Comments Add Comment

जनप्रतिनिधिले किबी रोपे, विदेश जाने युवाको योजना रद्द

३० जेठ, रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका कृषकहरु व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय सरकारले व्यावसायीक फलपूmल, तरकारी तथा जडिबुटी खेतीलाई प्राथमिकतामा राखेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् ।

आलु, लसुन तथा फलफूल र जडिबुटी उत्पादनको राम्रो सम्भावना भएकाले व्यावसायिक खेतीलाई प्रश्रय दिएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

यसका लागि गाउँपालिकाले बिउ र बिरुवामा अनुदान दिएको छ । त्यस्तै पशुपालन र जडिबुटी खेतीका लागि समेत पकेट क्षेत्र निर्धारण गरि अनुदानको व्यवस्था गरेको सुनुवारले बताए । गाउँपालिकाले कृषकहरुका लागि तालिम तथा भ्रमण गराउने योजना पनि बनाएको छ ।

स्थानीय सरकारले गरेको प्रोत्साहन तथा मौसमी अनुकूलताका कारण ३० रोपनी जग्गामा ३ सय ५० बढी स्याउका विरुवा लगाएको गोकुलगंगा–१ का किसान आङतेण्डी शेर्पाले बताए ।

शेर्पाले स्याउबाहेक लोडसल्लालगायतका जडिबुटी लगाएका छन् । ७ वर्ष शिक्षण पेशा गरेका शेर्पा बीचमा विदेश जाने सोचमा थिए । तर, स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने कार्यक्रम ल्याएपछि उनी यतै केही गर्न सोचमा पुगेका छन् ।

सोही गाउँपालिकाको गर्जाङका किसान खगेन्द्रबहादुर खड्का अर्गेलीको व्यावसायीक खेतीमा लागेका छन् । अर्गेलीको लोक्ता जापानी पैसा बनाउन प्रयोग हुने भएकोले अर्गेली सोझै जापान निकासी हुने गर्दछ । आफूले २५ रोपनी जमिनमा अर्गेलीको खेती सुरु गरेको उनी बताउँछन् । यसबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको योजना छ । ‘अहिले नै वार्षिक २ लाख त कमाइ हुन लागिसक्यो । पूर्ण उत्पादन दिन लागेपछि १० लाख त पक्कै कमाइ हुन्छ’, उत्साहित हुँदै उनले भने ।

उता सोही गाउँपालिकाका आङछोङ शेर्पाले आफ्नाे ४० रोपनी जग्गामा चिया, स्याउ र अर्गेलीको खेती सुरु गरेका छन् । उनी पनि सरकारले कृषिलाई प्राथमिकतामा राखेकैले आफूले पनि खेती सुरु गरेको बताउँछन् ।

सो गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले आफैंले पनि चिया र किवीको व्यावसायिक खेती थालेका छन् । जमिन बाँझो राखेर विकास सम्भव नहुने भएकोले कृषिकर्ममा लागेको उनको भनाइ छ । राजनीतिमा लाग्नेले व्यवसाय गरे अरुलाई पनि उदाहरण हुने उनी बताउँछन् । ‘हामीले गर्यो भने पो किसानहरुलाई पनि प्रेरणा मिल्छ । हामीले भाषण गरेर मात्र उनीहरुले पत्याउँदैनन् । त्यसैले मैले आफै‌ँले खेती गरेको छु’, उनले भने ।

गोकुलगंगा गाउँपालिका–५ का वडाध्यक्ष बलराम खड्का पनि व्यावसायिक कृषि अबको प्राथमिकता बन्नुपर्ने बताउँछन् । सोहीअनुसार आफ्नो वडामा नमूना गाईफार्म सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment