Comments Add Comment

विप्लवजी ! हिंसा छाड्नुस्, गाउँ नछाड्नुस् !

Photo Credit : फाइल फोटो

प्रिय विप्लवजी,

भूमिगत तपाईँलाई एक गुमनाम नागरिकको कथन पठाउँदैछु । कक्षा २ मा पढ्थें । २०६२ सालतिर हुनुपर्छ । शाही सेनाको पल्टनले स्कुल घेर्‍यो । हामी डरायौँ तर केही भएन । छुट्टी भएपछि घर गयौँ । घर जाँदा बजारका सबै पसल बन्द थिए । मनमा डरैडर बोकेर म पनि घर पुगेँ ।

घरमा इज्या(आमा)ले भन्नुभयो,’स्कुलमा कसैलाई केही त भएन नि ?’ पछि मात्रै थाहा पाएँ, हिजो राति बजारमा लालसेना आएका रैछन् । बोर्डिङ (निजी) स्कुल बन्द गराउनु पर्छ भन्थे रे । त्यसैले आज शाही सेनाले उनीहरुको खोजी गर्न पसल र स्कुल बन्द गराएको रहेछ ।

बैतडी सदरमुकाम नजिकै भएकाले हाम्रो गाउँ नजिकै शाही सेनाको ब्यारेक थियो । त्यसैले हामीले लालसेना देखेका पनि थिएनौं राम्रोसँग । सुरक्षा दिने शाही सेना नै हाम्रा लागि प्रिय थिए । तर, बालसुलभ सोचाई थियो, ’लालसेना किन लुकेर राति मात्र आउँछन् ? किन उनीहरु गाँउमा मात्र बस्छन् ?’ लगत्तै देशमा शान्ति सम्झौता पनि आयो । ६४ सालको चुनाव भयो ।

लालसेनाले गाउँ छोडिसकेका थिए । शाही सेना नेपाली सेना भएर बसिसकेको थियो । म पनि ०६६ सालमा  गाउँ छाडेर तराई झरेर पढ्न थाले । समाचारले भन्थ्यो लाल सेना र शाही सेना मिलेर नेपाली सेना बन्यो । अयोग्य लडाकु घर फर्के । संविधान बन्दैछ । नयाँ नयाँ सरकारहरु बन्न थाले । गाँउको अभाव र शहरको रवाफले म जस्ता मध्यमवर्गीय किशोरलाई तराईको समथल भुगोलमा र यहाँको गरम शहरले धेरैकुरा सिकाउँथ्यो ।

फोहर नालीका बीचमा कालो सडक र ठूल्ठूला घरहरुले गिज्यायो । सडक हाम्रो गाउँमा पनि छ । त्यहाँ बजार किन छैन ? घर हाम्रो गाँउमा पनि छ, त्यहाँ राम्रा विद्यालय किन छैनन् ? विरामी हाम्रो गाउँमा पनि छन् । त्यहाँ राम्रो अस्पताल किन छैन ? हाम्रो गाउँको विमानस्थलमा किन जहाज जाँदैन ? यी प्रश्नहरुको जवाफ खोज्न थालेँ । धेरैले भन्थे ‘संविधान बनेको छैन’ कसरी हुन्छ विकाश !

अब मलाई लाग्यो संविधान त बन्नै पर्छ । जसले संविधान बनाउन सकिरहेको थिएन, तिनलाई कसरी साथ दिनु । कसलाई साथ दिने ?  काठमाण्डौँमा थाली ठठाएर ‘संविधान खोइ ?’ भनेर एक हुल युवा संविधान माग्ने गरेको फेसबुकमा देखेँ ।

कहिले ‘युवा अघि सर्छ, देश अघि बढ्छ’ भनेर म्याराथन दौड गर्ने त कहिले सडक नाटक गरेर संविधान बनाउन दबाव दिने तिनीहरुको ‘तरिका’ म फेसबुकमा हेर्थेँ काठमाण्डुँभन्दा दूर सुदूरपश्चिमको कुनामा बसेर ।

संविधानसभा विघठन भयो । जनता निराश भए । तर, ती फेशबुके ‘विवेकशील नेपाली’हरु देशमा केही हुँदैन अब भनेर निराश भएनन् । बरु तपाईँहरुले मैदान छोडिसक्नुभएको थियो । तपाईँका केही नेता साथीहरुको साथ तपाईँहरुले छोडेर फरक बाटो रोज्नुभएको थियो । ती थाल ठटाउनेहरुको आत्मविश्वासले म पनि मनमनै ‘फ्यान’ भए । अधिंकाश निम्न वर्गीय भनिने गाउँका युवाहरु जसरी बन्दुक बोकेर लडेका थिए-परिवर्तनका लागि तपाईहरुसँगै ।

त्यसरी नै पम्प्लेट बोकेर हिँडेका थिए मध्यम वर्गीय भनिने किशोरहरु लालसेना जस्तै जाँगर बोकेर । ‘बन्दुक र पम्प्लेट’, ‘जंगल र शहर’ परिस्तिथिका औजार सम्झेर अलग राखिदिने हो भने शहरका विवेकशील र गाउँका लालसेनामा एउटा समानता थियो- ‘परिवर्तनको भोक’ । माओवादी लाल सेनाले लडेको राजनीतिक युद्ध २००७ सालदेखिका राजनीतिक अधिकार प्राप्तिका संघर्षहरुको विजयी समापन थियो ।

‘नागरिकको स्वतन्त्रता र राष्ट्रको स्वाधिनता’का लागि भनेर लडेका लडाकुहरुको शीरमा बसेर माओवादी नेतृत्वले आफूलाई सत्ता र देशलाई केही थान थप समस्या आयात गर्यो । त्यस माथि निर्दोष लडाकुहरुलाई ट्याग लाग्यो ‘अयोग्य’ र ‘वहिर्गमित’ । १७ हजारको रगतले राजनीतिक अधिकार र गणतान्त्रिक संविधान त प्राप्त भयो तर, शहीदका परिवार र देशका आम नागरिक कसैको जनजीवनलाई परिवर्तनले छोएन ।

प्रणाली भत्कियो । धेरै राजाले राजनीति गरे । परिवारवाद, दण्डहिनता र अराजकता ज्यूँका त्यूँ नै छ । जीवनशैली-जीवन यापन परिवर्तनको भोक नमरेका पूर्व लडाकुहरु फेरि ‘बन्दुक’को सहारा खोज्न थालेका छन्, जसलाई तपाईँले नेतृत्व दिइरहनुभएको छ । पचास लाख बढी युवाले त निधो गरे खाडीको घाममा हड्डी खियाउने र हिम्मत नहारेकाहरु अलमलमा छन् । अलमल छ, तपाईँका ‘बन्दुक’ समात्न खोजिरहेकाहरुमाः अलमल छ, शहरमा पम्प्लेट बोकिरहेकाहरुमा पनि ।

शताब्दियौँसम्म ‘एक राजा’को शासनमा बसेका हामीहरुलाई लाग्दछ की एक नेताले हामीलाई डोर्याउँछ र गन्तव्यमा पुर्याउँछ । हामीलाई अझै नागरिकको शक्ति र सामुहिक विवेकको बलमा विश्वास भइसकेको छैन। हिंशा इतर पनि उथलपुथलका उपाय छन् भन्नेमा विश्वास भइसकेको छैन । ‘एक नेता’को अनुहार र उसकै बोली-विचारमा समाधान र शक्ति देख्छौँ, हामी जसरी सारा राष्ट्रवाद एक राजामा निहित छ, जनताले हैन राजाले देश थामेको छ भन्ने धेरैलाई लाग्थ्यो । यही अवधारणा अहिले पनि हामी नेपाली युवामा छ र पो हामी समस्या र समाधान आफूमा  हैन ‘प्रचण्ड’ या ‘विप्लव’मा देखिरहेका छौँ ।

पद्दति र मुल्य मान्यतामा अडिँदैनौ । रवीन्द्र मिश्र की बाबुराम भट्टराई ? कसले छिटो समस्याको फुःमन्तर गर्नसक्छ भन्नेमा विभाजित हुन्छौँ । खाडीको पैसा सरल लाग्छ हामीलाई तर, नेपालकै आलीअटाली सिञ्चित गर्न असहज । थोरै धैर्यता र थोरै विवेक प्रयोग गर्यौँ भने हामी हामीमै समाधान भेट्याउन सक्छौँ ।

खाडीको नगदभन्दा गाउँकै उत्पादनमा देशको अर्थतन्त्र र नागरिकको जीवन छिटो फक्रिन सक्छ । देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रलाई बन्दुक नउठाई सडकबाटै चुनौती दिन सक्छौं । वाचा विर्सेका हाम्रा नेतालाई सडकबाटै सम्झाउन सक्छौँ तर, त्यसका लागि हामीले दलका झण्डा र नेताप्रतिको अन्धविश्वास त्यागेर आउनुपर्छ । जनवादी केन्द्रियताको विकल्पमा सहभागितामुलक लोकतन्त्रले परिणाम दिन सक्छ । अब आर्थिक विकाश र नेपाली साँस्कृतिक एकतामार्फत उन्नत नेपाली समाजका लागि सहकार्य र प्रतिस्पर्धामा आधारित बहुदलीय लोकतन्त्रमार्फत अघि बढ्न सकिन्छ ।

छापामार आक्रमणको विकल्प अब सशक्त सूचनाको हक र साइबरमार्फत सूचना र संदेश प्रवाहले गर्न सकिन्छ । शान्ति र समृद्धिको हुटहुटी  बोकेका विवेकशीलहरु शहरमा छन्, उनीहरुलाई पनि गाउँखेततिर तानौँ । सबै उर्जाशील युवालाई राष्ट्रिय उत्पादनमा जोडौँ । कृषिमा लागौँ । बाँझा खेतलाई उब्जनी बनाउँ । शिक्षा सुधारौँ । हाम्रा विद्यालयहरु सुधार गरौँ । मौलिकता, इमान्दारिता र पारदर्शिता खोजौँ । चुनावलाई सजिलो र कम खर्जिलो बनाउँ । आउनुस् विप्लवजी ! यो देश सुन्दर र शान्त बनाउँ ।

जनसत्ता र वैज्ञानिक समाजवाद प्राप्तिमा हिँडेका तपाईँलाई अर्कै भाषामा देश बनाउन आव्हान गर्ने म बबुरो को हुँ ? मेरो कथा पनि सँगसँगै बताउँदैछु ।

पहिलो संविधानसभा संविधान नबनाई विगठन भएपछि काठमाण्डुँमा थाल ठठाउने युवाहरु फेरि भेला हुन थाले । जसरी तपाईहरु लडाकु पुनर्गठनतिर लाग्नुभएको थियो । लगातार १७ पटक नागरिक भेला भएपछि उनीहरुले निश्कर्ष निकाले असक्षम र नकारात्मक राजनीतिक शक्तिले ल्याएको निराशालाई मेट्न अब एउटा ‘सकारात्मक राजनीतिक शक्ति’ चाहिन्छ । त्यहीँबाट अभियानको रुपमा रहेको समुह राजनीति गर्ने निर्णयमा पुग्यो ।

मैले उनीहरुको फेसबुकमा देखे, ‘नेपाल हाम्रो घर हो, डेरा होइन ।’ बाल्यकालमै घर छोडेर डेरामा बसेको म घर र डेराको बीचका फरक बुझ्थे । मलाई त मन छोयो हाम्रो देश हाम्रो घर हो डेरा होइन् । २०७० सालमा १४ अञ्चलबाट एक महिना पैदलयात्रा गरेर हजारौँ नागरिकका सपना संकलन गरेर लुम्बिनीमा जम्मा भए विवेकशीलका पैदलयात्रुहरु ।

बुद्धको जन्मस्थलमा नागरिकका सपना साकार पार्न ‘सुधारमुखी राजनीति’ गर्ने संकल्प लिएर एक नविन राजनीतिक अभियान सुरु भयो । कुनैबेला यही भूमिका भगवान बुद्धले एक्लैले संसारलाई ज्ञानको उज्यालो दिएजस्तै सबै नेपालीको मुहारमा ‘मुस्कान’ ल्याउने संकल्पले मुर्त रुप लिने भयो । त्यसै वर्ष मंसिरमा दोस्रो संविधानसभा चुनावमा ‘कुकुर’ छाप लिएर काठमाण्डौँमा उठेका केही विवेकशीलका स्वतन्त्र उम्मेद्वारको चर्चा भयो ।

समाजिक अभियानहरु गर्दै २०७१ जेठ २९ गते निर्वाचन आयोगमा दर्ता भएपछि म पनि कुनै दलको सदस्य भए । ‘विकल्प कुर्दै बस्ने की आफैँ बन्ने ?’ भनेर धेरै साथीहरुलाई झस्काइयो ।

एकातिर आन्दोलनहरु थिए । क्याम्पसमा तालाबन्दी र बजार बन्द थियो अर्कोतिर एकाध मान्छेहरु ‘बन्दको विकल्प खोजौँ’ र ‘नेपाल खुल्ला छ’ भनेर पम्प्लेट देखाउँथे सडकमा । नेताहरुलाई संविधान बनाउन खबरदारी गर्दै आफूले पनि थुप्रै विज्ञहरुसँग राय लिएर नमुना संविधान बनाएर संविधानसभालाई सुझाव दियो ।

संविधानका विवादित अन्तरवस्तुमा गणतन्त्र, संघियता(राजधानी क्षेत्र हित ३ प्रदेश), धार्मिक स्वतन्त्रता (धर्म परिवर्तन गरेमा जन्म र मृत्युदर्ता जस्तै दर्ता गर्ने प्रावधान), प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-आलंकारिक राष्ट्रपति (प्रधानमन्त्रीले उत्कृष्टताका र विशेषज्ञता आधारमा चुनेको मन्त्रीमण्डल) र ‘उत्तर दक्षिण परराष्ट्र नीति’ सहितको खाका नागरिकमाँझ लगेर आफ्ना धारणा बुझाउन विवेकशील नेपालीले सुरु गर्‍यो । कति राजनीतिक मुद्दा र भाषाको प्रयोग तपाईसँग मिल्दैन होला तर, नेपाल र नेपाली हाम्रो साझा लक्ष्य हो यसमा दुइमत छैन । बाटो विपरित देखिन्छः तपाईँ सैन्य दस्ता बनाउने, विवेकशील नागरिक अभियान गठित गर्नतिर लाग्यो ।

०७२ सालमा महाभूकम्प गएको २५ मिनेटभित्र सदस्यहरुलाई स्वयंसेवकको रुपमा खटाएपछि आमसञ्चारमा विवेकशील नेपाली परिचित भएको थियो । संविधान निर्माणपछि मधेश आन्दोलनका बेला मधेशको माग के भनेर बुझ्न जाँदा तराईका नागरिकले खोजेको चाहीँ ‘आत्मसम्मान’ र ‘समानुभूति’ मात्र थियो भन्ने लाग्यो । यसैबीचमा वैकल्पिक राजनीति गर्ने भनेर माओवादीबाट निस्केर बाबुराम भट्टराईले नयाँशक्ति खोल्नुभयो ।

गाउँ बिर्सेर माफियाको घर पसेका तपाईँका पूर्वकमरेड र वर्तमान शासकहरुलाई गाउँबाटै चुनौती दिउँला । हिंशा छोड्नुहोस्

नयाँशक्तिबाट पनि असन्तुष्ट केही, केही पूर्वपत्रकार, पूर्वकर्मचारी र उद्यमी व्यापारी समेत मिलेर साझा पार्टी गठन भयो । दुई दशक पछि भएको स्थानीय निर्वाचनमा राजधानी उपत्यकामा विवेकशील नेपालीकी उम्मेद्वार रञ्जु दर्शनाले उल्लेख्य मत हाँशिल गर्नु बाहेक बैकल्पिक राजनीतिले केही आशा थप्न सकेन। बरु संघीय निर्वाचनको मुखैमा साझा-विवेकशील एकीकरणले चर्चा त कमायो तर, विजयी मत प्राप्त गर्न सकेन ।

तथापि, मतबाट प्राप्त शुभेच्क्षालाई आफू स्थापना भएको नीति र मुल्य मान्यतामा अघि बढ्नुको साटो आन्तरिक अविश्वास र नीतिगत अस्पष्टताबीच १७ महिने असफल सहकार्य भंग गरेर विवेकशील नेपाली दल पूर्ववत ‘लामो दुरीको यात्रा’मा फर्केको छ । र, प्रथम नीति सम्मेलनको मुकाम तोकेको छ, गणतन्त्र नेपालको एपिसेन्टर ‘रोल्पाको लिवाङ’ ।

नेपाल भनेकै गाउँ हो, गाउँ बनेर मात्रै नेपाल बन्छ भन्ने सन्देश लिएर तथा रोल्पाबाट धेरै सिक्ने सोचेर रोल्पा रोजेको हो । आफ्नो दलको नीति र रणनीति बनाइरहँदा हामी जस्तै हुटहुटी बोकेर तपाईको नेतृत्वमा फेरि रक्त क्रान्तिका लागि भनेर तयार हुन लागेका साथीहरुलाई तपाँईमार्फत सम्झिन लागेको हो, तपाईँ जन्मे हुर्केको क्षेत्र नजिक आउँदै गर्दा ।

यस वर्षको बजेटमाथि महत्वपूर्ण टिप्पणी गर्दै प्रदीप गिरीले संसदमा एकदमै ‘जनवादी’ टिप्पणी गर्नुभएको छ । बजेटका खुद्रा विषयभन्दा पनि बजेटको मर्म के छ भने, ‘आधुनिक सभ्यताको विकाशको लागि शहरी विकाशमा यति बजेट छुट्याएको छु ।’

यसमा गिरीको टिप्पणी छ, बजेटको मर्ममा शहर शब्दलाई गाउँ शब्दले विस्थापन गर्नुहोस् यो बजेट उत्कृष्ट हुन्छ । हो, तपाईँको भाषामा पुँजीवाद र संसदवादको मिश्रण भएर आउने बजेट दलाल र माफियाहरुका लागि उत्कृष्ट छ । ती बजेट भोगीहरु राजनीतिक दलको आडमा शहरमा बस्छन् र नागरिकको पैसा कुम्ल्याउँछन् ।

दलाल र भ्रष्टहरुलाई जसरी प्रणालीमा स्थिरता, पारदर्शिता चाहिएको छैन, त्यसरी अहिलेको लुटतन्त्रका मतियार शासकहरुलाई देश चाहिएको छैन, गाउँ चाहिएको छैन । तिनका गतिविधि शहरका सुविधामा बस्ने आसेपासे र दलालहरुका लागि केन्द्रत हुन्छन् । दलालहरुले राष्ट्रिय पुँजी मात्र हैन, हाम्रा सपना पनि कब्जा गरेका छन् । यो प्रणाली र नोकरशाहीले तपाँईलाई मात्र हैन, विवेकशील नेपाली दललाई पनि ‘प्रतिबन्ध’ लगाएको छ ।

कानूनी र राजनीतिक आधार पुगेर पनि दल दर्ता नगर्दा महिनौँदेखि अदालतमा न्यायिक लडाँइ लडिरहेका छौँ । त्यसैले विप्लवजी, राजनीतिक फरक मत फरकै राखेर जनतामाझ जाउँला, लुटतन्त्रविरुद्ध लडौँला । तपाईँहरु रातै झण्डा लग्नुहोला, हामी आफ्नै कुरा लगौँला तर नेपाल बचाउन र बनाउन अब हिंशा छोड्नुहोस् तर, गाउँ नछोड्नुस् ।

गाउँ बिर्सेर माफियाको घर पसेका तपाईँका पूर्वकमरेड र वर्तमान शासकहरुलाई गाउँबाटै चुनौती दिउँला । हिंशा छोड्नुहोस् विप्लवजी ! दल र दलबल फरकै भएपनि अभाव र विभेदबाट स्वतन्त्र नागरिक र सबै किसिमका प्रभावबाट स्वाधिन राष्ट्र बनाउनतिर शान्तिको बाटोबाट जाउँ ।

(लेखक विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment