Comments Add Comment

सैनामैनाको फोहोर व्यवस्थापन : खोलामा फोहोर जल्न छाड्यो

३० जेठ, बुटवल । दुई वर्ष अघिसम्म सैनामैना नगरपालिकाको करिब मध्य भागमा पर्ने घमाहा खोलालाई मुर्गिया बजार र रामापुर कलौनी बजारका बासिन्दाले फोहोर फाल्ने साझा थलो बनाएका थिए । जहाँ एकले अर्कोलाई देखाएर उम्किन खोज्थे ।

पुलमाथिबाट खोलामा फालिने फोहोरले नदी प्रदुषित त हुन्थ्यो नै,तल थुप्रिएको फोहोरको दुर्गन्धले पुलमा यात्रा गर्ने जोकोहीले नाक मुख थुनेर हिँड्नुपथ्र्याे । घमाहा खोलामा हुने फोहोरका कारण सैनामैनाका मुख्य दुई बजारबीच पटक–पटक आरोप प्रत्यारोप, विवाद र झगडा नै हुन्थ्यो ।

जब साँझ पथ्र्यो, पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ दुबैतिर ठाउँठाउँमा जम्मा गरिएको फोहोरको थुप्रोलाई आगो लगाई जलाएर नष्ट गरिन्थ्यो ।

‘लोडसेडिङ भएका बेला फोहोर जलाउंदा हुने उज्यालोले एक–दुई घण्टा त बत्ती नै चाहिन्नथ्यो’ दुई वर्षअघिको सैनामैनाको दृश्य सम्झिँंदै मुर्गिया बजारका नारायण भुसालले भने ‘साँझ र बिहान सडक छेउमै फोहोर जलाउँदा धुवाँले बजार नै दुर्गन्धित हुन्थ्यो, सास फेर्न पनि मुस्किल ।’

तर, अहिले सैनामैनामा त्यसरी जथाभावी फोहोर जलाएको देख्नै पाइँदैन । न वातावरण प्रदुषणबारे नगरवासीको गुनासो नै सुन्न पाइन्छ । प्लास्टिकसहितको फोहोर वस्तु जलाउँदा त्यसबाट निस्कने धुवाँले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने तथ्यलाई मध्यनजर गर्दै सैनामैना नगरपालिकाले नगरभित्र कुनै पनि स्थानमा फोहोरमैला जलाउन पूर्णरुपमा प्रतिबन्ध गरेपछि अहिले सैनामैनाको मुहार फेरिएको छ ।

नगरपालिकाले कार्यविधि नै बनाएर कसैले फोहोरमैला जलाएको भेटिएमा पाँचहजार रुपैयाँ तत्काल जरिवाना तिराउने नियम बनाएपछि फोहोर जलाउन प्रतिबन्ध कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएको छ ।

नगरपालिकाले नगरभरिका टोल विकास संस्थाहरुको सहयोग लिएपछि कसैले पनि फोहोर जलाउने छुट पाएका छैनन् । ‘वातावरण प्रदुषण बढ्दै गएपछि त्यसलाई रोक्न र स्वच्छ वातावरण निर्माण गर्न फोहोर जलाउन प्रतिबन्ध लगाएका हौं’ सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भने, ‘प्लास्टिकसहितको फोहोर जलाउंदा मानव स्वास्थ्य र वातावरणलाई पर्ने हानी नोक्सानी र असरबारे नगरवासीलाई बुझायौं, संगै ५ हजार जरिवाना पनि तोकेपछि फाहोर जलाउने र जथाभावी फोहोर फाल्ने कार्य पूर्णरुपमा रोकिएको छ ।’

जलाउन नपाइने नियमपछि नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घर–घरबाट संकलन गरी सालझण्डीको पिपलडाँडामा रहेको अस्थायी डम्पिङ साईडमा व्यवस्थापन गर्दै आएको छ ।

दैनिकरुपमा प्रत्येक घरघरमा पुगेर फोहोरमैला उठाएर डम्पिङसाइडमा पुर्‍याएर व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक २४ लाख रुपैयाँ खर्च गर्ने गरेको नगरपालिकाको वातावरण शाखाका जोखराज घिमिरेले बताए । सैनामैना नगरपालिकामा दैनिकरुपमा २१ टन फोहोरमैला उत्पादन हुँदै आएको छ ।

फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ वजेट छुट्टाएको छ । घर–घरमा फोहोर संकलनका लागि नगरपालिकाले पाँच हजार पाँच सय थान डस्टबिन समेत वितरण गरेको जनाएको छ ।

वातावरण संरक्षणकै लागि नगरपालिकाले पुराना पोखरी, ताल तलैया संरक्षण, खुला क्षेत्र र पार्कको विकासलाई प्राथमिकता र जथाभावी नदी उत्खननमा नियन्त्रण गर्न शुरु गरेको नगर प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment