Comments Add Comment

‘गलबन्दी’ विवादः पंगेनीको मध्यस्थतामा प्रकाश सपुत र शम्भू राईबीच संवाद

नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड पनि राखिसकेको छ । गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो । पुराना गायक शम्भू राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो गरे । आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको उनको दावी छ । यो बिषयमा संगीतप्रेमी दर्शक–श्रोता पनि दुई भागमा विभाजित छन् । कतिपयले लोकगीतका भाका कतै न कतै मिल्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले प्रकाशले शम्भु राइको भाका चोरेको आरोप पनि लगाइरहेका छन् ।

विवाद गहिरिँदै गएपछि लोकदोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमतिको बिन्दू पहिल्याउने प्रयास थालेका छन् । उनको पहलमा बद्रीकै घरमा बिहिबार बिहान शम्भू र प्रकाशबीच भेटघाट भएको थियो । उक्त भेटघाटमा दुवै सकारात्मक रुपमा प्रस्तुत भएर छलफल गरेको अनलाइनखबरसँग बद्रीले बताए ।

‘उहाँहरु दुवैको एक–अर्काप्रति दुराशय छैन, विवादलाई आपसी सहमतिमा सुल्झाउन दुवै जना तयार हुनुहुन्छ,’ पंगेनीले भने । अनलाइनखबरसितको कुराकानीमा शम्भुले प्रकाश सपूतलाई आफूले निरुत्साही गर्न नचाहेको तर आफ्नो सिर्जनाको नक्कल भएको टुलुटुलु हेरेर नबस्ने प्रतिक्रिया दिए ।

यस सम्बन्धमा शम्भू, प्रकाश र बद्रीले हामीसित व्यक्त गरेको धारणा जस्ताको तस्तैः

आफ्नै सन्तान कुन बाबुआमाले चिन्दैन ? : शम्भु राई
‘गलबन्दी’ को लय मैले बनाएको ‘देउसी भैली’ बोलको गीतको लयसँग मिल्छ भनेर मैले भनिसकेको छु । तर, म प्रकाश सपुतलाई निरुत्साही गर्न चाहन्नँ । यो बिषयमा हाम्रो कुराकानी भैरहेको छ । मैले पैसाको कुरा गरेको छैन । अब, यो संयोग हो, चोरी हो या प्रभावित हो, यो बिषयमा कुराकानी भैरहेको छ । उहाँले आफूले महसुस गरेको भनेर मलाई भन्नुभएको छ । तर, मेरो भनाई के हो भने एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ । कसैलाई विस्थापित गरेर आफू स्थापित हुनुपर्छ भन्ने सोच राख्नु गलत हो । नयाँ–नयाँ श्रृजना र आफ्नो मौलिकतामा गीत गाउँदा गर्दा राम्रो हुन्छ ।

मैले ‘गलबन्दी’ गीत सुन्दा नै आफ्नो लयसँग मिलेको महसुस गरेको थिएँ । तपाई आफैं भन्नुहोस् न, आफूले जन्माएको छोराछोरी कुन बाबुआमाले चिन्दैन होला ? मैले चिनेपछि प्रकाश भाइसँग यो बिषयमा कुरा गरेको हुँ । कपिराइटको मुद्दा हाल्ने वा नहाल्ने भन्ने कुरा अहिले मैले सोचेको छैन । भोलीका दिनमा त्यो अवस्था आयो भने पनि गर्न सक्छु । तर, म त्यो दिन नआओस् भन्ने चाहन्छु । किनकी, कसैले कसैको अपमान गरेको, आफ्नो घरबारी खाएको टुलुटुलु हेरेर बस्न सकिन्नँ । त्यो दिन नआओस् ।

हामी गाउने, नाच्ने र अरुलाई मनोरञ्जन दिने मानिस मात्र होइनौ । हामी नै एउटा सिस्टममा चलेनौ भने दर्शकले हामीलाई विश्वास गर्दैनन् । आफ्नो मिहिनेतमा पनि विश्वास गर्न आवश्यक छ ।

भाका कपी भयो भन्ने लाग्दैनँः प्रकाश सपुत
मैले गाउँघरतिर सुनेको भाकालाई गीतमा टिपेको हुँ । नियतबश कपी गरेको होइन । श्रोतालाई सुन्दा त्यो गीत पहिले सुनेजस्तो लाग्छ भने ठिकै छ । मैले उहाँलाई अत्यन्तै सम्मान गरेर यसले तपाइको अस्तित्वलाई मेटाउने भन्दा पनि लोकगीतलाई अगाडि बढाउन सहयोग गरेको छ भनेको छु । सुन्दा उस्तै सुनिने भाकाहरु थुप्रै छन् । मैले उहाँलाई भाका मिल्यो, गल्ती गरेँ भन्ने महसुस गरेर भन्दा पनि अग्रजको हिसाबले रेस्पोन्स गरिरहेको छु ।

संगीतको शुद्धिकरणको लागि, अग्रजको सम्मानका लागि, कपिराइटको बिषयमा बहसका लागि कारबाही भोग्नुपरे पनि म तयार छु । तर, मलाई मैले कपी गरे भन्ने महसुस भएको छैन ।’

चाँडै सहमतिमा पुग्छौं : बद्री पंगेनी
विवाद बढ्दै गएपछि मैले यसलाई हल गर्ने अग्रसरता लिएको हुँ । आज दुवै जनालाई बोलाएर लामो छलफल गरेँ । सहमति उन्मुख कुराकानी भएको छ । कसरी सहमति गर्ने भन्ने विषय चाहिँ छलफलकै क्रममा छ । कुनै गीत अर्को गीतसँग कति मिल्यो वा मिलेन भनेर नाप्ने कुनै मापदण्ड त छैन । मेरो व्यक्तिगत मूल्यांकनमा चाहिँ नियतवश कपि गरेको जस्तो लाग्दैन । संयोगवश मिल्न गएको हुन सक्छ ।

लोकसंगीतहरु भनेका एउटै आमाले जन्माएको सन्तान जस्तै हुन्, अनुहार कताकति मिलिहाल्छ । यदि कसैले नियतवश नै पुरानो सिर्जनालाई नक्कल ग¥यो वा तोडमोड ग¥यो भने चाहिँ त्यो गम्भीर विषय हो । विगतमा मेरै गीतको पनि नक्कल गरेर एकजना भाईले एल्बम निकाल्नुभयो । मैले गाएको ‘लायो लायो मोहनी लायो’ भन्ने गीतको नक्कल हुँदा मैले कुनै गुनासो गरिनँ ।

मसितको कुराकानीमा दुवैजना लचक नै हुनुहुन्छ । मेरो गोरुको बाह्रै टक्का भन्ने खालको अवस्था छैन । यसमा दुवैले गिभ एन्ड टेकमा जान तयारि हुनुपर्छ । यसलाई हामीले घरभित्रको कुरा ठानेका छौं । त्यसैले बाहिर धेरै कोकोहोलो गर्नु ठिक हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment