

नेपाली उत्पादनको गुणस्तर खस्कियो, ब्यापार पनि घट्यो

अर्का व्यापारी ठाकुरनाथ पाण्डेका अनुसार स्टलको मूल्य बढ्दै गए पनि व्यापार घट्दै गएको छ । पश्मिना र हस्तकलाका सामान बेच्दै आएका उनले भने, ‘मैले सन् २०१३ देखि नै यहाँ स्टल राख्दै आएको छु । पहिले यी सामान चिनियाँहरुले किन्थे, तर अहिले ब्यापार घट्दै गएको छ ।’ यद्यपि घाटा भने नहुने उनी बताउँछन् ।

ठाकुरनाथको जस्तै धारणा जनकराज पाण्डेको पनि छ । कुन्मिङ एक्स्पोमा १२ बाई १२ वर्गमिटरका दुईवटा स्टल लिएका उनले भने, ‘सन् २०१३ मा भएको पहिलो एक्स्पोमा भन्दा विस्तारै विस्तारै हाम्रो क्वालिटी खस्किँदै गएको छ । मिसावटले गर्दा हाम्रा सामान अलि कम बिक्री हुन्छ । पहिले सुरुमा धेरै राम्रो थियो, अहिले चाहिँ धेरै कम हुँदै गएको छ ।’

‘ग्राहकले सस्तोमा सामान किन्न खोज्यो भनेर मिसावट गर्नु गलत हुने उनी बताउँछन् । धागो लिएर आउने र त्यो धागोबाट सामान बनाउने यी दुई पक्षको बीचमा कसले कति सस्तो दिने भन्ने प्रतिस्पर्धाका कारण बजार बिग्रियो ।’

चीनसहित अमेरिका, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ लगायतका देशमा नेपाली उत्पादनहरु निर्यात गर्दै आएको बताउने उनको स्टलमा पश्मिना सल, स्वेटर, स्कार्फ र बिभिन्न प्रकारका सिल्कका उत्पादनहरु छन् ।

झन्झट र खर्च बढी

पुरानो घर नुवाकोट भए पनि हाल बालाजुमा बस्दै आएका व्यवसायी ठाकुरनाथ पाण्डेका अनुसार उनले चीनमा आयोजना हुने एक्स्पोमा राख्ने सामानहरु नेपालबाटै ल्याउने गरेका छन् । सामान ल्याउँदा–लैजाँदा एयरपोर्टमा झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने र खर्च पनि बढी लाग्ने उनको अनुभव छ । जसका कारण नेपाली उत्पादनहरु केही महंगो हुने गरेको छ ।

कुन्मिङ एक्स्पोमा ज्वेलरीका सामानको स्टल राखेका वीआर शाक्यले भने, ‘महंगो हवाईजहाज भाडा, होटलमा बस्ने खर्च, आयोजकलाई बुझाउने शुल्क लगायतका कारण सामान केही महंगो हुनु स्वाभाविक हो ।’

प्रदर्शनीका लागि नेपालबाट सामान चीन ल्याउने, प्रदर्शनी सकिएपछि फेरि नेपाल फर्काउने लगायतका झन्झट र खर्चको बोझबाट बच्नका लागि धेरैजसोले चिनियाँ नागरिकलाई साथी बनाउने गरेका छन् र उनीहरुलाई सामान राख्न दिने गरेका छन् ।

‘नेपालबाट सामान ल्याँदा कहिलेकाहिँ त फोर्स गरेर पनि ल्याउनु पर्छ,’ ठाकुरनाथले भने, ‘एकदमै महत्वपूर्ण र चाँडै बिग्रिने जस्ता सामान नेपालमै लैजान्छौं, तर धेरैजसो यहीँकै चिनियाँ साथीहरुले राखिदिन्छन्, जसलाई अर्को वर्ष फेरि प्रदर्शनीमा गरिन्छ ।’

नेपालीलाई के फाइदा ?

जतिसुकै खर्चिलो र झन्झटिलो भए पनि कुन्मिङ फेयरमा लाखौं खर्च गरेर भए पनि नेपालीहरुले आफ्ना उत्पादनहरु राख्ने गरेका छन् । कुन्मिङ फेयरको उदघाटन समारोहमा भेटिएका नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी चण्डिराज ढकाल यसलाई प्रतिस्पर्धात्मक बजारको विशेषता मान्छन् । यसबाट नेपाली उत्पादनले अन्तर्राष्ट्रियस्तरमा राम्रो एक्सपोजर पाउने र अन्य देशका उत्पादनबारे नजिकबाट जानकारी लिँदै नेपाली उत्पादनको गुणस्तर बढाउने अवसर मिल्ने उनको भनाइ छ ।
कुन्मिङ फेयरमा अनलाइनखबरसँग कुरा गर्दै ढकालले भने, ‘अरु देशहरुले कस्ता सामान ल्याउँदा रहेछन् भनेर थाहा पाउने अवसर हुन्छ । यो थाहा पाएपछि भोलिका दिनमा फरक उत्पादन चिनाउनका लागि, उपभोक्ताले कस्ता आइटम मन पराउँदा रहेछन् भनेर बुझ्नका लागि र आफ्नो उत्पादनलाई गुणस्तरयुक्त बनाउनका लागि पनि सहयोग मिल्छ ।’

नेपाली उत्पादन विदेशीहरुले मन पराइरहेको र अन्तर्राष्ट्रिय प्रदर्शनीबाट राम्रो प्रतिक्रिया पाइरहेको ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामीले चीनलाई बेच्ने मात्र होइन, किन्ने पनि गर भन्दै आएका थियौं । त्यसैले पहिलोपटक चीनले यसै वर्ष सांघाइमा एक्सपोर्ट इम्पोर्ट एक्स्पो नै गर्यो । त्यतिबेला रेस्पोन्स असाध्यै राम्रो आएको थियो ।’

नेपालको परम्परागत प्रदर्शनी

नेपालका व्यवसायीले पश्मिना, थान्का, कार्पेट, अर्नामेन्ट, काष्ठकलाका सामान प्रदर्शनमा राखेका छन् । विशेषगरी पुरानो समयदेखि नेपाललाई चिनाइराख्ने जुन उत्पादनहरु छन्, तिनै उत्पादनहरु नै प्रदर्शनीमा देख्न सकिन्छ ।
आधुनिक युगमा नेपालले केबल परम्परागत उत्पादनलाई मात्र जोड दिने हो कि नयाँ उत्पादनबाट पनि नेपाललाई चिनाउने हो भन्ने बहस जारी छ । यसरी बजारमा प्रतिस्पर्धा गरेर टिक्न सकिँदैन भन्नेहरु पनि छन्

यस जिज्ञासामा ढकाल पनि सहमत छन् । उनी भन्छन्, ‘सधैं यसरी चल्दैन । जबसम्म उद्योगहरुको संख्या बढ्दैन, उद्योगको योगदानले जिडीपीमा सुधार आउँदैन तबसम्म नेपाल पूर्वाधार विकासमा अगाडि बढ्नै सक्दैन र गुणस्तरीय नयाँ उत्पादन पनि बढाउन सक्दैन ।’

औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा गर्न सरकारले नीति बनाउनुपर्ने उनको मत छ । उनले भने, ‘निजी क्षेत्रको सहभागीताभन्दा बाहिर गएर आर्थिक विकास कहिँ पनि हुँदैन । सरकारले त फेसिलेटरको रुपमा मात्र बस्नुपर्छ ।’

अन्तर्राष्ट्रिय एवं राष्ट्रिय रुपमा आएका अवधारणाभित्र बसेर देशका उद्योग व्यवसाय प्रवद्र्धन, क्षमता अभिवृद्धि तथा गुणस्तरीय उत्पादनका लागि राज्यले भूमिका खेल्नुपर्ने बताउँदै ढकालले अनलाइनखबरसँग भने, ‘त्यो भूमिका नेपालमा अझै पनि हुन नसकेको महसुस हामीले गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment